प्रतिनिधिसभाको उपसभामुखमा काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् ।
प्रतिनिधिसभाको दोस्रो बैठकले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुखमा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले २४२ जना सांसद उपस्थित रहेको र भुसालको पक्षमा १४८ मत परेको जानकारी दिए । उनको विपक्षमा ९३ मत परेको थियो भने एक मत तटस्थमा खसेको सभामुख सापकोटाले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको थियो । भुसालको पक्षमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।
उनी भुसालसँग पराजित भएकी हुन् । विद्याको पक्षमा एमाले र राप्रपाको समर्थन रहँदा नेपाल मजदुर किसान पार्टी भने उपसभामुख चयनमै तटस्थ बसेको थियो ।
२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो ।
अर्घाखाँची पोखराथोककी भुसाल २०२८ सालदेखि राजनीतिमा आबद्ध छिन् । नेपाली काँग्रेसको महिला विभाग, कानुन विभागमा लामो समय क्रियाशील भएकी उनले नेपाल महिला सङ्घको महासचिव भएर पनि काम गरिन् । महिला अधिकार र समानताको पक्षमा वकालत गर्दै आएकी भुसालले विश्वविद्यालयमा प्राध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ बढाएकी थिइन् ।
२०१७ फागुन १ गते जन्मिएकी भुसालले कानुनमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छन् । त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्राध्यापन गरेकी भुसाल वरिष्ठ अधिवक्तासमेत हुन् । उनी केही समय कानुन व्यवसायमा पनि सक्रिय भएर लागिन् । २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएर उनले संविधान निर्माणमा भूमिका खेलिन ।
त्यसेबला उनले संविधान मस्यौदा समितिमा रहेर काम गरिन् । २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिमा समेत काँग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै भूमिका निर्वाह गरेकी नेता हुन् भुसाल । २०७४ सालको चुनावबाट समानुपातिक सांसदमा निर्वाचित भएर आएपछि भुसाल उपसभामुखको निर्वाचनमा उम्मेदवार थिइन् । २ चैत २०७४ मा भएको उपसभामुखको चुनावमा भुसाल सांसद शिवमाया तुम्बाहाम्फेसँग पराजित हुन पुगेकी थिइन् । तत्कालीन वाम गठबन्धनकी उम्मेदवार तुम्बाहाम्फे २०१ मत प्राप्त गर्दै विजयी हुँदा भुसालले ५८ मत प्राप्त गरेकी थिइन् ।
तुम्बाहाम्फेले राजीनामा दिएपछि रिक्त भएको सोही पदमा भुसालले अहिले फेरि उम्मेदवारी दिएकी हुन् । यो पटक उनलाई काङ्ग्रेससहित पाँच दलीय गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।
उनको पारिवारिक पृष्ठभूमि राजनीति हो । २०१५ सालको बिपी कोइरालाको मन्त्रिपरिषद्मा स्वास्थ्य मन्त्री रहेका काशीनाथ गौतमका छोरी हुन् भुसाल । २०१७ सालमा पञ्चायत सुरु भएपछि काशीनाथ गौतम १४ वर्ष सपरिवार भारत निर्वासित हुँदा पुष्पा पनि सँगै थिइन् ।
यो पनि
- उपसभामुख निर्वाचन : संसद्मा अङ्कगणित, अनिर्णीत लोसपा
- उपसभामुखका लागि भुसाल भर्सेस भट्टराई ? यस्तो छन् उनीहरुको राजनीतिक क्रियाशीलता