लुम्बिनी प्रदेशको गणतन्त्र दिवस समारोहमा अधिकांश मन्त्रीहरू अनुपस्थित, प्रमुख अतिथि नै गएनन्

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
7 Shares
बुटवल

लुम्बिनी प्रदेश सरकारले आइतबार आयोजना गरेको गणतन्त्र दिवस मूल समारोह कार्यक्रममा प्रदेशका अधिकांश मन्त्री अनुपस्थित भएका छन् ।

गणतन्त्र दिवस भव्य रूपमा मनाउने गरी प्रदेश सरकारले विशेष तयारी गरेको भए पनि सरकारकै धेरैजसो मन्त्री र सांसदहरूको अनुपस्थितिले गणतन्त्र दिवसको मूल कार्यक्रम नै खल्लो भएको छ । प्रदेश सरकारले विगत दुई वर्ष कोरोना महामारीको कारण देखाउँदै गणतन्त्र दिवस मनाएको थिएन । दुई वर्षपछि आयोजना गरिएको कार्यक्रममा मन्त्रीहरूका अधिकांश कुर्सी खाली थिए ।

गणतन्त्र दिवसका लागि लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनलाई प्रमुख अतिथिको रूपमा निमन्त्रण गरिएको थियो । उनी पनि कार्यक्रममा सहभागी भएनन् । प्रदेश प्रमुख शेरचनले आफू बिरामी परेको कारण देखाउँदै मूल समारोहमा अनुपस्थित भएका हुन् ।

लुम्बिनी प्रदेश सरकारमा १७ जना मन्त्री छन् । ती मध्ये तीन जना मन्त्री मात्रै मूल समारोहमा सहभागी भएको मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस सल्लाहकार मानबहादुर बिकेले जानकारी दिए ।

कार्यक्रममा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु तथा प्रदेश सभा सदस्यहरू भोजप्रसाद श्रेष्ठ र तुलाराम घर्ती मात्रै सहभागी भएका थिए । तर कार्यक्रममा सर्वसाधारणको सहभागिता भने उत्साहजनक रहेको थियो ।

आन्तरिक मामिला मन्त्रालयले तीन दिनअघि देखि नै गणतन्त्र दिवसको लागि विशेष तयारी गरेको थियो । मन्त्रालयले सबै मन्त्रीहरूलाई निमन्त्रणा समेत पठाएको थियो । कार्यक्रममा सहभागीले मन्त्रीहरू नै कार्यक्रममा अनुपस्थित हुनुको कारणबारे जिज्ञासा राखिरहेका थिए ।

कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा, कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती, शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री बसिउद्धिन खाँं मात्रै सहभागी रहेका थिए । कार्यक्रममा अधिकांश नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू, विभिन्न सामाजिक सङ्घसंस्था तथा विद्यालयका शिक्षक विद्यार्थी तथा पुरस्कृत व्यक्तित्वहरू सहभागी थिए ।

कार्यक्रममा सहभागी नभएपछि अधिकांश मन्त्रीहरूले मौसमको प्रतिकुलता र बिरामी भएको भनेर जवाफ दिएका छन् । मन्त्रीहरू सुरेन्द्र हमाल र ईन्द्रजित थारुले बिरामी भएका कारण सहभागी हुन नसकेको बताए । मन्त्री सुष्मा यादवले पानी परेका कारण आफू सहभागी नभएको जानकारी दिइन् ।

गणतन्त्र दिवस जस्तो महत्त्वपूर्ण कार्यक्रममा मन्त्रीहरुलदे नै बेवास्ता गर्नु लज्जाजनक भएको कार्यक्रममा सहभागी अधिकारकर्मी लालहरी पाण्डेले बताए । कायृक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्ना अधिकारहरूलाई संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालप्रति गौरव र हर्षोल्लासपूर्वक महान् चाडकै रूपमा मनाउनको लागि आग्रह गरे ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया