छाउ अर्थात् स्त्रीको रजस्वला अवस्था वा धर्म। पडी अर्थात् भएकी वा सानो (साँघुरो) घर। रजस्वला भएकी महिलालाई पश्चिमी नेपालमा छाउपडी भनिन्छ। छाउपडीलाई धर्म र परम्परासँग जोडेर अनेक गैरवैज्ञानिक चिन्तन र अन्धविश्वास व्याप्त छ। छाउपडी प्रथाले कसरी महिलाहरूलाई अशक्त पारिरहेको छ भन्ने आँखोदेखा हाल हामीले कालिकोट, बझाङ, बाजुरा, अछाम, मुगु, कैलाली र कञ्चनपुरको भ्रमण गरेर थाहा पायौँ। स्थानीय महिलाको दयनीय अवस्थालाई नजिकबाट नियाल्यौँ। एक महिलाको नाताले आफूलाई त्यहाँ उभ्याएर कल्पना गर्यौँ र समस्यालाई अनुभूत गर्यौँ।
मनमा अनेक तर्कना चलेपछि स्थानीय धार्मिक गुरुहरूसँग पनि महिनावारीको बारेमा छलफल गर्यौँ। त्यहाँका पुरुषहरूले यो समस्यालाई कसरी बुझेका छन् रु राजनीतिक दलका नेताहरूले यसलाई मुद्दा बनाएका छन् कि छैनन् रु यस्तै विविध प्रश्नमा केन्द्रित रहेर एउटा पुस्तिका निकाल्ने जमर्को गरेकाले त्यो भ्रमणमा सहभागी भएका थियौँ। यो सबै प्रयास महिनावारीबारे कति भ्रम र अवैज्ञानिक तथ्यहरू रहेछन् भनेर खोजी गर्ने उद्देश्यले गरिएको थियो।
अछामका एक पुजारीले भनेका वेला मैले टिपेको एउटा श्लोक यहाँ उल्लेख गर्छु– “प्रथमेहनि चाण्डाली, द्वितीय ब्रम्हाघातिनी, तृतीय रजकी पोकतस् चतुर्थेहनी शुद्धयति” यसमा केही अशुद्धि पनि हुन सक्छन्, त्यो मेरो विषय होइन तर उनले त्यो श्लोकलाई यसरी अर्थ्याएका थिए। त्यो भने सुनाउनुपर्ने खालको छ। अर्थात् महिनावारीको पहिलो दिनकी महिला अति दुष्ट वा क्रूर कर्म गर्ने जातकि चण्डाल्नी झैँ घृणित हुन्छे। महिनावारिको दोस्रो दिनकी महिलालाई ब्रह्महत्या गरे सरहकी अपराधी भनिएको छ भने तेस्रो दिनमा नुहाएकी रजोवती महिला धोबीनी सरह मानिन्छे। चौथौँ दिन नुहाइधुवाई गरी चोखो कपडा लगाएर गाईको गहुँत खाएपछि शुद्ध हुन्छिन्।” यो एउटा समाजको प्रतिनिधिमूलक सोच हो। यसका बारेमा हरेकले आआफ्ना धारणा राख्न सक्छन् तर त्यो कति विज्ञानपरक छ भन्ने चाहिँ चासोको विषय हो।
यस्तै विचारहरूको बाहुल्य भएका कारणले नै विशेष गरी सुदूरपश्चिम र कर्णालीका महिलालाई रजस्वला भएका बेला गोठमा राखिन्छ र उनीहरू पनि यस्तो अमानवीय प्रचलनलाई चुपचाप अवलम्बन गरिरहेका छन्। यसको प्रतिरोध गर्दै यो त जैविक र प्राकृतिक प्रक्रिया हो भनेर अझै बुझाउन सकिएको छैन। मानिसले मानिसलाई नै होच्याउने र हेयभाव राख्ने यस्ता गलत व्यवहार र प्रचलनलाई खुलेर विरोध गर्न सक्ने प्रशस्त महिलाहरू उभ्याउन सकिएको छैन।
छाउपडी भन्ने शब्दको उत्पत्तिको बारेमा छलफल गर्दा के थाहा भयो भने सुदूरपश्चिम र मध्यपश्चिममा महिनावारीलाई छाउरछुइ भन्ने चलन छ। महिनावारी भएका बेलामा बस्न बनाइएको सानो घरलाई पडी वा कुडी भन्ने चलन पनि छ। छाउ ९महिनावारी० भएकी महिला यसरी घर ९पडी० मा बस्ने सामाजिक चलनलाई छाउपडी भनिएको रहेछ तर कतिपय ठाउँमा गाई वस्तु बाँध्ने ठाउँमै महिलालाई राखिने चलन पनि छ।
मुगु पुगेपछि घरको मुन्तिर गाईरभैँसीलाई बाँध्ने ठाउँमै महिनावारी भएकी महिलालाई राखिएको पनि देखियो। सुदूरपश्चिमका जिल्लाहरूमा चाहिँ गाई गोठमा राख्ने चलनमा धेरै कमी आएको रहेछ। त्यहाँका महिनावारी सुकिसकेका महिलाहरूसँग कुरा गर्दा भने उनीहरूले दुखेसो पोखेका थिए– ‘हामीलाई त गाईबस्तु सरह नै गोठमा राख्थे। रातभरि गोबरबाट बच्न खुम्चिएर बस्नु पर्थ्यो विशेष गरी जाडोका बेलामा त मरितुल्य झैँ लाग्थ्यो। घरका मानिसहरू बरु गाई भैँसीलाई चिसो नलागोस् भनेर विचार गर्थे तर हामीलाई त सिरक फोहोर हुन्छ भनेर एउटा पातलो ओढ्ने मात्र दिन्थे। अहिले कतिपय ठाउँमा गाई गोठमा राख्दैनन्, घर नजिक बनेको छाउपडीमा राख्छन्। छाउपडीको ढोका लगाएपछि केही त तातो हुन्थ्यो।’
यसबाट बुझ्न सकिन्छ– गाई भैँसीसँग गोठमा बस्न नपरेर छाउपडीमा ढोका लगाएर बस्ने अवस्था आउनुलाई सुदूरपश्चिममा विकास मान्ने अवस्था आएको पाइयो।
त्यसरी नै छाउपडीमा ढोका लगाएर बस्दा अछाम रिडीकोट कि शर्मिला भुलको मृत्यु भयो। स्वाभाविक छ त्यो सानो कोठामा हावा खेल्ने त के पस्नेसम्म ठाउँ नहुँदा त्यहाँ अक्सिजनको कमी भएको थियो। कालीकोटको गेलामा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भइन्। प्राकृतिक रूपले अशक्त भएका वेला एक्लै भेटेर तिनलाई ङ्याकियो।
त्यस्तै बझाङको रिठापाडामा १८ वर्षीय दिवेर दिव्येशरीको सर्पले टोकेर मृत्यु भयो। चिसो र अँध्यारो कोठामा पराल राखेर न्यानो बनाउने प्रयत्न गरिएको थियो तर त्यही छाउगोठमा बस्दा सर्पले घाँटीमा डसेपछि दिव्येसरि चिच्याइन्। घरकाले थाहा पाएर ३ कि।मी। टाढा रहेको अस्पतालमा लैजाँदा लैजाँदै बाटैमा उनको मृत्यु भयो। यस्ता दर्दनाक घटनाहरू अध्ययनको क्रममा हामीले गौँडैपिच्छे सुन्यौँ।
यस सम्बन्धमा नेपालको सर्वोच्च अदालतले एउटा फैसला गरेको रहेछ। २०६७ साल वैशाख १९ गते गरिएको उक्त फैसलामा ‘महिलालाई छाउपडी गोठमा पठाउने प्रयासलाई कुरीति घोषणा गरी स्वास्थ्य मन्त्रालयले चिकित्सकहरू समेत भएको एक अध्ययन समिति बनाइ यस प्रथाबाट महिला र बालबालिकामा पर्ने असर र समाधानको उपाय पहिचान गर्नुपर्ने’ भनेर उल्लेख गरिएको छ। कागजमा लेखिएका यी शब्दले कार्यान्वयन हुने सौभाग्य कहिले पाउला भनेर धेरैबेर मन दुःखी भइरह्यो।
मानिसले मानिसलाई नै गरेको अमानवीय कार्यले अझै धेरै महिलाहरू पीडित भइरहेकै छन्। यस क्रममा हामीले महिला र किशोरीहरूको प्रजनन र मानसिक स्वास्थ्यमा के असर पर्छ होला भनेर सुदूरपश्चिम र मध्य पश्चिमका स्वास्थ्यकर्मीलाई पनि सोधेका थियौँ। उनीहरूले दिएको उत्तर यस्तो थियो – ‘खोइ त्यस्तो समस्या लिएर त कोही आएका छैनन्, छाउपडीमा बसेकै कारणबाट महिलाहरूको स्वास्थ्यमा खासै असर परेको छैन।’
एक जना वृद्धा महिलाले सुदूर पश्चिम भ्रमणकै क्रममा भनेकी थिइन्– ‘मलाई त छाउ हुने बेला आएपछि पिर पर्न थाल्थ्यो। वर्षाको बेलामा त कुन गोठ चुहिँदैन भनेर खोज्नु पर्थ्यो। गाउँका धेरै महिला एकै चोटि छाउ हुँदा त गोठमा पनि बस्न गार्हो हुन्थ्यो। चुहिने गोठमा बस्नु परेका बेला घरका मानिससँग छाता माग्दा उनीहरूले ‘तिमी छाउपडीलाई छाता चाहिने रु’ भनेर हप्काउँथे। जाडो र वर्षामा छाउ भएका वेला धोएको लुगा सुक्न कठिन हुन्थ्यो। त्यस्ता वेलामा घरका मानिससँग सुकेको लुगा माग्दा ‘तिमी छाउपडीलाई किन सुकेको लुगा चाहिने रु’– भन्थे। धेरै जना महिला एकै ठाउँमा बस्दा खुट्टा तन्काउने ठाउँ पनि हुँदैनथ्यो। एकचोटी छाउ भएको बेला बारीमा बसेर घरबाट ल्याएको खाना खाँदै थिएँ, बेस्सरी पानी पर्यो। थालभरि पानी भयो। त्यो दिन गोठमा पानीले भिज्दै भोकै सुत्नुपर्यो।’