रसुवाको गोसाईंकुण्ड गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० का लागि बजेट ३९ करोड १६ लाख ३० हजार रूपैयाँ पारित गरी शिक्षा स्वास्थ्य,पूर्वाधार लगायत पर्यटन क्षेत्र लाई प्राथमिकता दिइएको छ ।
शुक्रवार ११ औं गाउँ सभामा पालिका उपाध्यक्ष प्रतिमा तामाङलेनीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास,पर्यटन, कृषि, सामाजिक विकास लगायत विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको जानकारी दिइन् ।
बजेटतर्फ सामाजिक विकास तर्फ १६ करोड ४९ लाख २३ हजार ८ सय २० रुपैयाँ,आर्थिक विकास तर्फ ३ करोड ७२ लाख, पूर्वाधार विकासतर्फ ९ करोड ३६ लाख ८८ हजार बजेट विनियोजन गरेका छन् ।
यस्तै सुशासन तथा अन्य सम्बन्धित क्षेत्रतर्फ २९ लाख ६२ हजार र कार्यालय सञ्चालन तथा प्रशासन तर्फ ९ करोड २८ लाख ५६ हजार १ सय ८० बजेट विनियोजन गरिएको बताइएको छ ।
यस वर्ष सबैभन्दा बढी शिक्षामा ८ करोड ९३ लाख ६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यसपछि ४ करोड ३१ लाख ५० हजार रुपैयाँ स्वास्थ्यमा बजेट विनियोजन गरिएको छ ।
धुन्चे गोसाईंकुण्ड केबलकार निर्माणको लागि गर्नुपर्ने प्रारम्भिक कार्य लगायत संघीय नीतिगत निर्णय र आवश्यक कार्य विधि निर्माण र कार्यान्वयन गराउन सरोकारवालासँग छलफल गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
यसैगरी गाउँपालिका भरिका १०० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक सम्मानको अवसरमा सार्वजनिक रूपमा सम्मान गरिने लगायतका विविध विषयहरूलाई प्राथमिकता दिइएको अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए ।