कैलालीको कर्णाली नदीलाई डल्फिन क्षेत्रका रूपमा विकास गर्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले बताए । कैलाली होटल व्यवसायी सङ्घद्वारा टीकापुर नगरपालिका–७ वैदी ढुङ्गानाटोलमा आयोजित डल्फिन महोत्सवको शनिबार उद्घाटन गर्दै मन्त्री भट्टराईले डल्फिनको संरक्षण र प्रचारप्रसारमा सरकारले सहयोग गर्ने बताए ।
‘डल्फिन पाइने कर्णाली, मोहना र काढा नदीको दोभानमा डल्फिनको बासस्थान बनाउन सरकारले लगानी गर्छ’, मन्त्री भट्टराईले भने, ‘स्थानीय पर्यटन प्रवद्र्धनका लागि तपार्इँहरू योजना बनाएर आउनुस्, डिपिआर निर्माण र स्थानीय पर्यटन प्रवद्र्धन गर्ने काम सरकारले गर्छ ।’
डल्फिनलाई पर्यटक मुख्य आकर्षणको केन्द्र बनाउन सरकार सहयोग तयार रहेको उल्लेख गर्दै पर्यटन प्रवद्र्धन, स्थानीयको व्यावसायिक क्षमता अभिवृद्धि, आयआर्जनका लागि सक्ने सहयोग गर्ने सरकारको जिम्मेवारी हो र यस क्षेत्रलाई डल्फिन क्षेत्रका रुपमा सरकारले विकास गर्छ, उनले भने । मन्त्री भट्टराईले टीकापुर हवाई मैदानमा हवाईजहाज उडाउने टीकापुरवासीको सपना पूरा गर्ने बताउँदै टीकापुर नेपालकै ऐतिहासिक र केही शहरमध्ये व्यवस्थित प्लानिङ भएको क्षेत्र भएकाले यहाँको समस्यालाई ध्यान दिएर सरकारले टीकापुर विमानस्थललाई नयाँ ढङ्गले सञ्चालन गर्ने धारणा व्यक्त गरेका थिए । उनले भने, ‘छिट्टै प्राविधिक टोली अध्ययनका लागि टीकापुर पठाउँछौँ, टोलीले अध्ययन गरेर काम शुरु गर्छ, तपाईं विश्वस्त रहनुहोस् ।’
मन्त्री भट्टराईले कर्णाली नदी हुँदै ताक्लाकोटबाट मानसरोवरको याज्ञा गर्न सकिने वातावरण बनाउन धार्मिक पर्यटनका रुपमा विकास गर्ने उल्लेख गर्दै थारू र पहाडीको मिश्रित समुदाय रहेको कैलालीको सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास आवश्यक रहेको बताए ।
नेपाल भ्रमण वर्ष २०२०लाई सहयोग पुगोस्, पर्यटन प्रवद्र्धन र डल्फिनको प्रचारप्रसार होस् भन्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक तेजबहादुर बोहराले जानकारी दिए । महोत्सवमा तीन दिनसम्म चल्नेछ ।