सांस्कृतिक चेतमा ‘रातो घर’

काठमाडाैं

मिश्रबाट प्रारम्भ मानिएको मानव सभ्यता आजको यो दिनसम्म आइपुग्दा अझ निरन्तर अघि बढिरहेको छ । सायद यो गति थामिने छैन जबसम्म मानव जाति रहन्छ । त्यही सभ्यताको विकासको क्रममा तामाङ पुर्खाले आफ्नो सन्ततिको लागि निर्माण गरेको घरको आँगनी, दोबाटो, धारापधेँरो फूलबारी र करेसाबारीको धापहरूलाई पछ्याउँदै हुर्केकी कवयित्री बिना तामाङ ‘सुनगाभा’ ले दुई दशकपछि स्मृतिको पनाबाट उप्काएकी कथाको सार हो रातो घर अर्थात् वाला दिम कविता सङ्ग्रह । जसलाई विश्व नेपाली साहित्य महासङ्घ, नेपालले प्रकाशन गरेको हो ।

रातोको अर्थ रातोलाई भन्दा रातो मन पराउनेहरूलाई बढी नै थाहा हुन्छ । रातोलाई प्रेम गर्नेलाई थाहा हुन्छ । शायद रातोको अर्थ जीत हुनसक्छ । पराजित नस्विकारेको अवस्था । अघि बढिरहेको क्रान्ति हुनसक्छ । रातोको अर्थ सुख अनि वैभव सम्पन्न अरू धेरै धेरै हुनसक्छ । त्यही रातो घर मा हुर्किएकी एउटा चेली जसले पुनः आफू जस्तै चेतनाले भरिपूर्ण सन्ततिको अपेक्षा गरेकी छन् । संसार हाँक्ने, संसार दौडने अनि संसार जित्ने त्यही अभिलाषाको कित्तामा ऊर्जाशील भावका साथ व्यक्त भएका काव्य रचनाले यही कुराको प्रक्षेपण गर्छ ।
आमा ! त्यो रातो घरबाट
अझै थुप्रै म जस्ता
सन्तान तयार पारेर
पठाऊ यहाँ
मेरो युग पर्खिरहेछ
(रातो घरबाट)

वैभवपूर्ण त्यही रातो घरबाट अझ मीठो सपना साँचेर पखेटा हालेका दिलबहादुर, रामे र दोर्जे जसले फुलमाया, फूलमती अनि फूर्वाको रङ्गिन सपनामा नुनिलो पानीको बाफमा बैश सेकाउँदा एक बिहानै हरेक दिन पँधेरीमा गाग्रीहरू भरेर चुलीचुली हुन्छन् । रातभरको सपनीमा खेदेर पनि नपुग्दो हो । रत हरेक क्षण असीम यादमा टहलिन्छन् फूलमति । शायद भोलिका लागि सम्झौता गरेका हुन् फूर्वाले अर्को कम्प्रोमाइज । यस्तो कम्प्रोमाइजमा राताराता पौरखी हातहरू निर्वाद अरूको लागि चल्दा फर्केर आउँदा रातो घरको जीर्णोद्धार आफू नचलेर कतै कुजोँ हुने त होइन रु शङ्का गरे जस्तो लाग्छ कवयित्री बिना तामाङ ‘सुनगाभा’ । त्यही शङ्का प्रेषक बुद्ध शीर्षकको कवितामा प्रापक मायादेवीले पाउँदा निख्रिन्छ । रातो घर मा हुर्के बढेर होला कवयित्री सुनगाभा राममाया जस्तो चुराका छन्–छन् झुम्काको खिन्द्रिङ्–खिन्द्रिङ् पाउजुको छम्छम्मा उद्वेलित हुन चाहन्न । आभूषणहरूको प्रतिध्वनिसँग आफ्नो उन्मुक्ति साट्न चाहन्न । शायद प्रेमलाई बन्धनबाट होइन उन्मुक्तिबाट बढी बुझेको हुनुपर्छ । फेरि सत्य पनि त्यही नै हो । प्रेममा आजादी हुनुपर्छ । स्रष्टा हुनु अझ त्यसमा पनि नारी हुनुको अर्थलाई अर्थपूर्ण बनाएकी छन् कवयित्री तामाङले बन्धन शीर्षकको कवितामा ।

कवयित्री सुनगाभा काठमाडौँभित्र काठमाडौँको दुरी नाप्छिन् । तौलिन्छिन् । बोकेर हिँड्दा हिँड्दै फाल्छिन् । बिना हतारो अरू धेरै अघि बढेको देखेर आफैलाई धिर्काछन् धत् १ रामे धत् काठमाडौँ । त्यही काठमाडौँले चढ्न सिकाएका सिभिल मलका खुड्किलाहरू जहाँ बर्गर र पिज्जा खाएर पेट त भर्छ तर मन कहिल्यै भर्दैन । आँसुको खेतीमा असन्तोषको घडालाई चाहेर पनि विच्छेद्य गर्न नसकेको दुखेसोले गाउँका बिम्बहरूलाई रुहुन्छिन् अनि गन्हाउने हातले सुगन्धित पत्र कोर्दै रङ्गिन सहरको कथाका पात्रहरूलाई उदाङ्गो पर्छिन् ।

वर्गीय चेतमा हामी भित्र अट्न नसकेको परिणति र ऐनामा टाँसिएको विम्बबाट निस्केर इन्द्रेणीको रङ्गमा खेल्न रमाउने स्वतन्त्र प्रिय कवयित्री सुनगाभाले समानता र समताको कुरालाई खसेकी विम्बमा अघि सारेकी छन् । प्रेमलाई सुविधा ठान्नेहरूलाई बेस्सरी गाली गरेकी छन् । फेरि त्यही प्रेममा बिछोड खेप्दा हेस्टेरिया भएकोमा विलाप गर्छिन् ।
साँच्चै नोर्बु !
एकजोर लालीगुराँस टिपेर
मेरो शीरमा खिपेको
कहाँ बिर्सेको छु र ?
त्यही सम्झनाले त हो नि
आजभोलि मलाई हिस्टेरिया भा’छ
(हिस्टेरियाबाट)

सुरुवात पछिको अन्त्य सत्य हो । यो सत्यलाई सजिलै स्विकार्न सकिन्न । त्यसमा पनि कारण छ । आशक्ति, द्वेष, राग जस्ता क्लेषहरु । तर सर्जक र स्रष्टामा सहज स्वीकारोक्ति हुन्छ । त्यही स्वीकारोक्तिमा कोरिडोरका मुन्तिर फुलेको रातो गुलाफको वैशको अवसान लाई सत्यसँग जोड्न भ्याएकी छन् । पराजित मानसिकताले ग्रस्त कमजोर आत्मविश्वास त्यसमा टाँसिएको अन्धविश्वासले स्वयम्सँग भएको अपार क्षमतालाई ओझेल पारेको सत्य खुट्टाउँदै पुर्खाले बुइँगलमा सम्हालेर राखेको ढ्याङ्ग्रो बजाउन आग्रह गरेकी छन् । ढ्याङ्ग्रोलाई प्रतीक बनाउँदै समाजमा रहेका पछौटेपन, हीनताबोध, लाचारीपनलाई चिरेर सम्पन्नता र समृद्धिको आँकाक्षा साँचेकी छन् कवयित्री सुनगाभाले । त्यति मात्र होइन कवयित्री सुनगाभा रातो गुराँसलाई कालो गुराँस बनाउने र फूलबारीमा फूल चोरेर फूलको रस चुस्न अनि निचोरन पल्केका मानवको नाममा दानवीय प्रवृत्तिका बनढाडे ब्वाँसाहरूलाई पाता कस्न जुनकिरीहरू तयार गर्न लागि परेकी छन् ।

चौकाटोमा झुन्ड्याउनेछु
जहाँ हरेकपल्ट
ओहोर दोहोर गर्नेहरू
घृणाको एक लात बजार्नेछन्
हो त्यही समय–
म निशालाई चिर्ने
हजारौँ जुनकिरीहरू तयार पार्नेछु
(जुनकिरीबाट)

