शिक्षक महासङ्घ तनहुँ जिल्ला समिति घोषणा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
दमाैली

नेपाल शिक्षक महासङ्घ तनहुँ जिल्ला समिति घोषणा गरिएको छ । नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल विद्यालय कर्मचारी परिषद्को प्रतिनिधित्व रहने गरी शिक्षक महासङ्घको जिल्ला समिति घोषणा गरिएको हो ।

शनिबार आज दमौलीमा सम्पन्न घोषणासभाबाट महासङ्घको अध्यक्षमा रामचन्द्र पोख्रेल (आरसी) र सहअध्यक्षमा प्रकाश भण्डारी चयन भएको छ । उपाध्यक्षमा शिवचन्द्र आचार्य, महिला उपाध्यक्षमा मीना घिमिरे, सचिवमा अशोक खत्री, सहसचिवमा लोकराज सेढाइँ, अर्थसचिवमा हेमलाल घिमिरे चयन भएको छ ।

सदस्यहरु शिव शाही, सुस्मिता पण्डित, कृष्णचन्द्र पाण्डे, बैकुण्ठ भट्टराई, गौकुमारी न्यौपाने, विन्दु पन्थ, छविलाल सिग्देल, हीरा पाण्डे, रेशमलाल श्रेष्ठ, गजेन्द्र पन्थ, इन्द्र पौडेल, राजेन्द्रबहादुर अधिकारी, ईश्वरी गहतराज, हेमन्त बराली चयन भएका छन् ।

महासङ्घको पदेन सदस्यमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष धु्रवराज सिग्देल, नेपाल शिक्षक सङ्घका अध्यक्ष कमलभक्त पोखरेल, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष राजेन्द्र पौडेल र अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष सूर्यकुमार घिमिरे रहेका छन् । त्यस्तै आमन्त्रित सदस्यमा पदम खनाल चयन भएको महासङ्घले जनाएको छ ।

नवनिर्वाचित पदाधिकारी र सदस्यलाई नेपाल शिक्षक महासङ्घका केन्द्रीय अध्यक्ष बाबुराम थापाले शपथग्रहण गराएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष थापाले शिक्षकको समस्या समाधानका लागि महासङ्घले सशक्त भूमिका निभाउँदै आएको बताए ।

 महासङ्घ बनेकामा खुशी व्यक्त

जिल्लाका विभिन्न शिक्षक सङ्गठनबीच सहमति भएर महासङ्घ बनेकोमा शिक्षक सङ्घसङ्गठनका प्रतिनिधिले खुशी व्यक्त गरेको छ । घोषणासभामा बोल्दै उहाँहरुले शिक्षकको हरेक समस्यामा महासङ्घले पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले लामो समयको सहमतिपश्चात् महासङ्घ गठन हुनु उपलब्धिपूर्ण काम भएको बताउँदै शिक्षकको पेशागत हकहितको निम्ति नगरपालिका सदैव तयार रहेको प्रतिबद्धता जनाए । घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले शिक्षकको हकहितका निम्ति शिक्षकबीच एकता आवश्यक रहेको र त्यो एकता घोषणासभाले सार्थक तुल्याएको बताए ।

शिक्षक महासङ्घ घोषणाका लागि जिल्लास्थित शिक्षक सङ्घसङ्गठनले पटक–पटक छलफल गरेका थिए । विभिन्न चरणको छलफलपश्चात् ११ औँ बैठकपछि महासङ्घ गठनमा सहमति जुटेको बताइएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका