नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा तथा साहित्य बिभाग प्रमुख लक्ष्मी मालीले राज्यले धेरै वर्ष हाम्रो मातृभाषा दबाएर राखेको बताइन् । शनिबार तामाङ घेदुङ केन्द्रीय कार्यालयको सभाहलमा तामाङ डाजाङको १० औं अधिवेशनलाई सम्बोधन गर्दै उनीले सो कुरा व्यक्त गरेका हुन् ।
प्रमुख मालीले भनिन्- ‘हाम्रो मौलिक भाषा जोगाउनुपर्छ अनि मात्र पहिचान जोगिन्छ ।’
कार्यक्रममा पूर्व राजदुत एवं डाजाङका संरक्षक डा. गणेश योञ्जनले अहिलेसम्म डाजाङले गरेको साहित्यिक यात्रा सह्रनिय रहेको बताए । तर, प्रभावकारी चाहिँ नभएको उनको ठम्याई छ । उनले अब स्थानीय सरकारसँग समन्वय गरी गाउँगाउँबाट साहित्यका रचनाहरु आउनुपर्ने बताएका छन् ।
डाजाङका संरक्षक निमाग्याम्छो बलले संस्था अझै निरन्तर अगाडि बढाउन एक ढिक्क भएर अघि बढ्नुपर्ने बताए ।
तामाङ ग्योइ थेन ग्योइकाइदा छानौ लाइ ! तामाङ ब्रिखेन गिक तासि ब्राइ ! नारा बोकेको संस्थाले १८ वर्षदेखि तामाङ भाषाको संरक्षण तथा साहित्यको विकासका लागि निरन्तर रुपमा विविध साहित्यिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । तामाङ साहित्य लेखनमा जोड, तामाङ भाषा लेखन मानिकिकरणको विकास तथा अभ्यास गर्दै पाइलाहरु अगाडि बढाइरहेको छ ।
डाजाङले प्रारम्भदेखि नै मासिक रुपमा निरन्तर साहित्यिक गोष्ठी (ग्योइकाइ गेताङ) को आयोजना र मासिक पत्रिका तामाङ डाजाङ प्रकाशन गर्दै आइरहेको छ ।
डाजाङको १८९ औं ग्योइकाइ गेताङ भने सम्पन्न भएको छ ।
बन्दसत्रबाट नयाँ कार्यसमिति चयन गर्न नसकिएपछि असोज ११ गतेका लागि अधिवेशनको मिति तोकिएको छ । सोही दिन डाजाङले नयाँ कार्यसमिति पाउनेछ ।