स्थानीय तहको चुनाव भएको दुई वर्षभन्दा बढी भइसकेको छ । सबै स्थानीय तहले सहजताका लागि गाडी पनि किनिसकेका छन् । रुकुम पूर्वका तीनवटै स्थानीय तहले पनि स्कार्पियो किनेका छन् । स्कार्पियो किने पनि पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्ती भने गाउँपालिकाका विभिन्न ठाउँमा जाँदा घोडामा चढेर जान्छन् ।
स्कार्पियो छोडेर रहरले भने अध्यक्ष घर्ती घोडा चढेको होइन । १४ वटा वडा रहेको गाउँपालिकाको नौ वटा वडामा सडक सुविधा छैन । सडकको सुविधा नपुगेको ठाउँमा स्कार्पियोको के काम ? यसैकारण अध्यक्ष घर्ती गाउँपालिकाका विभिन्न कार्यक्रम तथा ठाउँहरुमा जाँदा घोडा चढेर जाने गर्छन् । “गाउँपालिकाको १ देखि ९ नम्बरसम्मका वडालाई अहिलेसम्म सडक सञ्जालले छोएको छैन”, अध्यक्ष घर्तीले भने, “सडक सञ्जालले जोडेको वडा नं. १०, ११, १२, १३ र १४मा पनि सडकको राम्रो व्यवस्था छैन ।” गाउँपालिकाबाट हिँडेर दुई दिन लाग्ने वडाहरू छन् । ती वडाहरुमा पुग्दा घोडाको सहारा लिनुपर्ने स्थिति सिर्जना भएको अध्यक्ष घर्तीको भनाइ छ ।
३६ लाख रूपैयाँमा किनेको स्कार्पियो सदरमुकाम रुकुमकोट, प्रदेश राजधानी तथा काठमाडौँ जाने बेलामा प्रयोग गर्ने गरेको तर, अन्य बेलामा भने घोडा सहारा नै बन्ने गरेको छ । वर्षाको समयमा ठाउँठाउँमा झरेको पहिराका कारण भएका सडकखण्ड पनि पूर्णरूपले अवरुद्ध हुने गरेका छन् । पुथा उत्तरगङ्गावासीले सवारीको मुख्य साधनका रूपमा घोडा र खच्चरलाई प्रयोग गर्ने गरेका छन् ।
‘जमाना कहाँबाट कहाँ पुगिसक्यो’, गाउँपालिका–२ पेल्माका दीपक बुढाले भने, “हामीले राम्रोसँग यातायातका साधन प्रयोग गर्न त के देख्नसमेत पाएका छैनौँ, एक ठाउँको सामान अर्को ठाउँमा ओसारपसार गर्न मात्र होइन कतिपय अवस्थामा बिरामी बोक्नसमेत घोडा र खच्चड प्रयोग गर्ने गर्दछौँ ।” यहाँका सर्वसाधारणले मात्र होइन जनप्रतिनिधिले पनि एक ठाउँबाट अर्को ठाउँमा जान घोडा प्रयोग गर्ने गरेको उनले बताए ।
गाउँपालिका अध्यक्ष घर्तीले मात्र नभई उपाध्यक्षलगायत पालिकाका अन्य कर्मचारीले पनि घोडा प्रयोग गर्ने गरेका छन् । उनीहरू भन्छन्, “सडकमा गाडी गुडेको जस्तो सुविधा त कहाँ हुन्छ र ? आफैँ हिँड्न एक दिन त सकिन्छ तर बारम्बार हिँड्न मुस्किल पर्छ ।” गाउँपालिकाका विभिन्न गाउँहरुमा पुग्नुपर्यो भने घोडाले धेरै राहत मिल्ने गरेको उनीहरुको भनाइ छ ।
आर्थिक वर्ष २०७५/७६मा १ लाख ५० हजारमा घोडा किनिएको हो । गाउँपालिकाले घोडा त किन्यो तर, घोडाको खानाका लागि भने खर्च नछुट्याएको गाउँपालिकाले जनाएको छ । घोडा जसले चढ्छ उसैले घोडाको खाना खुवाउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाक्षेत्रीले बताए । उनका अनुसार घोडाको स्याहारसुसारका लागि गाउँपालिकामै तबेला बनाइएको र कार्यालय सहयोगी उज्ज्वल सेनले हेरचाह गरिरहेको छ ।