राधा दर्जीले चियाको बोट सुम्सुम्याउन थालेको ३५ वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत छिन् । मेची राजमार्ग छेउमा पर्ने कन्याम चिया बगानमा चिया हेर्न, फोटो खिच्न, घुम्न अनि रमाइलो गर्न दैनिक सयौँ पर्यटक आउँछन् तर दर्जीलाई कोही कसैले भुल्याउन सक्दैनन् ।
पिठ्यूँमा डोको र थाप्लोमा डोको अड्याउन प्रयोग भएको नाम्लो भिरेकी दर्जीका हात चियाका मुन्टा टिप्नमा नै व्यस्त हुन्छन् । पर्यटक आउँछन् र केही सोध्छन् । आँखा पर्यटकतिर गए पनि हातले काम बिसाउने फुर्सद हुँदैन, उनको ।
२०४१ सालबाट चिया बगानमा कार्यरत दर्जीलाई न शनिबार लाग्छ न सार्वजनिक बिदाले छुन्छ । ‘के गर्नु बाँच्नका लागि केही त गर्नै पर्दो रहेछ’, दर्जीले भनिन् ।
बिहानको झिसमिसेसँगै चिया कमानमा पुग्ने दर्जी बेलुका आँखाले भ्याएसम्म कन्याम चिया बगानमा नै चिया टिप्न व्यस्त छन्, यतिबेला । सँगै काम गर्ने खिना बस्नेतको पनि दैनिकी उसै गरी बित्छ । बस्नेतले चिया बगानमा काम गरेको पाँच वर्ष बित्यो । बिहान उठेदेखि घरको सामान्य काम गरेर बगानमा आउने उनीहरु अबेलासम्म नै काम गर्छन् ।
खिना र राधाजस्ता ६१ जना कन्याम चिया बगानमा काम गर्ने मजदूरको दैनिकी प्रायः उस्तै गरी बित्छ । चिया टिप्ने, टिपेको चिया कारखानासम्म पु¥याउने र चिया टिप्ने मजदूरलाई निरीक्षण गर्नेसम्मका काम पर्छन्, उनीहरुको । मजदूरको हाजिरी उठाउने, उठाएको हाजिरी र टिपेको चियाको विवरण बडाहाकिमसम्म पु¥याउने काम बगानमा कार्यरत मजदूर स्वयंले नै गर्ने गर्छन् । ती सबै काम फरक फरक मजदूरलाई गर्नुपर्दछ । अर्थात् सबै मजदूरको आ–आफ्नै जिम्मेवारी छ, चियाबगानभित्र ।
खान लाउन र छोराछोरी पढाउन यसै कमाइले मात्र सम्भव नभएको मजदूर बस्नेतले बताइन् । उनका अनुसार परिवारका अन्य सदस्यले अन्य काम गर्छन् ।
मजदूरले चिया टिप्ने र उनीहरुकोे निगरानी गर्ने जिम्मा मजदूरभित्रकै नाइकेलाई दिइएको छ । नाइकेले चिया टिप्नु पर्दैन, उनको संवाद सोझै कारखानाका छोटा हाकिमदेखि बडाहाकिमसम्म हुन्छ ।
उनीहरु बिहानैदेखि बेलुका अबेरसम्म चिया बगानमा नै भेट्टिन्छन् । बिहान सबेरैदेखि बेलुका अबेरसम्म चिया बगानमा काम गर्नुको कारण दैनिक १८ किलो चिया टिप्नुपर्ने बाध्यता हो ।
मजदूरले दैनिक १८ किलो हरियो चिया नटिपे कारवाही हुन्छ । बढी टिपे पुरस्कारको व्यवस्था छ । दैनिक १८ किलो चिया टिप्ने मजदूरले दैनिक ३ सय ८५ रुपौयाँ पाउने प्रावधान छ । यदि १८ किलोभन्दा माथि चिया टिपे प्रतिकिलो आठ रुपौयाँका दरले पारिश्रमिक बढ्छ तर दैनिक १८ किलो चिया नपिटे दैनिक ज्यालामा उसैगरी दैनिक नै प्रतिकिलो ८ रुपैयाँका दरले घट्दै जान्छ ।
यो ज्याला कन्याम चिया बगानमा कार्यरत मजदूरको मात्र नभएर इलाम र झापाका सरकारी सात वटा चिया बगानमा कार्यरत मजदूरको हो । काममा नआए दैनिक हाजिरी नहुने र ज्याला नपाउने गरेको मजदूरको भनाइ छ ।
निजी चिया बगानमा भने फरक फरक मूल्य छ । निजी चिया बगानका मजदूरसँग सम्झौता गरेर आफुखुशी मूल्य निर्धारण गरिएको छ तर सूर्योदय नगरपालिकाभित्रका चिया बगानले भने मूल्य सामूहिक रुपमा नै निर्धारण गरेका छन् ।
