सिन्धुपाल्चोकका पाँच सरकारी कार्यालयको पुनःनिर्माण सम्पन्न

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
सिन्धुपाल्चोक

भूकम्पले क्षति भएका अति प्रभावित सिन्धुपाल्चोकका पाँच सरकारी भवनको पुनःनिर्माण सम्पन्न भई शुभारम्भ गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी सुशील ज्ञवाली, सांसदद्वय अग्निप्रसाद सापकोटा र शेरबहादुर तामाङले पुनःनिर्माण सम्पन्न भएका भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन गरिएका भवनमा जिल्ला वन कार्यालय एनेक्स भवन, कोष तथा लेखा नियन्त्रकको कार्यालय, प्रमुख जिल्ला अधिकारीको आवास भवन, मालपोत कार्यालय एनेक्स भवन र जिल्ला आकस्मिक सहायता भवन छन् । भवन नेपाल सरकार र एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा पुनःनिर्माण गरिएको हो । पाँच वटा भवन पुनःनिर्माणको लागत रु १५ करोड छ ।

कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनःनिर्माण गरिएका नयाँ भवनमा सरकारी सेवा प्रवाह अझ प्रभावकारी हुने र जनतालाई थप सुविधा पुग्ने विश्वास व्यक्त गरे । भूकम्पबाट सबैभन्दा बढी मानवीय क्षति भएको सिन्धुपाल्चोकमा निजी आवास, विद्यालय, सरकारी भवनलगायतको पुनःनिर्माणले विपद्लाई अवसरका रुपमा परिणत गरेको उनले बताए ।

सांसद सापकोटाले भौतिक संरचनाको पुनःनिर्माणले सिन्धुपाल्चोकको मुहार बदलेको विचार राख्नुभयो । जिल्लामा भूकम्प स्मृति पार्कको निर्माण प्रकृया अघि बढेकाले नमूनाका रुपमा अघि बढाउन प्राधिकरणसँग आग्रह गरे । सांसद तामाङले जिल्लामा पुनःनिर्माण राम्रोसँग अघि बढेको बताए । पुनःनिर्माणपछि सिन्धुपाल्चोक विकासको नमूना जिल्लामा पर्ने उनको भनाइ थियो ।

प्रदेश नं ३का प्रदेशसभा सदस्य सरेश नेपालले निजी आवास, सरकारी भवनलगायतका संरचना बनेकामा खुशी व्यक्त गर्दै बाँकिरहेका सम्पदा र जनताका गुनासाको सुनुवाइ गर्न पनि उहाँले सुझाव दिए । प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का आयोजना निर्देशक नवराज प्याकुरेलले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माणलाई समयमा सम्पन्न गर्ने गरी काम गरेको बताए ।

जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख सन्तोष निरौलाले सरकार र एशियाली विकास बैंकमार्फत निर्माण भइरहेका १७ भवनमध्ये सातको पुनःनिर्माण सम्पन्न भएको र १० भवन पुनःनिर्माणको प्रकृयामा रहेका जानकारी दिए । दुई भवन यसअघि नै सम्पन्न भई उद्घाटन भइसकेको प्राधिकरणले जनाएको छ । भारतीय एक्जिम बैंकबाट प्राप्त हुने रकमबाट बन्ने सरकारी भवनको पुनःनिर्माण प्रकृया अघि बढेको पनि उनले जानकारी दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया