पछिल्लो समय बजार महँगो बन्दै गएको छ। सबै प्रकारका उपभोग्य सामग्रीको मूल्य बढ्दै गए सँगै बजार महँगो बन्दै गएको हो। चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि आठ दशमलव ५६ प्रतिशत पुगेको छ। जुन हालसम्म कै उच्च मूल्यवृद्धि हो। गत वर्ष सोही अवधिमा यस्तो मूल्य वृद्धिदर चार दशमलव १९ प्रतिशत थियो।
समीक्षा गरिएका महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि सात दशमलव ४३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि नौ दशमलव ४४ प्रतिशत रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ। जेठ मसान्तसम्म वार्षिक बिन्दुगत मासिक औसत मूल्यवृद्धिदर छ प्रतिशत रहेको छ।
अघिल्लो आर्थिक वर्षको जेठ महिनाको तुलनामा चालु आर्थिक वर्षको जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, २२ दशमलव ६० प्रतिशत, दुग्ध पदार्थ तथा अण्डा ११ दशमलव २२ प्रतिशत, सुर्तीजन्य पदार्थ नौ दशमलव ७० प्रतिशत, मदिराजन्य पेय पदार्थ नौ दशमलव ६८ प्रतिशत र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि नौ दशमलव १३ प्रतिशत रहेको छ।
साथै, गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात २५ दशमलव ७९ प्रतिशत, शिक्षा ११ दशमलव ६४ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरू आठ दशमलव ३० प्रतिशत, मनोरञ्जन तथा संस्कृति आठ दशमलव २१ प्रतिशत र घरायसी उपयोगका वस्तुहरू उपसमूहको मूल्यवृद्धि सात दशमलव ८४ प्रतिशत रहेको छ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा आठ दशमलव ३२ प्रतिशत, तराईमा आठ दशमलव २९ प्रतिशत, पहाडमा नौ दशमलव २८ प्रतिशत र हिमालमा आठ दशमलव ९२ प्रतिशत मूल्यवृद्धि रह्यो। अघिल्ला आर्थिक वर्षको ११ महिनाको अवधिमा ती क्षेत्रहरूमा क्रमशः तीन दशमलव ८७ प्रतिशत, चार दशमलव ४७ प्रतिशत, चार दशमलव ३२ प्रतिशत र एक दशमलव ७२ प्रतिशत मूल्यवृद्धि रहेको थियो।
उपभोक्ता मूल्यमा आधारित उक्त मूल्यवृद्धिले नागरिकलाई दैनिक सञ्चालनमा भने मार पार्ने गरेको छ। हरेक सामग्रीको मूल्य आकासिँदै जाँदा उपभोग्य सामग्रीको उपभोगमा कमी आउने गर्दछ। अर्कोतर्फ नियामक निकायको अनुगमन प्रभावकारी नहुँदा समेत मूल्यवृद्धि हुने गरेको छ।
मूल्यवृद्धि बढ्दै जाँदा बजारमा सामग्रीको भाउ अकासिएको छ। सोही क्रममा थोक मूल्यवृद्धि समेत वृद्धि भएको छ। ११ महिनाको अवधिमा वार्षिक बिन्दुगत थोक मूल्यवृद्धि १४ दशमलव ७७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्य वृद्धिदर नौ प्रतिशत रहेको थियो। जेठ मसान्तसम्म वार्षिक बिन्दुगत मासिक औसत थोक उपभोक्ता मूल्यवृद्धि नौ दशमलव २६ प्रतिशत रहेको छ।
समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १५ दशमलव ८४ प्रतिशत र १५ दशमलव ३४ प्रतिशत र सात दशमलव ८३ प्रतिशत रहेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५ दशमलव २५ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षको १० महिनाको अवधिमा खाद्य तथा पेय पदार्थमा सात दशमलव १३ प्रतिशतर गैर–खाद्य तथा सेवामा आठ दशमलव ४५ प्रतिशतले मूल्यवृद्धि भएको थियो। संघ, प्रदेश र स्थानीय तहलाई बजार अनुगमन र नियन्त्रण गर्ने संविधान प्रदत्त अधिकार प्रदान गरिएको भए पनि महँगी नियन्त्रणमा ती निकायहरु प्रभावकारी बन्न सकेका छैनन्। जसले गर्दा मनलाग्दो बजार भाउका कारण सर्वसाधारणहरु मारमा पर्ने गरेको पाइन्छ।
११ महिनामा १५ खर्ब ७७ अर्ब रुपैयाँ भन्दा बढीको व्यापार घाटा
