अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा घोषणा (भिडियो)

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
42 Shares
काठमाडौं

अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा घोषणा गरेको छ । प्रतिनिधिसभाको बुधवार बसेको बैठकमा सार्वजनिक महत्त्वको विषयमा बोल्ने क्रममा अर्थमन्त्री शर्माले आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

छानबिन समितिलाई काम गर्न सहजता प्रदान गर्न राजीनामा दिएको जानकारी दिँदै उनले छानबिन समिति गठनको स्वागत गर्दै  समितिको प्रतिवेदन स्वीकार्य रहने पनि बताए । एमालेसहितका सांसदले अर्थमन्त्रीको राजीनामा माग्दै आएका थिए । अर्थमन्त्री शर्माले राजीनामा नदिएको भन्दै बुधवारकै प्रतिनिधिसभाको बैठक एमालेले बहिस्कार गरेको थियो ।

अर्थमन्त्री शर्माले बजेट निर्माणको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएको बारेमा आफूलाई जानकारी नभएको बताएका हुन् । ‘मैले सिसिटिभीको फुटेज डिलिट गरेको छैन । यसको ज्ञान पनि छैन मसँग,’ उनले भने, ‘यो प्राविधिक कुरा हो, प्राविधिकले जान्ने विषय हो । गलत प्रचार गरियो ।’

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नु अघिल्लो दिन २४ जेठ मध्यराति अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप अर्थमन्त्री शर्मामाथि लागिरहेको छ । पछिल्लो १३ दिनको मात्र फुटेज रहने र बाँकी आफैँ मेटिँदै जाने अर्थ मन्त्रालयले बताएपछि नियोजित रूपमा डिलिट गरिएको आरोप पनि अर्थमन्त्री शर्मामाथि लागेको छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको भन्दै अर्थमन्त्रीमाथि सार्वजनिक रुपमा प्रश्न उठेको छ ।

एमालेको माग बमोजिम आजै अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति गठन भएको थियो ।

संसदीय छानबिन विशेष समितिमा विभिन्न दलका तर्फबाट रहेका सांसदहरूमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्ममणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सीताराम महतो र सुरेन्द्र प्रसाद यादव रहेका छन् । समितिलाई १० दिनको समय दिइएको छ ।

अर्थमन्त्री शर्माको भाषण एमालेद्वारा बहिस्कार

नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको मन्तव्य नसुनी प्रमुख प्रतिपक्ष दलले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ ।

बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्माले राजीनामा नदिएको भन्दै एमालेले संसद् बैठक बहिस्कार गरेका हुन् ।

एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्री शर्मामाथि छानबिन गर्नका लागि समिति बनाई सकेकाले भन्दै रोष्ट्रममा उभिएर धारणा राख्न नपाउने बताए । ‘अर्थमन्त्रीमाथि संसदीय छानबिन समितिमा बनेको छ, संसदीय छानबिन परेको व्यक्तिले कि त राजीनामा दिनुपर्छ कि त बर्खास्त गर्नुपर्छ । तर, यहाँ मन्तव्य दिन बोलाइएको छ, यो मान्य हुने छैन ।’ एमालेले बहिस्कार गरे पनि अर्थमन्त्री शर्माले भने संसद् बैठकमा धारणा राखिरहेका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका