प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप-२०७६ राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
नयाँ बसपार्क्स्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा आर्मीले ढोरपाटन ट्रेनिङ सेन्टरलाई ३-० को सोझो सेटमा पाखा लगाउँदै सेमिफाइनलमा पुगेको हो ।
समूह ‘क’ मा रहेको आर्मीले अपराजित रहँदै शीर्ष स्थानमा रहेर सेमिफाइनलको यात्रा तय गरेको हो । त्यस्तै यस समूहबाट एपिएफ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । आर्मीले ढोरपाटनलाई पहिलो सेट २५–१४ ले पाखा लगायो भने दोस्रो सेट २५-१९ र तेस्रो तथा अन्तिम सेट २५-२२ को सेटमा पराजित गर्यो । समूह ‘क’ मा रहेका ढोरपाटन र जावलाखेल ट्रेनिङ सेन्टर भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
प्रगतिशील युवा नेपालको आयोजनामा जारी उक्त प्रतियोगिताको विजेता टोलीले ५ लाख तथा उपविजेताले ३ लाख पाउनेछन् । त्यस्तै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले १ लाख र चौथो हुनेले ५० हजार पाउनेछन् ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले पल्सर मोटरसाइकल पाउने आयोजकले जनाएको छ ।