जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रूपमा लिएको छु : बालेन साह

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
21 Shares
काठमाडाैं

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साह ‘बालेन’ ले अबका दिनमा भिजन र एजेन्डा कार्यान्वयन गर्नेतिर लाग्ने बताएका छन्।

शुक्रवार काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले
जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रूपमा लिएको बताए ।

उनले काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिबद्धता समेत जनाए । उनले भने, ‘ ‘काठमाडौँ महानगर परिवारको रूपमा छ, परिवार नै रहनेछ । हामी सबै मिलेर अब काठमाडौँलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौँ भन्ने आशा राखेको छु ।’

स्वतन्त्रबाट उठेका साहले काङ्ग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पराजित गरेर मेयरमा निर्वाचित भएका हुन् । उपमेयरमा एमालेकी सुनिता डङ्गोल विजयी भएकी छन् ।

बालेन, हर्क र गोपालको विजयी दलप्रति जनताको विद्रोहको सङ्केत

जनता समाजवादीका सांसद राज किशोर यादवले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको विजयले राजनीति दलप्रति जनताको विद्रोहको सङ्केत रहेको बताएका छन् ।

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले काठमाडौँ, धरान, धनगढीसहितका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको विजयी राजनीति दलप्रति जनताको विद्रोहको सङ्केत रहेको बताएका हुन् ।

स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका काठमाडौँ महानगरमा बालेन साह, धरान उपमहानगरमा हर्क साम्पाङ राई, धनगडी उपमहानगरमा गोपाल हमालसहित निर्वाचित भएको प्रसङ्ग कोट्याउँदै उनले राजनीति दलका नेताको निर्णय प्रवृत्तिको विद्रोहको सङ्केत रहेको बताए ।

यसलाई अन्त्य गरेर दलीय निर्णय प्रक्रिया सच्याउनुपर्ने उनको भनाइ छ । दलहरूले जनताको भावना नबुझी आफ्नो निर्णय लाद्ने प्रवृत्तिको विरोधमा जनताको मत जाहेर भएको भन्दै उनले अब लोकतन्त्र बलियो भएको बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका