तामाङ सेलो ब्याटल गीत हालै सार्वजनिक भएको छ । करिब एक हप्ताअघि हाइलाइट नेपालबाट सार्वजनिक भएका गीतले बिस्तारै ट्रेन्डिङको यात्रा अघि बढिरहेका छन् ।
उक्त गीतमा लनम तामाङ र जितु लोप्चनको स्वर रहेका छन् भने उनीहरू लगायत टिमले भिडियो तयार गरेका हुन् ।
भिडियोको विषयसँग सम्बन्धित रहेर सैलुङअनलाइनको मनोरञ्जन संवादमा गायक एवं मोडल लनम तामाङ‚ सागर घिसिङ र रचनाकार सुशील तामाङसँग कुराकानी गरेका छौँ ।
संवादमा गीतकार सुशीलले भने‚‘मैले लेखेका शब्दमा कही कतै छाडापन छैन बरु बाउबाजेको पालादेखि चल्दै आएको तामाङ सेलोमा जुहारीलाई अहिलेको समयअनुसार प्रस्तुत गरेको हो ।’ गीतमा बढी ग्ल्यामरस र छाडापन नरहेको गीतकार तामाङले जानकारी दिए । गीतमा प्रयोग भएका शब्दहरू हामीले बोलिरहने‚ सुनिरहेको शब्द र खासै समाजमा नकारात्मक प्रभाव नपर्ने हुँदा ब्याटल गीतले मागेको शब्द प्रयोग भएको बताए ।
यस्तै गायक लनमले अडियो एक वर्ष अगाडि तयार गरेको र भिडियोलाई कसरी प्रस्तुत गर्ने ? भनेर अहिलेको समय अनुसार नयाँ तरिकाले तयार पारेको जानकारी दिए। पुरानो तामाङ गीतसङ्गीतलाई सम्मान गर्दै नयाँपन दिँदै अगाडि लानुपर्ने उनको भनाइ थियो ।
तामाङ ब्याटल गीतको प्रतिक्रिया सकारात्मक आएको छ । गायक तामाङले भने‚‘आजको दिनसम्म धेरै तामाङ गीतसङ्गीत आएसँगै नयाँ मिठास थप्न तामाङ ब्याटल ल्याएको हो‚’ ।
तामाङ ब्याटल गीतबाट कुनै पनि नकारात्मक सन्देश नजाने निर्माण टिमले बताएका छन् ।
तामाङ ब्याटल तामाङ भाषामा प्रस्तुत गर्दा तामाङ भाषाको महत्त्व बढ्ने नायक सागर घिसिङले बताए । गीत सुपरहिट र केही दिनमै ट्रेन्डिङमा पर्न सफल भएको छ‚ उनले भने‚ ‘दर्शकहरूको प्रतिक्रिया पनि राम्रो आएको छ । गीतलाई नाच गीतमा ल्याउने कुरालाई परिवर्तन गरी ब्याटलको रूपमा ल्याइएको हो ।’
तामाङ ब्याटल गीत सफल हुन शब्द सङ्गीत साथै टिमको हात रहेको उनीहरूले बताएका छन् ।
गीतको शब्द सङ्गीत सुशील तामाङ र सङ्गीत संयोजन उर्गेन दोङले गरेका छन् ।
त्यस्तै भिडियोको निर्देशन अजय स्याङ्तान र छायाङ्कन विक्रम मोक्तानले गरेका हुन् ।