‘जीवन त कर्कलाको पातमा जमेको बिन्दु जस्तै रहेछ । यो दुई दिनको जस्तो लाग्छ । आज गफिरहेका हुन्छौँ । भोलि के होला कसलाई के थाहा ? त्यसैले झगडा गर्न वा झूट बोल्न नहुने रहेछ ।’ (पेज ३२६-३२७) सुन्दा सामान्य लाग्ने तर गामेर बुझ्दा यो वाक्यभित्र सग्लो जीवन दर्शन छ । जीवनप्रतिको यो गहन बुझाइ चौरासी वर्षीय दावाफिन्जो तामाङको हो । यिनै बुझाइको गर्तमा रसुवा जिल्लाकै बहुआयामिक सार्वजनिक व्यक्तिको निजी जीवन कथालाई उप्काएका छन् पुस्तक ‘दावाफिन्जो तामाङ भेडी गोठदेखि राष्ट्रिय पञ्चायतसम्म’ मा । पुस्तकलाई ताम्सालिङ नलेज सेन्टर काठमाडौँले प्रकाशन गरेको हो भने जीवन कथालाई लेखक खोजराज गोले र पेमा मोक्तान तामाङले शब्दमा उतारेका छन् ।
वि.स. १९९४ साल साउन ४ गते रसुवा जिल्लाको गोसाईंकुण्ड जाने बाटोमा पर्ने च्योलखर्कको थुम्को जसलाई कतिले हिमगिरी, गन्धमन्दन पर्वत तथा देवभूमि पनि भन्ने गर्दछन् । त्यही थुम्कोमा तामाङ राष्ट्रको ब्लोन वंशमा बालकको जन्म हुन्छ । सोमबारको दिन भएकोले बालकको नाम जुर्छ दावा । तिनै दावा लाप्तबासम्बन्धी कक्षा, बाल्यकालका साथीहरूसँग खेल्दै, हजुरबुबा र बुबाको झगडा सुन्दै हुर्कन्छ । हजुरबुबाको निधनसँगै बाल्यकालमै गोठालो अनुभूति सँगालेर हलक्क बढ्छ र किशोरावस्थामा उकाल्छ । तिनै दावा दावाफिन्जो तामाङ बन्दछ । जीवनमा उमेर अनुसारको भोग हुन्छ । त्यो भोगाइको परिधिलाई समयसँग पोख्दै जोख्दै जीवन निरन्तर अघि बढ्छ । दावाफिन्जो तामाङले आफन्तको आवाजभन्दा बढी चौंंरीका आवाज सुन्छ । मान्छेलाईभन्दा चौंरीलाई देख्छ र चिन्छ । चौँरीको काँचो दूध अनि घिउको मगमग वासना र स्वादमा रमाउँछ । बाल्यकालमा मासु र दही दूधको अम्ली दावाफिन्जोलाई झारल घोरल अनि डाँफेको मासु बेसमारी मनपथ्र्याे । प्राकृतिक जीवनमा कृतिमताको कतै लेस लाग्दैन । हजुरबुबाको कपडाको फेर समातेर खर्कको तुसारो र हिउँमा खाली गोडाले भेडाको बथानलाई आवाज दिँदै जन्मले नै चौँरी गोठालो बनेको प्रसङ्ग पढ्दै गर्दा आनन्द लाग्ने विगतलाई पुस्तकमा मार्मिक तवरले प्रस्तुत गरिएको छ ।
हिमाली जिल्ला रसुवाको चौँरी खर्कमा जन्मेका दावाफिन्जो तामाङले खाली गोडाले हिउँ र तुषारोमा टेक्दा आउने आवाजसँग लय मिलाउँदै चौँरी र भेडीगोठहरुको दुरीलाई इन्ची इन्चीमा नाप्दै उमेर अनुसारको चुनौतीलाई पार गर्दा प्राप्त गरेको जीवनवृत्तिको रोमाञ्चक एवं प्रेरणादायी जीवन कथालाई पुस्तकका हरफहरूमा उनिएको छ ।
दावाफिन्जोको घरमा खानको लागि अन्न पानीको कमी थिएन । घरमै गुरु राखेर प्रारम्भिक शिक्षा लिने कार्यको सुरुवात भयो । हिजोआज नयाँ उखान बनेको छ । पहिले पढ्न नपाएर पछि परिन्थ्यो अहिले पढेर पछि परिन्छ । तर त्यो समयमा पढ्न पाउनु सानो कुरा थिएन । यसले दावाफिन्जोको पारिवारिक र सामाजिक हैसियतको आङ्कलन गर्न सकिन्छ । तमसुक, भर्पाई, विन्तिपत्र साथै मुद्दा मामिलाका म्याथ थमाउने निवेदन आदि लेख्न भने पाँच वर्ष लगाएर टङ्कप्रसाद खतिवडा गुरुबाट सिके । यति बेलासम्म दावाफिन्जो अठार बर्सको लक्का जवान भइसकेको थियो । ठुलो भार्कुकी चेङायङ्जेन थोक्रासँग विवाहको कुरा छिने लगत्तै फागुन महिनामा धूमधामसँग विवाह सम्पन्न भयो । दावाफिन्जोलाई विवाहपछि अङ्ग्रेजी त पढ्नै पर्छ भन्ने हुटहुटी जागेर आयो । अङ्ग्रेजी पढ्नकै लागि साथीहरूसँग नुवाकोटतिर झर्नु भयो तर गुरुले काममा धेरै कजाउने थालेपछि उहाँ त्यहाँ टिक्न सकेन । पन्ध्र दिन पढेर त्यहाँबाट भागेको रमाइलो प्रसङ्गलाई पुस्तकमा सविस्तार चर्चा गरेका छन् ।
कहिले पाटी, कहिले रुखको फेद, कहिले पहरोको फेदमा त कहिले ओडारमा बास बस्दै सात दिन लगाएर दावाफिन्जो बौद्ध दर्शनको लागि बाबुआमा सहित आएका गाउँलेको हुलमा मिसिदैं पहिलो पटक काठमाडौँमा उत्रिए । त्यति बेला देखिएका सादृश्य र अनुभवलाई पुस्तकका हरफहरूमा मिहिन ढङ्गले प्रस्तुत गरेका छन् । त्यसैताका भारतका नेता जवाहरलाल नेहरु नेपाल भ्रमण आएका थिए ।
दावाफिन्जोल लामो नाक भएको ती विशेष व्यक्ति भनिने नेहरुलाई नजिकबाट नियाले । राजनीतिक व्यक्तित्वहरूको त्यो ठाँट देखेर दावाफिन्जोभित्र राजनीतिक कर्म चेतको विजापोरण गर्न सहयोग पुग्यो । त्यही राजनीतिको बीज आफ्नै जिल्लामा बिस्तारै फलको रूपमा डाक्टर केआइसिंहको पार्टी हुँदै युवक सङ्गठनको सभापति बन्न पुग्यो । वि.स. २०१७ सालमा राजा महेन्द्रले ‘कू’ गर्यो । त्यसपछि दावाफिन्जोको राजनीतिक यात्राले नयाँ उचाइको उडान भर्दै गयो । दावाफिन्जोभित्र भएको निस्वार्थ समाजसेवा भाव राजनीतिक चेत र व्यक्तिगत योग्यताले यो कर्मलाई बलियोसँग अघि बढ्न सघायो । जिल्ला पञ्चायतको सदस्य, कार्यबाहक सभापति जिल्ला सभापति हुँदै देशको सर्वोच्च संस्था राष्ट्रिय पञ्चायतको दोस्रो ठुलो उपाध्यक्ष जस्तो गरिमामय पदमा पुग्न सफल हुनु भयो ।
यो अवधिमा जिल्लाको सीमाङ्कन, जिल्लामा पहिलो बजेट, तत्कालीन राजपरिवारसँगको सम्बन्ध, तिब्बतीसँगको खर्क विवाद र समाधान, हिन्दुसँगको टकराब, खाम्पा र विद्रोह, खनियावास विद्रोह, सवारीका प्रसङ्ग लगायत जिल्लाभित्र भए गरेका राजनीतिक घटनाक्रमको फेहरिस्तलाई पुस्तकको खण्ड तीनमा राजनीतिक जीवनको मूल शीर्षकको उपशीर्षकभित्र विस्तृत रूपमा अघि सारिएको छ । त्यसै गरी खण्ड चारमा जिल्लाको विकास योजना तर्जुमा र त्यसको कार्यान्वयनमा भए गरेका विषयहरूलाई अघि सारिएको छ । यस खण्डमा रसुवा जिल्लाको समग्र विकास जस्तै शैक्षिक क्षेत्र र सुरुवाती पाइला, बाटो पूल आदिको निर्माण, सिँचाइ, खानेपानी योजना, कृषि, पशुपालन, चीज फ्याक्ट्री स्थापना, अस्पतालको स्थापना, पर्यटन क्षेत्रको संरक्षण, वनस्पति आदिमा दावाफिन्जो तामाङले खेलेको अग्रणिभूमिकाको विषयलाई वर्णन गरिएको छ । सिकारको अनुभव र सामाजिक सांस्कृतिक जीवनसँग गाँसिएका पर्व विशेष पूजाहरू, झ्योहोहरुका लडाइँ कहानी, गोलेबोम्बो र भैरवकुण्डको नागबिच लडाइँ, बिमारी, भाकल र बलिप्रथा, धार्मिक स्थल तथा मेलासँगको सम्बन्ध, धर्म, देवता र लोक, परलोकप्रतिको विश्वास, मान पदवी तथा पदकहरू, सामाजिक सम्मान लगायत जीवनको विविध अनुभूतिलाई पुस्तकको क्रमशः पाँच, छ र सात खण्डमा समेटिएको छ ।
हरेक जीवनका आआफ्नै चुनौतीहरू हुन्छन् । चुनौतीहरू जन्मदेखि नै सुरु हुन्छन् । तिनै चुनौतीको रफ्तारसँगै जीवनलाई लय मिलाउँदै अघि बढ्न सके समयले पनि साथ दिदैं जान्छ । हिमाली जिल्ला रसुवाको चौँरी खर्कमा जन्मेका दावाफिन्जो तामाङले खाली गोडाले हिउँ र तुसारोमा टेक्दा आउने आवाजसँग लय मिलाउँदै चौँरी र भेडीगोठहरुको दुरीलाई इन्ची इन्चीमा नाप्दै उमेर अनुसारको चुनौतीलाई पार गर्दा प्राप्त गरेको जीवनवृत्तिको रोमाञ्चक एवं प्रेरणादायी जीवन कथालाई पुस्तकका हरफहरूमा उनिएको छ । अझ त्यसभित्र गोठ, भेडा र चौंरीका प्रसङ्गहरू बढी नै आत्मीय लाग्छ ।
भनिन्छ ‘विकास राजनैतिक परिवर्तन जस्तो एकै दिनमा सम्भव छैन । यसैले विकास अप्ठ्यारो सिद्धान्त हो’ । राजनीति र विकाससँगै देखिए पनि सिद्धान्त: फरक विषयहरू हुन । यद्यपि राजनीतिले विकासको मोडालिटि र कार्यान्वयनलाई भने प्रभाव पर्दछ । यस अर्थमा फरक विषय भएर पनि एक आपसमा पारस्परिक सम्बन्ध राख्दछ । दावाफिन्जोसँग पनि जिल्लाको विकासको पूर्वाधार निर्माण गर्दा खेपिएका मुद्दा मामिला र अवरोधहरूको उम छ । गोरेटो, घोडेटो, तुइन, पुल र जिलेटिन पड्काएर सडक निर्माणसँग जोडिएका अनुभवहरूको खात छ । तिनै सडकहरू हालसम्म पनि स्तरोन्नति हुन नसकेर सडक सडकमै थला परेका नमिठो यथार्थहरू पनि छन् । यद्यपि रसुवा जिल्लाको चौतर्फी विकास निर्माणको क्षेत्रमा दावाफिन्जो तामाङको फराकिलो योगदानलाई अलग गर्न किञ्चित सकिँदैन । यस अर्थमा दावाफिन्जो तामाङको व्यक्तित्वलाई विकासप्रेमी एवं विकासको संवाहक रूपमा उभ्याउन सकिन्छ । यो कर्मलाई अघि बढाउन उहाँसँग भएको राजनीति चेत त्यसले निर्माण गरेको लोभलाग्दो राजनीतिक पृष्ठभूमि महत्त्वपूर्ण रहेको देखिन्छ । त्यससँगै दरबारसँग रहेको सामिप्यतालाई जिल्लाको गाउँवस्तीहरुको विकास निर्माणसँग बेजोड सन्तुलन गर्न सक्ने निर्भीक दूरदर्शी व्यक्तित्वको रूपमा चित्रण गर्न सकिन्छ ।
पुस्तक दावाफिन्जो तामाङको एक्लो जीवनसँग मात्र सम्बन्धित छैन । रसुवा जिल्लाभित्र तामाङ राष्ट्रको आदिमभूमि भूमिप्रतिको विश्वास तत्कालीन तामाङ जनजीवनको आर्थिक, सामाजिक तथा मौलिक रैथाने सांस्कृतिक सौन्दर्यलाई बुझ्न र बुझाउन पुस्तक महत्त्वपूर्ण हुनेछ ।
आफ्नो धर्म, संस्कृति, परम्परा र पुर्खाले जोगाएर ल्याएको अगाध आस्थाले बनाएको परिधिबाट दावाफिन्जो तामाङ कुनै पनि परिस्थितिमा अलग भएको देखिँदैन । जसले गर्दा जीवनलाई अमूल्य भगवानको वरदानको रूपमा ग्रहण गरेका छन् । जन्मसँगै कर्म पाएकोमा भाग्यप्रति कृतज्ञ छन् । कन्फेसन अर्थात् पाप कर्मको स्वीकारोक्ति प्रशस्त देखिन्छ । विशेषतः उमेरमा गरेका सिकारसँग सम्बन्धित कर्महरूप्रति क्षमा याचना गरेका छन् । सांस्कृतिक रूपमा जोडिएका लेङ अर्थात् मितेरी सम्बन्धहरूको कुरा उप्काएका छन् । आफन्तजन अनि अदौंतरीहरुलाई धेरै ठाउँहरूमा सम्झेका छन् । जीवनको दौरान सम्बन्धहरू जोडिएर र भत्किएका कुराहरू गरेका छन् । आफ्नै जात वंशका विरुद्धमा लागेर अन्य जातभित्र विलीन हुने पराजित मानसिकता बोकेका सजातिय जत्थाको मुख बन्द गर्ने गरी जवाफ दिएका छन् । यस अर्थमा पुस्तकमा वंश र अंशको कथाहरू पनि छन् । त्यसै गरी आफ्नैभित्र चल्ने राजनीतिक दाउपेचसँग जोडिएका प्रसङ्गहरू यत्रतत्र छन् । जीवनलाई धार्मिक तथा आध्यात्मिक दर्शनभित्र पसेर बुझ्ने चेष्टा गर्दै गर्दा व्यवस्था फेरिए पनि अवस्थाहरू नफेरिएकोमा चिन्ता व्यक्त गरेका छन् । लामो समय दरबारको समीप रहनु भयो । दरबारको राजसी जीवनको सङ्गत गरे पनि त्यस्तो जीवनलाई कहिल्यै अनुसरण गर्नु भएन । बरु तिनै चौँरी गोठ, भेडी गोठ, खर्क जिल्लाको पूर्वाधार विकास निर्माणको क्रममा नापेको स्याफ्रु, धुन्चे, गोसाईंकुण्ड, चन्दनवारि, चोलाङ, लौरीविना, रिँगटा लाग्ने अप्ठ्यारा अक्करे भीरहरू आदि भूगोलका गाउँवस्तीमा आज पर्यन्त रमाइरहनु भएका छन् । यसलाई उहाँको आफ्नो माटोप्रतिको प्रेम र समर्पणको रूपमा बुझ्नु पर्छ ।
हरेक जीवनसँग आआफ्नै भोगाइहरू हुन्छन् । ती भोगाइहरू नितान्त वैयक्तिक विषयहरू हुन् । सबै विषयहरू लेखिएको जीवनीसँग आउनै पर्छ भन्ने पनि छैन । कतिपय जीवनका महत्त्वपूर्ण क्षणहरू लेख्ने क्रममा छुट्टिएका र छुट्टाएका पनि होलान् । त्यसको हिसाब कसैलाई देखाउन जरुरी पनि छैन किनभने जति लेखिएर आएका छन् त्यतिबाट दावाफिन्जो तामाङलाई चिन्न र बुझ्न काफी छ । त्यसो त निजी जीवनका भोगाइलाई समीक्षाको आधार बनाउने कुरा पनि रहेन । अतः दावाफिन्जो तामाङको बहुआयामिक व्यक्तित्वलाई प्रस्तुत आलेखमा विना हस्तक्षेप पुस्तकभित्र पढेर चर्चा गर्ने कोसिस मात्र गरिएको हो ।
अन्तमा पुस्तकभित्र भन्नेले जीवन कथा भनेका छन् । सुन्नेले सुनेर र बुझेर शब्दमा शब्दमा सारेका छन् । भाषा जर्वजस्त छ । विषय सन्दर्भमा आउने विषयलाई लेखकीय कला र ज्ञानको माध्यमाबाट पुस्तकबाट पुस्तासँग जोडिदिएको छ । पुस्तक दावाफिन्जो तामाङको एक्लो जीवनसँग मात्र सम्बन्धित छैन । रसुवा जिल्लाभित्र तामाङ राष्ट्रको आदिमभूमि भूमिप्रतिको विश्वास तत्कालीन तामाङ जनजीवनको आर्थिक, सामाजिक तथा मौलिक रैथाने सांस्कृतिक सौन्दर्यलाई बुझ्न र बुझाउन पुस्तक महत्त्वपूर्ण हुनेछ । त्यसै गरी त्यो समयमा तामाङ जातिको राजनैतिक चेत त्यसले राष्ट्रिय राजनीतिमा बनाएको उच्चकोटीको लोभलाग्दो प्रतिनिधिमूलक भूमिकाले सिङ्गो तामाङ राष्ट्रलाई गौरबम्बित बनाएको छ । त्यसैको एउटा प्रतिबिम्बको रूपमा प्रस्तुत दावाफिन्जो तामाङको जीवनगाथालाई लिन सकिन्छ ।