लाङटाङ राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष ०७५/०७६ सम्ममा ५ करोड ७२ लाख ९८ हजार ४ सय ३७ राजस्व संकलन गरेको छ ।
पर्यटन वन पैैदावर वन रोयल्टी सरकारी सम्पत्तीको बहालबाट प्राप्त आय र अन्य प्रशासकीय सेवा शुल्क न्यायिक दण्ड जरिवाना र जफत, प्रशासनिक दण्ड जरिवाना, जफत बेरुजु कर, पर्यटन सेवा शुल्क लगायत भृकुटीमण्डप टिकट काउन्टरबाट संकलित राजश्वबाट उक्त रकम उठेको निकुञ्जलेजनाएको छ ।
निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी शिवलाल गैरेका अनुसार पदयात्राका लागी सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपुर्ण संरक्षण क्षेत्र पछिको तेस्रो गन्तव्य स्थलको रुपमा परिचित छ । नेपालको पहिलो हिमाली राष्ट्रिय निकुञ्ज वि.स. २०३२ साल चैत्र ९ गते स्थापना भएको हो । उनले भने, यो निकुञ्ज रसुवा (५७ प्रतिशत) नुवाकोट (७ प्रतिशत) सिन्धुपाल्चोक (३६ प्रतिशत) गरी १७१० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।
निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेना कालिजंग गण रहेको छ । हालसम्म ११ वटा गणले आफ्नो सुरक्षा दिइसकेका छन् । जसमा नेपाली सेनको भैरवी दल गण २०४७ सालबाट यस निकुञ्जको सुरक्षार्थ आएको थियो । यससँगै दि. फेगश महेन्द्र दल गण, बर्द बहादुर गण, शम्सेर दल गण, दुर्गा बक्स गण, इन्द्र बक्स गण, अह्रिदमन गण, नारयण दल गण र हाल कालिजंग गणले आफ्नो डिउटी निभाइसकेका छन् ।
निकुञ्ज अन्तर्गत ३ जिल्ला गरी १७ वटा पोष्टहरु रहेका छन । प्रभावित क्षेत्रलाई समेटेर २०५५ बैशाख १४ गते ४१८.३० वर्ग कि.मि. निकुञ्ज क्षेत्रमा हुने वनपैदावारको चापलाई न्यूनीकरण गर्न र मध्यवर्ति क्षेत्रमा रहेको प्राकृतिक स्रोतहरुको उचित व्यवस्थापनका २१ वटा मध्यवर्ति क्षेत्र, उपभोक्ता समुहहरु नुवाकोट, रसुवा र सिन्धुपाल्चोक जिल्लाका १० वटा गाउँपालिकामा गठन भएका छन् ।
नेपालको महत्वपुर्ण पर्यटकीय गन्तव्य स्थलको रुपमा परिचित निकुञ्जमा आर्थिक वर्ष २०७५/०७६ मा ३२ हजार ४ सय १७ जना पर्यटकले भ्रमण गरेका छन ।
२०७५ असोज भन्दा अघि निकुञ्ज भ्रमणमा आउने नेपालीहरुले प्रवेश शुल्क बुझाउनुपर्ने व्यवस्था थिएन । २०७५को असोज २९ मा नेपाल राजपत्र अनुसार नेपालीहरुलाई समेत निकुञ्ज भ्रमणका लागी प्रवेश शुल्क लिनुपर्ने नियम अनुसार कार्तिक महिनादेखि सवैलाई शुल्क लिने व्यवस्था गरिएको हो ।
यसरी निकुन्ज भ्रमणमा आउने पर्यटकहरुलाई नेपाली सार्क मुलुकका र विदेशी मुलुकका गरी ३ समुहमा वर्गिकरण गरी मुल्य अभिवृद्धिकर सहित प्रति व्यक्ति क्रमशः १ सय, १५ सय, र ३ हजार रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गरिएको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकले कार्यालय (धुन्चे) मैलुङ पोष्ट, घोडा तवेला पोष्ट, कुटुमसाङ, (रसुवा नुवाकोटको सिंमाना) शेर्माथाङ, शेर्पाथाङ पोष्ट (सिन्धुपाल्चोक) र तिम्बुसेक्टर(सिन्धुपाल्चो) गरी ६ स्थानबाट प्रबेश अनुमति लिने व्यवस्था गरिएको छ ।