अभिनेता प्रदीप खड्का भन्नासाथ जोकोहीलाई उनको चकलेटी अनुहार र अभिनयको सम्झना आउँछ । प्रेमकथाका फिल्ममा चकलेटी लुक्स र अभिनयबाट दर्शकको मन जित्न सफल प्रदीप फिल्म ‘प्रकाश’मा पहिलो पटक कर्णालीको जुम्लाको युवाको भूमिकामा देखिँदै छन् । यो फिल्म प्रदीपका लागि किन पनि भिन्न छ भने उनी फिल्ममा शिक्षक बन्ने सपना बोकेको गाउँले चरित्रमा देखिँदै छन् । फिल्म आगामी १० भदौमा रिलिज हुँदै छ ।
फिल्म युनिटले आइतबार सार्वजनिक गरेको प्रदीपको दुई तस्बिरमा यो कुरालाई प्रस्ट्याएको छ । फिल्मका निर्देशक दिनेश राउत फिल्ममार्फत प्रदीपले आम नेपाली युवाहरूको प्रतिनिधित्व गर्ने दाबी गर्छन् । त्यही दाबीलाई पुष्टि गर्न उनका दुई तस्बिर सार्वजनिक गरिएको उनको भनाइ छ ।
फस्ट लुकमा अभिनेता प्रदीपलाई हलो जोतिरहेको देख्न सकिन्छ । उनले ट्राउजर र सर्ट लगाएका छन् । फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, नीरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।
बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको सङ्गीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व सङ्गीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।