सूर्याेदय नगरपालिकाभित्रका निजी चिया कारखानाको छाता संगठन सूर्योदय टि एशोसिएशन प्रालिमा दर्ता भएका ५३ वटा चिया कारखानाले सरकारले तोकेकै रेटमा मजदूरलाई भुक्तानी दिइरहेका छन् । तर, जिल्लाका अन्य कारखाना तथा चिया बगानका मालिकले मजदूरलाई चित्त बुझाएर काम लगाएका छन् ।
चिया बगानअनुसार घटी र बढी चिया टिप्न सकिन्छ । बढी चिया पलाउने ठाउँमा हँसिया र कैँचीले पनि चिया टिप्ने गरिन्छ । हँसिया र कैचीले चिया टिपे पुनः ज्याला घट्ने गरेको छ । अर्थात् हाँसिया र कैचीको प्रयोग गरे दैनिक १० किलो बढी चिया टिपे मात्र न्यूनतम ३ सया ८५ रुपौयाँ ज्याला कायम हुने गरेको छ । हँसिया र कैचीको प्रयोग गरेर चिया टिपे दैनिक २८ किलो चिया टिप्नुपर्ने हुन्छ ।
सरकारी चिया बगानका मजदूरको ज्याला उनीहरुको आन्दोलनका कारण बढेको हो । मजदूरले यसै सिजनको शुरुमा ५० दिन आन्दोलन गरेर यो ज्याला कायम गराएका हुन् । त्यसअघि उनीहरुले दैनिक २ सया ६५ रुपैयाँमा काम गर्दै आएका थिए ।
ज्यालामा असन्तुष्ट मजदूरले आन्दोलन गरेर नै यो उपलब्धि हात पारेको कमानका मजदुरहरु बताउँछन् । पटक पटक भएको सम्झौता भने कार्यान्वयन नहुने गरेको चिया मजदुरहरुको भनाइ छ । हाल उनीहरुले बढेकै ज्याला पाउन थालेका छन् । तर, आन्दोलन पछि भएको सम्झौतामा भने ०७४ साल साउन बाटै कायम भएको ज्याला लिने÷दिने भनेता पनि गएको वर्षको ज्याला कारखानाबाट तीन किस्ता गरेर दिने सम्झौतापत्रमा उल्लेख छ ।
मजदूरले सो बेला पाउने दैनिक २ सया ६५ रुपौयाँ भने पाएका छन् तर सोभन्दा माथि दैनिक ३ सया ८५ रुपौयाँ भएपछि बढेको पैसा भने कारखानाबाट लिन बाँकी रहेको मजदूरको बताउँछन् ।
बढेको ज्याला कार्यान्वयन हुन्छ या हुँदैन भन्ने चिन्ता भने उनीहरुमा अझै पनि छ । ‘तीन किस्ता गरेर दिने भनेको ज्याला अझै पाइएको छैन, दशैं आउनै लाग्यो’, चिया मजदूर खिना बस्नेतले भनिन् ।
चियाको टिपाइ चैत अन्तिमदेखि कात्तिक अन्तिमसम्म हुने गरेको छ । यहाँ कार्यरत मजदूरले भने १२ महीनानै काम गर्नुपर्दछ । चिया पलाउन छोडेपछि चिया छाँटकाँट गर्ने, चिया गोडमेल गर्ने, मल लगाउने, काटिएका चियाका झिक्रा पन्छाउनेलगायतका काम यही कार्यरत मजदूरले हिउँदका समयमा गर्नुपर्ने हुन्छ ।
उनीहरुले सो बेला तोकिएको ज्याला (३८५) मा काम गर्नुपर्ने हुन्छ । सो बेला थप काम गर्नु नपर्ने भएकाले थप रकमसमेत नपाइने गरेको मजदूरको भनाइ छ ।
सरकारी चिया बगान सङ्घाइ ग्रुपले लिजमा लिएको छ । ५० वर्षका लागि लिजमा लिएको सो ग्रुपले नै मजदूरलाई काम लगाइरहेको छ । २०५१ सालबाट कन्याम चिया बगानमा नै कार्यरत मजदूर भेषकुमारी राईले दुई वर्ष पछिदेखि नाइकेको जिम्मेवारी पाएको छ । नाइके राईका अनुसार चिया बगानमा कार्यरत मजदूरले मुख्य सिजनमा दैनिक ३५ किलोदेखि १०० किलोसम्म चिया टिप्छन् ।
उनका अनुसार मजदूरले हाल पनि २० देखि ५० किलोसम्म दैनिक चिया टिपिरहेका छन् । हाल कन्याम चिया बगानमा ६१ मजदूरले काम गरिरहेका छन् । इलाममा कन्याम, इलाम, चिलिमकोट र सोक्तिम चिया बगान सरकारी हुन् । झापाका बाह्दशी, टोक्ला र बर्ने चिया कमान रहेका छन् । दुबै ठाउँमा गरेर हाल नेपालमा सातवटा सरकारी चिया बगान छन् ।