अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको ५४ किलो र भुम्लु गाउँपालिकाको दोलालघाट बजार आसपासमा पहिराले यातायात ठप्प भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोका अनुसार भुम्लु गाउँपालिका- १० दोलालघाट बजार नजिकै गएराति पहिराका कारण सडक भत्किएपछि यातायात बन्द भएको हो । ‘त्यो लगायतका अरु ठाउँठाउँमा पहिराका कारण सडक भत्किएको र भासिएको छ’, उनले भने, ‘धेरै ठाउँमा सडक अवरुद्ध भएका कारण अहिले यातायातका साधन चल्न सकेका छैनन् ।’
गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले दोलाघाट बजार नजिकै पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ डोजर लगाएर खुलाउने प्रयास भइरहेको बताए । अविरल रूपमा परिरहेको वर्षाका कारण ठाउँठाउँमा धेरै क्षति भइरहेको र त्यस क्रममा अरनिको राजमार्गको ठाउँठाउँमा पहिरोले सडक भत्किएकाले खुलाउने प्रयास भइरहेको छ, उनले भने ।
उता रोशी गाउँपालिकाअन्तर्गत बिपी राजमार्गको ल्हासकोटमा हिजो सडकमाथिबाट खसेको लेदोका कारण अवरोध भएको र गाउँपालिकाको पहलमा सञ्चालन खुलाइको छ । नमोबुद्ध नगरपालिका–५ ल्हासकोटमा सञ्चालित मनकामना एक्रिकेट क्रसर उद्योगले सडकमाथि भित्तामा थुपारेको डस्ट वर्षाका कारण बगेर सडक पुरिएर अवरुद्ध भएको र त्यसलाई सफा गर्ने काम निरन्तर जारी राखिएको गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले जानकारी दिए ।