बालविवाह र उच्च मातृशिशु मृत्युदर घटाउन रुपन्देहीको गैँडहवा गाउँपालिकाले बालिका बिमा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाइने भए पनि यहाँका जिल्लामा मातृशिशु मृत्युदर र बालविवाहको चर्को समस्या छ । यी दुवै समस्या न्यूनीकरणका लागि रुपन्देहीको गैँडहवा गाउँपालिकाले ‘बालिका बिमा अभियान’ चलाएको हो ।
गाउँपालिकाका अध्यक्ष बछु केवटका अनुसार, २० हजार रुपैयाँ गाउँपालिकाको र ५ हजार रुपैयाँ अभिभावकको गरी गाउँपालिकामा जन्मने प्रत्येक बालिकाको २५ हजार रुपैयाँको बिमा गरिन्छ । छोरी २० वर्ष पुगेपछि मात्र निकाल्न मिल्ने बिमा रकम त्यतिन्जेल रकम झन्डै चार लाख पुग्नेछ ।
बालिका बिमा अभियानको सुरुआतीताका आकर्षण त्यति धेरै नदेखिए पनि अहिले ह्वात्तै आकर्षण बढेको छ । आर्थिक वर्ष २०७५र०७६ सालमा छोरी बिमा अभियान सुरु हुँदा गैँडहवा गाउँपालिकाका २१ जना छोरीको मात्रै बिमा गरिएको थियो । यो सङ्ख्या आर्थिक वर्ष २०७७र०७८ मा आइपुग्दा ७५ जना पुगेको छ ।
गैँडावाले गएको आर्थिक वर्ष ७५ जना छोरीको बिमा गरिदियो । त्योभन्दा अघिल्लो आर्थिक वर्षमा ६७ जनाको बिमा भएको थियो । यस अहिलेको आर्थिक वर्षको पहिलो चौमासिकमा मात्रै ६८ जना छोरीको बिमा भइसकेको छ । गाउँपालिकाकले ‘यो आर्थिक वर्षमा २५ लाख छुटाइएको थियो । त्यतिले नपुग्ने देखिएको छ ।’ अभियानको प्रचारप्रसार र बढ्दो चेतनाका कारण छोरी बिमामा आकर्षण बढेको हो । ‘अहिले बिमा गर्न बहुत लोड छ । दैनिक एक दुई जना आइरहेका छन् ।’
बिमा व्यवस्थापन र कार्यान्वयनका गाउँपालिकाले कार्यविधि बनाएको छ । कार्यविधिअनुसार, बालिका जन्मेको ३५ दिन वा सो आर्थिक वर्षभित्र जन्म दर्ता गरी अभिभावकले वडा कार्यालयमा बिमाका लागि निवेदन दिनुपर्छ । बालिका जन्मेको जन्म दर्तासहित निवेदन दिएपछि बाबुआमाको रु।५ हजार र गाउँपालिकाको २० हजार रुपैयाँ गरी बैङ्कमा २५ हजार रुपैयाँ जम्मा हुने व्यवस्था छ । कार्यविधि अनुसार बालिका २० वर्ष पुगेपछि मात्रै २५ हजारको साँवा९ब्याज निकाल्न पाइनेछ । गाउँपालिकाका अध्यक्ष केवट भन्छन्, ‘अहिले बिमा गरेका छोरीका लागि त्यति बेला करिब चार लाख रुपैयाँ बैङ्कमा जम्मा भइसकेको हुनेछ ।’
बालिका बिमाका लागि कार्यविधिमा मुख्य दुई वटा सर्त राखिएका छन्, जसले यो अभियानलाई महत्त्वपूर्ण बनाएको छ । कार्यविधिअनुसार गर्भवती महिलाले स्वास्थ्य संस्थामा नै ‘डेलिभरी’ गराएको हुनु पर्नेछ । त्यस्तै २० वर्षसम्म छोरीलाई विवाह गरिदिन पाइने छैन । कार्यविधिमा रहेका यी सर्तले बिमालाई बालविवाह र मातृशिशु मृत्युदर कम गराउने महत्त्वपूर्ण अस्त्र बनाएको गाउँपालिका अध्यक्ष केटवको बुझाई छ ।
‘छोरीहरूको २० वर्ष अघि नै बिहे भयो भने बिमा रकम पाइँदैन । स्कुल पनि पठाएकै हुनुपर्छ नत्र बिमा रकम रोकिन्छ,’ उनी भन्छन्–‘देहातमा बालविवाहको भयावह अवस्थालाई कम गर्न स्थानीयलाई चेतनशील बनाउने अभियानको रूपमा बिमा अभियान सुरु गरेका हौँ ।’ गाउँपालिकाको योजनाअनुसार, २० वर्ष पुगेपछि बिमा गरेका छोरीका लागि बिमा रकमले आत्मनिर्भर बन्न प्रेरित गर्नेछ ।