तनहुँको मगर गाउँ मिछुर्लुङ पर्यटकको पर्खाइमा

दुर्गा रानामगर स‌चारकर्मी
21 Shares
पोखरा

भीममाया मर्साङ्गी मगर ९५५० बिहानै अगेनाको छेउमा कोदोको रोटी पकाउँदै थिइन् । त्यो गाउँमा आएका पर्यटकका लागि बिहानी खाजा (ब्रेकफास्ट) को तयारी थियो ।

सधैँ नै, मिछुर्लुङ पुग्ने पर्यटकका लागि गाउँमै उत्पादित अर्ग्यानिक खानाले स्वागत गरिन्छ । कोदोको रोटी, गोलभेँडाको अचार, मासको बारा, ढिँडो, सिस्नु, गुन्द्रुक, मौसमी तरकारीसँगै लोकल मासु होमस्टेको खाजारखानाको परिकार हो । मिछुर्लुङमा अतिथिका लागि विशेष सांस्कृतिक कार्यक्रम अन्तर्गत मगर समुदायको कौरा र नचरी नाच पनि प्रदर्शन हुन्छ । लोप हुने अवस्थामा रहेको कौरा नाचलाई संरक्षण र प्रवर्द्धन गरिनुपर्ने मिछुर्लुङ सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र थापा मगरको भनाइ छ ।

“कौरा नाचलाई संरक्षण गर्नका लागि नै नयाँ पुस्ताका नानीहरूलाई पनि सिकाएका छौँ । मगर जातिको सांस्कृतिक नाचलाई जगेर्ना गर्नुपर्ने आवश्यकता छ,” मगरको भनाइ छ ।

कहाँ पर्छ मगर गाउँ मिछुर्लुङ

तनहुँको भिमाद नगरपालिका वडा नं ५ मा पर्छ प्रख्यात मगर गाउँ मिछुर्लुङ । तनहुँ खैरेनीटारबाट करिब १२ किमीको दूरीमा भिमाद हुँदै मिछुर्लुङ गाउँ पुग्न सकिन्छ । मिछुर्लुङ गाउँमा ७२ घर रहेका छन् । जसमा ११ घर दलित र बाँकी मगर समुदायको छ । मिछुर्लुङ गाउँको विशेषता नै यहाँबाट देखिने लोभलाग्दो हिमशृङ्खला र मगर संस्कृति हो। मिछुर्लुङ मगर भाषाबाट आएको शब्द हो । जसको अर्थ चामल र ढुङ्गा रहेको छ। मिछुर्लुङमा चामल जत्रा ससाना ढुङ्गाहरू पाइने भएकाले यसलाई पुर्खाहरूले मिछुर्लुङ नाम दिएका रहेछन् ।

पर्यटकको पर्खाइमा सामुदायिक होमस्टे

ग्रामीण पर्यटनको मुख्य आधार सामुदायिक होमस्टे नै हो । नेपालभर ५ सय भन्दा बढी गाउँमा सामुदायिक होमस्टे सञ्चालित छन् । तिनैमध्येको एक गाउँ हो मिछुर्लुङ ।

मिछुर्लुङ गाउँको पर्यटन प्रवर्द्धनका लागि यहाँको समुदायले २०७२ सालमा ग्रामीण घरबास कार्यक्रम ९होमस्टे० सञ्चालनमा ल्याएका थिए । उक्त सामुदायिक होमस्टेको स्थापनापछि गाउँमा आन्तरिक पर्यटकको चहलपहल बढेको थियो । जुन गाउँलेको लागि आयस्रोतको बाटो पनि बनेको थियो। खेतबारीको काम सँगै गाउँले पर्यटकको स्वागत सत्कारमा पनि व्यस्त हुन थालेका थिए तर कोभिड महामारीले गाउँमा पर्यटक आउन सकेनन् । जसको प्रभाव अहिलेसम्म मिछुर्लुङलाई परेको छ ।

दिनहुँ पर्यटक आइरहने ठाउँमा विगतका दुई वर्षमा पर्यटक नै आएनन्। अहिले मिछुर्लुङमा फाट्टफुट्ट केही आन्तरिक पर्यटक आउने गर्छन् । हाल १९ घरमा मात्र होमस्टे सञ्चालनमा रहेको छ ।