साहित्य भित्रको सुन्दर विधा हो कविता । धेरै लेखिएर थोरै पढिने विधामा पनि हो कविता । तर विभिन्न भावमा रातो घर भित्र अटाएका बत्तीस थान कविताहरू पढेर त्यस्तो लाग्दैन । बरु लाग्छ किन थोरैले पढ्छन् होला कविता रु कविता कविता लागि मात्र लेखिएका छैनन् । यसैले त कविताहरू आत्मरतिमा बरालिएका छैनन् । चाहना, उद्देश्य, आँकाक्षाहरुलाई कविताहरूले साँचेका देखिन्छन् । कुरुपताहरुलाई मास्न चाहेका छन् । समृद्धिको लागि पहल गरेका छन् । सबैभन्दा ठुलो कुरा आफ्नै वरपरका बिम्बहरूलाई टिपेका छन् । अनि त्यसैबाट आफ्नोपनको जोडदार वकालत गरेका छन् । वर्गीय असमानता त्यसले तय गरेको दुरीलाई नाप्दै समयको रफ्तारमा त्यसलाई जोखेका र खोजेका छन् । सानो सपनाको लागि बिदेसिनु पर्ने आम नेपाली युवाहरूको नियति र विश्वव्यापीकरणले हाइब्रिडको नाममा स्थानीय उत्पादनमा गरेको प्रहारसँगै त्यसले निम्त्याएको चरम परनिर्भरतालाई कविताहरूमा टिपेका छन् ।

कविताहरू पढ्दा झर्को लाग्दैन बरु कवितासँगै निरन्तर बग्न मन लाग्छ । कारण कविताहरूमा म, तिमी,उ, तपाई अनि हामी सबै अटाएका छन् । हामी बिचको गुनासो र संस्कृतिको साँधलाई महसुस गरेका छन् । समाज दूषित बनाउने अपराधीहरूलाई ठम्याएका छन् । यस अर्थमा स्रष्टा हुनुको चेतलाई कविताहरूले जगाएका छन् । अतः अवयव, विचार र भावनाका उच्छावासहरु कविताहरूमा छचल्किएका छन् । भाव पक्षको बलियोपन प्रस्तुत कविता सङ्ग्रहको विशेषता मान्न सकिन्छ । यति भएर पनि कविताहरू वरिपरिमा मात्र सीमित देखिन्छन् । अलिकति टाढा जाने साहस गरेको भए अझ विविधता थपिने थियो । केही कविताहरूमा समान भावको आशय झल्किन्छन् । शायद यति बलियो कविता लेख्नेबाट अझ ठुलो आशा गरेँ ।

फुटकर रचनाका साथ नेपाली र तामाङ साहित्यको काव्य विधामा दरिलो पकड बनाइ बिकी सकेकी कवयित्री बिना तामाङ ‘सुनगाभा’ को यस अघि छुकी कथासङ्ग्रह २०६९ प्रकाशित भइसकेको छ । तामाङ भाषामा पनि राम्रो दक्खल राख्ने सुनगाभाको प्रस्तुत रातो घर कविता सङ्ग्रह प्रकाशनको हिसाबले दोस्रो कृति हो । यो नेपाली र तामाङ दुवै भाषामा रहेका छन् । यसले तामाङ बिम्बलाई मूलधारबाट बुझ्न बुझाउन मद्दत गर्नेछ । यस पछि कवयित्रीको याम्बुनेर कथा सङ्ग्रह तेस्रो कृतिको रूपमा प्रकाशनमा आइसकेको छ । भाषिक र सांस्कृतिक चेतको बिम्बले पछिल्लो समय नेपाली साहित्यलाई जुन उचाइतिर डोर्‍याउँदै छ । त्यसमा एउटा महत्त्वपूर्ण इट्टा थप्ने कार्य कवयित्री सुनगाभाको प्रस्तुत कविता सङ्ग्रह रातो घर ले गर्ने कुरामा विश्वस्त हुन सकिन्छ ।

तपाईको प्रतिक्रिया