यात्रा कोरियाको

अमर सरोबर थेजन, दक्षिण कोरिया
यात्रासंस्मरण

सुरुमै भनिहालूँ– म लेखक होइन । तर, मित्र नवराज अजनवीजीले नेपालदेखि कोरियासम्मको यात्रा संस्मरणको बारेमा एउटा आलेख तयार पार्न अनुरोध गर्नु भयो । म कोशीस गर्नेछुु भनेर मैले वहाँको आग्रहलाई पटक पटक टार्दै आएको थिएँ । आज फेरी इनबाक्समा म्यासेज पठाउनु भएछ त्यसैले केही लेख्न तम्सेको छु ।

कहिलेकाही केही लेखूँ भन्छु समय मिल्दैन । समय मिलेको बेला जाँगर चल्दैन । दिनभरिको कामको थकानले पुरै शरीर गलेको हुन्छ, पाटो पाटोमा दुखेको हुन्छ । कतिखेर डेरा पुगूँ र बिस्तारामा ढलूँ जस्तो हुन्छ । प्रचण्ड गर्मी होस् या कठ्यङ्रग्रिदो जाडो, काम नगरी सुख छैन यहाँ । न त मन नलागेर सक्दिन भन्न नै पाईन्छ ।

वैदेशिक रोजगारिको आकर्षक गन्तव्य मध्येमा एक हो दक्षिण कोरिया । हाल रोजगार अनुमती प्रणालीमार्फत् आएकाहरुको संख्या करीव ५० देखी ५५ हजारको हाराहारीमा पुगेको छ । त्यस बाहेक अध्ययन, व्यापार तथा कोरियन नागरिकसित विवाह गरी आउने नेपालीहरुको संख्या पनि थुप्रै छन् । नेपाल सरकारले कोरियामा कामदार पठाउनको लागि प्रत्येक वर्ष भाषा परिक्षा सन्चालन गर्दै आएको छ ।

३० मार्च २०१६, गाउँबाट हिँडेको दिन । हिँड्ने बेला गहभरी आँशु लुकाएर आमाले भन्नु भयो- ‘बाबु ! राम्रो सँग जानु, आफ्नो सधैं ख्याल राखेस् है ।’

आफू जन्मेको गाउँ, प्राणभन्दा प्यारा आपा-आमा, साथीसंगी, आफन्त सबैसँग छुटिनु पर्दा नरुने को होला ? तैपनि आफूलाई सम्हाल्दै राम्रोसँग बस्नुस्, मेरो चिन्ता नलिनु होला, म छिट्टै फर्किनेछु । यति भनेर हिँडेँ, ढुङ्गा जस्तो कठोर मन पारेर । पटुकीमा बेरेर राख्नु भएको केही रुपैया मेरो हातमा थमाउँदै बाटोमा खाजा खानु भन्नु भयो आमाले ।

आमाको मन हो, बुढेसकालको साहारा दिने छोरालाई आफूबाट टाढा पठाउने मन पक्कै थिएन होला । पिँढीको छेउमा बुबा किंकर्तव्यविमुट भएर उभिरहनु भयो । आँशूले भिजेको अनुहार देखाउन पनि सकिएन मैले ।

बिहानै आमाले खाना तयार गर्नु भएछ ! वहाँको हातले पकाएको खाना खान अब कति समय कुर्नु पर्ने हो थाहा छैन । त्यस दिन मैले घर मात्रै होइन, दुहुनो भैंसी, बाख्राका स-साना पाठापाठीहरु, आँगनीमा रोपेका फूलहरु, घर छेउको लाकुरीको चौतारालाई पनि छोडेँ ।

यसअघि कैयौंपल्ट घर छोडेर हिँडेको छु तर यस्तो कहिल्यै लागेको थिएन । पाइलाहरु गह्रुङो लाग्दै थियो । सामुन्ने उभिएका बैकुण्ठ डाँडाले पनि नजाऊ भनेर बाटो छेके झै लाग्थ्यो ।

त्रिशुली बजार आइपुगेपछि इपिएस (EPS)को बेबसाइड खोलेर हेरेँ । अप्रिल ५ तारिखको उडान तालिका पक्का भएछ ! आमालाई फोन गरेँ थाहा दिनलाई । एकातिर खुशी अर्कोतिर छुटिनु पर्दाको नमिठो अनुभूती बोकेर काठमडौं फर्किएँ ।

कोरिया आउनु अघिसम्म म दरबारमार्गको एउटा चाइनिज बुक स्टोर्समा काम गर्थेँ । कति चिनजानका साथीभाइहरु पनि आउनु हुन्थ्यो । मलाई त्यहाँ देखेर ‘तपाईं यहाँ ?’ भनेर कतिले अचम्म माने झै गरी सोध्नु हुन्थ्यो । काम कुनै पनि सानो ठूलो हुँदैन भन्ने लाग्छ ।

विकसित देशहरुको कुरा गर्ने हो भने त्यहाँका मान्छेहरु जस्तोसुकै काम गर्न पनि लाज मान्दैनन् । हिच्किचाउदैनन् । हामी र हाम्रो देश पछाडि पर्नुको कारण मध्ये यो पनि हो ।

अन्ततः कोरिया जाने टिकेट पनि हात पर्यो । अब केही दिन मात्रै बाँकी थियो उडान भर्नका लागि । समय थोरै भएकोले भेटघाट, किनमेल अनि बाँकी रहेका कामहरु पुरा गर्नुमा व्यस्तभएँ ।

जति जति समय नजिकिदै थियो त्यति त्यति नै मनमा भने न्यास्रो लागिरहेको थियो । त्यसअघिसम्म कहिले जान पाइएला भन्ने हतारो हुन्थ्यो । नहोस् पनि कसरी ? यसैको लागि महिनौसम्म मिहेनत जो गर्नु परेको थियो । बिडम्बना ! अर्काको देशमा श्रम गर्न जान पनि सजिलो छैन । यदी स्वदेशमै रोजगारीको पर्याप्त अवसरहरु भैदिएको भए शायद कोही पनि विदेशिनु पर्ने थिएन होला ।

सधैं हिडिरहेने यी बाटोहरु, गाउँबस्तिहरु, मान्छेहरु विदेश पुगेर फर्किदासम्म कस्तो हुने हुन् ? अनि कहिल्यै नपुगेको त्यो बिरनो ठाउँ कस्तो होला ? के होला ? यस्त-यस्तै अनेकथरी कल्पनाहरु उब्जिन थालेको थियो मनभरी । विदेशिनु रहर त पक्कै थिएन तर समय र परिस्थितिले लाचार बनाएपछि विवस्तालाई अँगाल्नुको बिकल्प नहुँदो रहेछ ।

कोरिया आएको लगभग साँढे तीन वर्ष पुग्न लागेछ यतिबेला । सुरुमा कोरिया टेकेर तालिम केन्द्र पुगेको दिन मलाई कोरिया नभएर नेपालकै लेक र खर्कतिर छु कि जस्तो भान भएको थियो । नयाँ ठाउँ, नयाँ परिवेशमा घुलमिल हुन सुरुसुरुमा गाह्रो लाग्नु त स्वभाविकै हो । तर, बिस्तारै सबैकुरा सहज हुँदै गयो । अहिले जहाँ छु, खुशी नै छु र रमाइलैसित बितिरहेको छ दिनहरु । यद्यपी बाहिरबाट हेर्दा कोरिया जति भव्य र सुन्दर देखिन्छ यसभित्र उत्तिकै कहालीलाग्दो कथाहरु पनि छन् ।

तपाईको प्रतिक्रिया