म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ८ मा पर्ने पर्यटकीयस्थल मोहरेडाँडामा पाहुना घर निर्माण भएको छ । सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि मोहरेडाँडा पुग्ने पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्ड र गाउँपालिकाको सहयोगमा पाहुना घर निर्माण भएको हो ।
२७ लाख रुपौयाँमा ७० जना क्षमताको दुई वटा पाहुना घरको भवन निर्माण भएको अन्नपूर्ण-धौलागिरि सामुदायिक पदमार्गका कोषाध्यक्ष रमन पुनले जानकारी दिए । पर्यटन बोर्डले २० लाख र गाउँपालिकाले दुई लाख अनुदान उपलब्ध गराएको पाहुनाघर बनाउन सामुदायिक लजको आम्दानीबाट पाँच लाख लगानि गरिएको छ ।
पहुनाघर बनाउँन नागीका डेढ सय घरधुरीले तीन/तीन दिन र हिमाञ्चल माविका ९ देखि १२ कक्षाका विद्यार्थी तथा शिक्षकले एक/एक दिन श्रमदान गरेका छन् ।
पाहुनाघरमा ४० पर्यटक र तीस गाइड, पोर्टर र भरिया बास बस्न सक्ने क्षमता छ । यसअघि मोहरेडाँडाको सामुदायिक लजमा बीस जना क्षमताको दशकोठे एउटा भवन थियो । ‘पाहुनाको चापसँगै नयाँ भवन बनाएर क्षमता बढाएका हौँ’, पुनले भने, ‘नयाँ पाहुनाघर बनाएपछि पर्यटकलाई भान्छा र डाइनिङहलमा सुताउनुपर्ने समस्या हटेको छ ।’
समुन्द्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा अवस्थित मोहरेडाँडा नजी बस्ती छैनन् । त्यसैले पनि पाहुनघर निर्माण गर्नु परेको पुनले बताए ।
नागी, घोडेपानी, उल्लेरी हुँदै मोहरेडाँडा भ्रमणमा आउने पर्यटकको संख्या बर्षेनि बढ्दै गएको मोहरेडाँडा सामुदायिक लजका कर्मचारी ललित खोरजाले बताए । पुनहिलदेखि मोहरे जोड्ने पदमार्ग निर्माण भएको उनले जानकारी दिए । उनले भने, ‘तीन लाख रुपौयाँमा अप्ठ्यारो ठाउँमा सिँढी चिन्ने र झाडी हटाउने कार्य भएपछि आवतजावतमा सहज भएको छ ।’
मोहरेडाँडा नजिक बस्ती नभएकाले यहाँ समुदायको पहलमा आठ वर्षअघि सामुदायिक लज शुरु गरिएको थियो । लजको आम्दानी गाउँका सामुदायिक विद्यालय सञ्चालन, पदमार्गमा पूर्वाधार निर्माण र स्वास्थ्य तथा विपन्न बालबालिकाको शिक्षामा खर्च गर्दै आएको छ ।
मोहरेडाँडाबाट हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । यहाँबाट सिस्ने, गुर्जा, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु रेञ्जका २० भन्दा बढी हिमाल देखिन्छन् ।
फेवाताल, मिर्मीमा कालीगण्डकी थुनेको बाँध, पोखरा बजारसँगै म्याग्दी, पर्वत, बागलुङ, तनहुँ, गोरखा, कास्की, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुमलगायत जिल्लाका अग्ला पहाडका टाकुरा पनि देख्न पाउनु मोहरेडाँडाको अर्को विशेषता हो ।
घना गुराँसे जङ्गलको बीचमा रहेको मोहरेडाँडा आसपासका क्षेत्रमा पशुगोठ, जडीबुटी, बोटबिरुवाको अवलोकनसँगै चराचुरुङ्गीका चिरबिर आवाज सुन्दै यात्रा गर्न सकिन्छ ।
पर्वतको बाँसखर्क, डाँडाकटेरी, म्याग्दीको नांगी, टिकोट र खिवाङ गाविसका बासिन्दाले सञ्चालन गरेको अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गको मुख्य गन्तव्य मोहरेडाँडा हो ।