सरकारले अतिआवश्यक बाहेकका विलासिताका वस्तुहरूको आयातको पछिल्लो समय कडाइ गरेको भएपनि अर्थतन्त्रमा यसको प्रभाव न्यून मात्रामा देखिएको छ। विदेशी मुद्राको सञ्चिती बढाउन र बढ्दो व्यापार घाटालाई नियन्त्रण गर्दा सरकारले विलासिताका वस्तुहरूको आयात कडाइ गरेको छ। तर यसको बावजुत पनि चालु आर्थिक वर्षको ११ महिनामा मुलुकको कुल वस्तु व्यापार घाटा २५ प्रतिशतले बढेर १५ खर्ब ७७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्मको तथ्यांक अनुसार पनि मुलुकले उक्त परिमाणमा व्यापार घाटा बेहोरेको देखिएको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४ दशमलव छ प्रतिशतले बढेको थियो।
राष्ट्र बैंकका अनुसार चालु आवको जेठ मसान्तसम्ममा कुल वस्तु आयात भने २७ दशमलव पाँच प्रतिशतले बढेर १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५ दशमलव सात प्रतिशतले बढेको थियो। चालु आवको पछिल्लो ११ महिनामा आयात उच्च हुँदा कुल वस्तु निर्यात ५३ दशमलव तीन प्रतिशतले बढेर एक खर्ब ८५ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७ दशमलव आठ प्रतिशतले वृद्धि भएको थियो। प्रतिवेदन अनुसार चालु आवको ११ महिनामा निर्यात भन्दा भन्दा आयात १६ खर्ब रुपैयाँले बढी देखिएको छ। गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६१ दशमलव आठ प्रतिशत र ३० दशमलव एक प्रतिशतले बढेको देखिए पनि चीनतर्फको निर्यात २१ दशमलव चार प्रतिशतले प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, धागो पोलिस्टर तथा अन्य, ऊनी गलैँचा, जिंक सिट लगायतका वस्तुको निर्यात बढ्दा अलैंची, चिया, औषधी आयुर्वेदिक, दन्त मञ्जन, तार लगायतका वस्तुको निर्यात घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा कुल बस्तु तथा सेवा आयात २५ दशमलव सात प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४ दशमलव दुई प्रतिशत, १६ प्रतिशत र ४६ दशमलव एक प्रतिशतले बढेको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, सुन, अन्य मेसिनरी तथा पार्टस लगायतका वस्तुको आयात बढेकोमा एम. एस. विलेट, रासायनिक मल, सिमेन्ट, धान तथा चामल, दाल लगायतका वस्तुको आयात घटेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४ दशमलव छ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा निर्यातआयात अनुपात १० दशमलव पाँच प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव आठ प्रतिशत रहेको थियो।
राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो ११ महिनामा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी दुई खर्ब ८२ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ७३ अर्ब २६ करोड बराबरको भएको थियो।
खुद सेवा आय ९९ अर्ब ९३ करोड रुपैयाँले घाटामा
खुद सेवा आय घाटामा देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो ११ महिनाको अवधिमा खुद सेवा आय ९९ अर्ब ९३ करोडले घाटामा देखिएको हो। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६३ अर्ब ८९ करोड रुपैयाँले घाटामा रहेको राष्ट्र बैंकको भनाई छ।
यसैगरी सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय दुई सय ८१ दशमलव तीन प्रतिशतले वृद्धि भई २५ अर्ब ५२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय छ अर्ब ६९ करोड रहेको थियो। राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो ११ महिनामा सेवा खाता अन्तर्गत भ्रमण व्यय एक सय ७० दशमलव आठ प्रतिशतले वृद्धि भई ८३ अर्ब ३७ करोड पुगेको छ। यसमध्ये शिक्षातर्फका व्यय ५९ अर्ब ९९ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३० अब ७९ करोड रहेकोमा शिक्षातर्फ व्यय २३ अर्ब ४५ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको भनाई छ।
रेमिटेन्समा तीन दशमलव आठ प्रतिशतले सुधार
मूलकले वैदेशिक रोजगारीबाट प्राप्त गर्ने आय अर्थात रेमिटेन्स ( विप्रेषण रकम ) बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा रेमिटेन्स रकम तीन दशमलव आठ प्रतिशतले बढेर नौ खर्ब चार अर्ब १८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२ दशमलव छ प्रतिशतले बढेको थियो।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा भने रेमिटेन्स रकम एक दशमलव पाँच प्रतिशतले बढेर सात अर्ब ५१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव पाँच प्रतिशतले बढेको थियो। चालु आवको पछिल्लो ११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ( संस्थागत तथा व्यक्तिगत –नयाँ र वैधानिकीकरण ) लिने नेपालीको संख्या बढेर तीन लाख १३ हजार तीन सय ६७ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने चालु आवको पछिल्लो अवधिमा दुई सय आठ दशमलव तीन प्रतिशतले बढेर दुई लाख ५९ हजार ९१ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२ दशमलव एक प्रतिशतले घटेको थियो।
राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो ११ महिनामा खुद ट्रान्सफर तीन दशमलव छ प्रतिशतले बढेर एक हजार छ अर्ब सात करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११ दशमलव पाँच प्रतिशतले बढेको राष्ट्र बैंकको भनाई छ।
चालु खाता पाँच खर्ब ९५ अर्ब रुपैयाँले घाटामा
मुलुकको चालु खाता घाटामा देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा मुलुकको चालु खाता पाँच खर्ब ९५ अर्ब ७३ करोड रुपैयाँले घाटामा देखिएको हो।
अघिल्लो वर्षको सोही अवधिमा भने चालु खाता दुई खर्ब ९८ अर्ब ११ करोडले घाटामा रहेको राष्ट्र बैंकको भनाई छ। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ५४ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब ९६ करोडले घाटामा रहेको छ। यसैगरी पुँजीगत ट्रान्सफर भने ३२ दशमलव नौ प्रतिशतले कमी आई नौ अर्ब ४९ करोड कायम भएको छ भने खुद
प्रत्यक्ष वैदेशिक लगानी सात दशमलव एक प्रतिशतले वृद्धि भई १७ अर्ब ३५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १४ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब २० करोड रहेको थियो।
राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो अवधिमा मुलुकको शोधनान्तर स्थिति दुई खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड आठ लाखले घाटामा रहेको शोधनान्तर स्थिति चालु आवको पछिल्लो ११ महिनामा दुई अर्ब २६ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको सञ्चिती १५ प्रतिशतले घटेर ११ खर्ब ७६ अर्बमा सीमित
विदेशी मुद्राको सञ्चिती घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५ दशमलव नौ प्रतिशतले घटेर २०७९ जेठ मसान्तमा ११ खर्ब ७६ अर्ब ८४ करोड कायम भएको हो।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १९ दशमलव छ प्रतिशतले कमी आई नौं अर्ब ४५ करोड कायम भएको राष्ट्र बैंकको भनाई छ। कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १७ दशमलव एक प्रतिशतले कमी आई १० खर्ब ३१ अर्ब ८९ करोड कायम भएको छ। बैंक तथा वित्तीय संस्था ( नेपाल राष्ट्र बैंकबाहेक ) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ जेठ मसान्तमा छ दशमलव एक प्रतिशतले कमी आई एक खर्ब ४४ अर्ब ९५ करोड कायम भएको छ।
राष्ट्र बैंकका अनुसार २०७९ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चिति भारतीय मुद्राको अंश २५ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७८/७९ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति झण्डै सात महिना दुई दिनको वस्तु आयात र छ महिना तीन दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको भनाई छ।