प्रदेशलाई स्वास्थ्य पर्यटन केन्द्र बनाउने : मुख्यमन्त्री राई   

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
विराटनगर
मनोज दाहाल/रासस

प्रदेश नं- १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई स्वास्थ्य पर्यटन केन्द्रको रुपमा विकास गर्ने सरकारको चाहना रहेको बताएको छ । विराटनगर आँखा अस्पतालको १३ औं वार्षिकोत्सव एवं पेइङ जाँच सेवा र रेफ्रेक्टिभ सर्जरी सेवाको आज यहाँ उद्घाटन गर्दै उहाँले अन्धोपन न्यूनीकरणमा देशमा ठूलो पहिचान बनाएकामा प्रशंसा व्यक्त गरे ।

मुख्यमन्त्री राईले न्यून शुल्कमा गुणस्तरीय सेवा प्रदान गरी विदेशी मुलुकका नागरिकलाई आकर्षित गर्ने कार्यबाट सबैले प्रेरणा लिनुपर्नेमा जोड दिए ।

नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय अध्यक्ष तीर्थप्रसाद मिश्रले सङ्घले अन्धोपन निवारणमा ९० प्रतिशत सहयोग पुर्याएको दाबी गर्दै आँखा उपचारका बिरामीले प्रयोग गर्ने सामग्रीमा भन्सार छुटको माग गरे ।

सङ्घद्वारा सञ्चालित अस्पतालले विदेशी मुद्राआर्जन गरी स्थानीयस्तरमा रोजगारी र आर्थिक कारोवारमा वृद्धि गरेको उनले दाबी गरे ।

सङ्घका महासचिव एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष श्यामकुमार पोखरेल, प्रा सञ्जयकुमार सिंहले सन् २०१८ मा अस्पतालले २३७ जनालाई आँखाको नानी प्रत्यारोपण गरेर अन्धोपन हटाएको जानकारी दिए । यस क्षेत्रमा एक हजार आँखाको नानी आवश्यक भएकामा गत वर्ष १० वटा सङ्कलन भएको र वार्षिक १०० वटा नानी सङ्कलन भएमा आँखा बैंकको स्थापना गरिने बताइएको छ ।

सङ्घद्वारा नेपालभरि १८ आँखा अस्पताल तथा ८६ उपचार केन्द्रमा सन् २०१८ मा २२ लाखले उपचार गराएका थिए भने दुई लाख ३० हजारको शल्यक्रिया गरिएको थियो । उपचार गराइएकामध्ये आठ लाख बिरामी विदेशी रहेको कार्यक्रममा जानकारी गराइयो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका