युएईमा एसएमएस धमाका-४ वृहत् सांस्कृतिक साँझ-२०२२ को अन्तिम तयारी पूरा भएको छ।
जुलाई-१० आइतबारको दिन युएईको प्रसिद्ध सहर वर दुबईमा अवस्थित अष्टोरिया होटेल क्लब एभरेस्टको सभा हलमा ‘तामाङ समाज युएईको अभियान, शैक्षिक क्षेत्रमा गरौँ योगदान’ भन्ने मूल नाराका साथ गर्ने तयारी भएको हो ।
समाजले हरेक वर्ष तामाङ जातिको बाहुल्यता रहेको, आर्थिक सामाजिक रूपमा शिक्षामा पछि परेको विकट जिल्लाका विद्यालयहरूलाई शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएका छन् ।
पछिल्लो समय कोरोना महामारीको कारण स्थगित कार्यक्रम यो वर्ष भने साङ्गीतिक मनोरञ्जनको साथ गर्ने तयारी भएको आयोजक संस्थाले जनाएको छ ।
सामाजिक कार्यमा योगदान पुर्याउन सहज वातावरण मिलेकोले सपोर्ट माई स्कुल अभियानलाई सफल पार्न चर्चित सङ्गीतकार तथा गायक आशुसेन लामा र प्रथम नेपाल आइडल बुद्ध लामालाई निमन्त्रणा गरेको आयोजकले जनाएको छ ।
सन् २००५ मा छत्रबहादुर लामाको अध्यक्षतामा स्थापना भएको हो । समाजले विशेष गरी तामाङ समुदायको सामाजिक, धार्मिक, सांस्कृतिक संरक्षण संवर्द्धन र विकासका लागि सांस्कृतिक कार्यक्रम गर्दै बाढीपीडित, भूकम्प पीडित गरिबीका कारण उपचार गर्न नसकेका प्राण घातक रोगीहरूलाई समेत सहयोग गर्दै आएको छ।
कार्यक्रममा आमन्त्रित अतिथि कलाकारसँगै स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहने आयोजक संस्थाले जनाएको छ । त्यसो त युएईमा कार्यरत नेपालीहरूलाई विशेष उपस्थित जनाउन आयोजकले आग्रह समेत गरेका छन् ।