राष्ट्रियसभाको मंगलबारको बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५’लाई सर्वसम्मतिले पारित गरेको छ । गृहमन्त्री रामबहादुर थापाले सो विधेयक बैठकसमक्ष प्रस्तुत गरेको थियो । यसअघि उनले प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफावार छलफल गरियोस् भनी राखेको प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृतसमेत गरेको थियो ।
गृहमन्त्री थापाले विधेयकको संशोधन प्रस्तावमाथि सांसदले राखेको जिज्ञासामाथि जवाफ दिँदै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक व्यापक छलफल र परामर्श गरी ल्याइएको स्पष्ट पारे ।
उनले संशोधन प्रस्तावमाथिका केही बुँदालाई विधेयकले ग्रहण गर्ने जानकारीसमेत दिए । यसअघि सो विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसद ठगेन्द्रप्रकाश पुरी र रामप्रीत पासवानले विधेयकलाई अँझ समृद्ध बनाउन संशोधन आवश्यक रहेको बताउनुभयो । चार बुँदामा १३ जना सांसदले सो विधेयकमाथि संशोधन गरिएको थियो ।