४९ वर्षीया देउमाया राना मगरलाई गाउँमा पर्यटकलाई स्वागत गर्न पाउँदा खुसी लाग्छ तर अहिले कोभिडले पारेको असरले उनीलाई दुःखी पनि बनाएको छ । उनी भन्छिन्, “कोभिडले गर्दा गाउँमा कोही आउन सकेनन् । अब बिस्तारै आउँछन् कि १”

मिछुर्लुङ गाउँमा अधिकांश युवा विदेशिएका छन् । होमस्टेको सञ्चालन आमाबाबाहरूले नै गर्दै आएका छन् । होमस्टे सञ्चालिका जानुका थापा मगरलाई होमस्टेले गाउँको विकास हुन्छ भन्ने लाग्छ । उनी भन्छिन्, “होमस्टेबाट नुन तेलको पैसा आएको छ। जति पर्यटक गाउँमा आउँछन् त्यसले नै त गाउँको विकास हुने हो ।”

होमस्टेमा अहिले प्याकेजमा खाजा, बेलुकीको खाना, ब्रेकफास्ट र बेड गरेर प्रति व्यक्ति रु १ हजार रुपैयाँ लिने गरिएको छ । होमस्टेको प्रवर्द्धनका लागि मिछुर्लुङमा रहेको सिर्जना आमा समूह सक्रिय रहेको छ ।

यस्तै मिछुर्लुङ गाउँ घर भई हाल विदेशमा रहेका युवाहरूले आफ्नो गाउँमा पर्यटकलाई लोभ्याउन भ्यु टावर निर्माण गरेका छन् । यसै वर्ष मात्र सम्पन्न भएको टावर निर्माणका लागि ३८ लाख खर्च गरिएको छ । सरकारी निकायको सहयोग बिना नै बनेको टावरले पर्यटकलाई आकर्षित गर्नेमा स्थानीय उत्तिकै विश्वस्त छन् ।

सम्भावना प्रशस्त तर पूर्वाधारको कमी

पर्यटन प्रवर्द्धनको क्षेत्रमा काम गरिरहनुभएको पर्यटनविद् हरिसिंह गुरुङ गाउँको आर्थिक विकासका लागि पर्यटनको विकास हुनुपर्ने आवश्यकता औँल्याउँछन्। उनले मिछुर्लुङ शान्त र मगर संस्कृतिले भरिपूर्ण रहेको हुँदा अब गाउँमा आवश्यक पूर्वाधार निर्माणतर्फ ध्यान दिनुपर्ने बताए । उनी भन्छन्, “गाउँको विकासको बाटो नै पर्यटन हो। पर्यटकीय क्षेत्र भएर फस्टाउँदै गएपछि नै जीवनस्तर सुध्रँदै जाने हो। त्यसैले पनि मगर समुदायको बाहुल्यता रहेको तनहुँलाई मगर संस्कृति बुझ्ने पर्यटकीय थलो बनाउनु आवश्यक छ।”

यसका साथै गुरुङले ग्रामीण पर्यटनको विकासका लागि गाउँ र यसको सेरोफेरोमा पर्यटकीय क्रियाकलाप पनि प्रशस्त हुनुपर्ने समेत उनले बताए ।

भिमाद नगरपालिका वडा नं ५ का वडा अध्यक्ष पदमबहादुर थापा मगरले मिछुर्लुङ गाउँ पर्यटकीय हिसाबले सम्भावना बोकेको गाउँ रहेको भन्दै यसको प्रचारप्रसार अझै गरिनुपर्ने बताए । उनले मिछुर्लुङ गाउँमा हाल प्रशस्त पानी र पुग्नका लागि बाटोको समस्या रहेको जानकारी दिए । बाटो मर्मत कार्यका कारणले भिमादबाट मिछुर्लुङ पुग्न हाल साँघुरो वैकल्पिक मार्गको प्रयोग गरिएको छ ।

“गाउँमा पर्यटक ल्याउनका लागि अहिले बाटोको समस्या भइरहेको छ। यसका लागि सम्बन्धित ठाउँमा कुरा पुर्‍याइएको भएपनि अझै ध्यान पुगेको छैन,” उनी भन्छन् ।

आइएनएस-स्वतन्त्र समाचार

तपाईको प्रतिक्रिया

पत्रपत्रिका