एनआरएन साउदीका आइसीसी सदस्यमा नारायण पासवान निर्वाचित भएको छ ।
नेपाली दूतावास रियादका प्राङ्गणमा भएको निर्वाचनमा पासवान निर्वाचित भएका निर्वाचन समितिका संयोजक जोन अर्यालले जानकारी दिए । संयोजक अर्यालका अनुसार प्रत्यक्षमा ८१ र एसएमएस प्रणालीबाट ५५ मत गरि कुलमत १३६ खसेका थिए ।
निर्वाचनमा प्रतिद्वन्दी उषा केसीको भने अनुपस्थिति रहेकी थिइन् । केसीको तर्फबाट एनआरएन साउदीका सदस्य नरेन्द्र कार्कीको उपस्थितमा मतगणना गरेका थिए । खसेका १३६ मत उम्मेदवार पासवानको पक्षमा र ० मत उम्मेदवार केसीको पक्षमा परेको संयोजक अर्यालले बताए ।
पूर्वघोषित कार्यक्रम भएकाले प्रजातान्त्रिक पद्धती अनुसार उम्मेदवारका प्रस्थापकको उपस्थितमा निर्वाचन गरेको हो,`संयोजक अर्यालले भने ।
पासवानले शुक्रबार आइसीसी सदस्यका लागि भएको निर्वाचनमा प्रतिद्वन्दी उषा केसीलाई भारीमतान्तरले पछि पारेका थिए । केसी एनआरएन साउदीकी निवर्तमान उपाध्यक्ष हुन् ।
पासवान सन् २००८ मा एनआरएन साउदीमा आबद्ध भएका थिए । साउदी एनआरएनका २०१५-१७ र २०१७-१९ मा गरी पासवानले दुईपटक अध्यक्ष समालिसकेका छन् ।