सार्वजनिक निजी तथा साझेदारी विधेयक पारित

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ
0 Shares
विराटनगर

प्रदेश नं १ को प्रदेशसभाको शुक्रबार बसेको बैठकले ‘सार्वजनिक निजी तथा साझेदारी लगानीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेकय, २०७६’ सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पारित गरियोस् भनी सभामा प्रस्ताव पेश गरिएको थियो ।

विधेयकमा अर्थ समितिद्वारा प्रस्तुत भएको प्रतिवेदनमा प्रदेशसभा सदस्य विमल कार्कीले दफावार छलफल र विज्ञहरुको राय सुझावबाट परिपक्व भएको विधेयकले प्रदेशमा आर्थिक लगानीका सम्भावना उजागर गरेको भन्दै आयआर्जन र रोजगारी सिर्जनामा विधेयकको भूमिका अतुलनीय रहने बताए । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ बमोजिम सामाजिक विकास समितिका सभापति सरिता थापाले वार्षिक प्रतिवेदन सभामा पेश गरिएको थियो ।

वैज्ञानिक व्यवस्थापनका नाममा वन सखाप हुँदै

बैठकको प्रारम्भमा शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेले वैज्ञानिक वनका नाममा वन सखाप भइरहेकाले यसको निगरानी गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । उनले दक्षिणी क्षेत्रका जनताका लागि कटान गरिएका रुख वन माफियाका हातमा पर्ने गरेकाले वन सखाप हुने चिन्ता व्यक्त गरे । सदस्य उषकला राईले प्रदेश सरकारले सार्वजनिक गरेको वार्षिक बजेटमा विभेद भएकाले पहाडी क्षेत्रमा बसोबास गर्ने जनताका चाहना र आवश्यकता पूरा नहुने कुरामा जोड दिए ।

अर्का सदस्य वसन्तीदेवी यादव थारुले यादव जातिले मनाउने जितीया पर्वमा सार्वजनिक बिदा दिन प्रदेश सरकारसँग माग गरे । सदस्य राजकुमार ओझाले प्रदेशसभामा खाँदिएर कहिलेसम्म बस्ने भन्दै सभामुखसँग प्रश्न गर्दै व्यवस्थित बनाउन कुर्सी र मेचको राम्रो प्रबन्ध गर्न माग गरेको थियो । उनले चाडपर्वका सन्दर्भमा प्रदेशभरिका कच्ची सडकमा देखिने खाल्डा पुर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

प्रदेशसभाको अर्को बैठक यही भदौ २९ गते अपराह्न २ः०० बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी गराए।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका