नगरकोटस्थित बृहत पर्यटन सहकारी संस्थाले ‘भ्रमण वर्ष-२०२०’ लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम शुरु गरेको छ । सहकारीले आफ्नो अभियानको थालनी विदेशी पाहुनाका लागि नगरकोटका १० घरमा घरबास (होमस्टे) व्यवस्थापनबाट थालेको छ ।
भ्रमण वर्षलाई लक्षित गरी विशेषगरी विदेशी पाहुनाका लागि दोस्रो चरणमा पर्यटन सूचना केन्द्र स्थापना गरिने सहकारीका अध्यक्ष अनिश तामाङले बताए । उनले भने, ‘हामी सहकारीमार्फत् नगरकोटमा स्वदेशी, विदेशी पाहुनाका लागि स्वच्छ वातावरण, स्वस्थ खाना, सहज एवं रमणीय बसाइँको व्यवस्थापनमा लागेका छौं ।’ उनले घरवासको संख्या बढाउँदै लगिने साथमा अन्य पर्यटन प्रवद्र्धनका योजना पनि अगाडि बढाउँदै लगिने जानकारी दिए ।
सहकारीले भ्रमण वर्षलाई लक्षित गरी विदेशी पर्यटकका लागि नगरकोटमा गाइड व्यवस्था गर्न स्थानीय सक्षम युवा छनोट गरी तालीम दिइने, पर्यटकीय एकीकृत बस्ती निर्माणको कार्ययोजना बनाउन सम्भाव्यता अध्ययन थालिने, नगरकोटका होटलमा अग्र्यानिक तरकारी प्रयोग गराउन लगाउने र त्यसका लागि स्थानीय स्तरमै खेती शुरु गर्ने योजना बनाएको छ ।
पर्यटकीय नगरकोट क्षेत्र काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका- २ र भक्तपुरको चाँगुनारायण नगरपालिका- ६ मा पर्दछ ।
सहकारीले नगरकोटस्थित महादेव पोखरी, टावर तथा सडक क्षेत्र समय-समयमा सरसफाइ गर्दै आएको छ भने खाली जमीनमा विषेश जातका बिरुवा तथा फूल रोप्दै आएका छन् ।
भ्रमण वर्षभरि विविध सांस्कृतिक कार्यक्रम गर्न स्थानीय पर्यटन विकास समिति र अन्य संस्थासँग सहकार्य गरी तामाङ तथा गुरुङ संस्कृतिलाई पर्यटनसँग जोड्ने कार्यक्रम ल्याउने प्रक्रिया अघि बढाइएको अध्यक्ष तामाङको भनाई छ ।
सहकारीले भ्रमणलक्षित कार्यक्रम गर्नु उत्साहजनक कार्य भएको जिल्ला सहकारी संघका सचिव दिलीप शर्माले बताए । उनले जिल्लामा रहेका करीब १ हजार ४ सय सहकारीमध्ये चार मात्रै पर्यटन सहकारी रहेको जानकारी दिँदै अन्य पर्यटन सहकारीलाई पनि भ्रमणलक्षित कार्यक्रम बनाउन आग्रह गरे ।
यसअघि जिल्लामा पर्यटन प्रवद्र्धनार्थ भ्रमण वर्षलक्षित पूर्वतयारी अन्तर्गत तेमाल हाइकिङ, नमोबुद्ध हाइकिङ शुरु गरिएको थियो ।
यसैगरी धुलिखेलस्थित नेपाली सेनाका विष्णु दल गणले भ्रमण वर्ष लक्षित गरी नेपाल एकीकरणका दौरान जिल्लामा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएका बाटोको प्रवद्र्धन गरी ‘युनिफिकेशन टे«किङ टे«ेल’का रुपमा विकसित गर्ने योजना अघि सारेको छ ।