रसुवामा जग्गाको मूल्य वृद्धि, लाभकरको दायरा साढे सात प्रतिशत बढ्यो

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
392 Shares
रसुवा

रसुवा यही साउन १ गतेदेखि लागु हुने गरी जग्गा जमिनमा न्यूनतम मूल्य वृद्धि भएको छ । नयाँ मूल्य अनुसार सडक मार्गले छोएका बाहेक खेतीयोग्य जमिनतर्फ अधिकतम नौ लाख २० हजारदेखि न्यूनतम ४६ हजारसम्मको एरिया रहेको बताइएको छ।

रजिस्ट्रेसनबाट पारित हुने घर जग्गाको नयाँ न्यूनतम मूल्य यकिन गरी चालू आर्थिक वर्षको राजश्व असुली कार्यमा सहज पार्न मूल्य निर्धारण समितिमार्फत नयाँ मूल्य कायम गरिएको हो ।

गत वर्ष निर्धारण भएको मूल्यलाई परिमार्जन गर्दै यस चालू आर्थिक वर्ष लागि रसुवा जिल्लाभित्रका खेत तथा पाखो जग्गा जमिनको भइराखेको मूल्यलाई परिमार्जन गर्दै समग्रमा १० प्रतिशतका दरले मूल्य वृद्धि भएको मालपोत कार्यालय रसुवाले जनाएको छ।

कार्यालयले बसोबासको लागि बनाइएको छाप्रो मोडेलको टहरो, कच्ची र पक्की घर खरिद बिक्रीका लागि प्रति घर क्रमशः १ लाख ५० हजार, ३ लाख र ७ लाख मूल्य निर्धारण गरेको छ।

मालपोत कार्यालय रसुवाका प्रमुख गणेश श्रेष्ठका अनुसार गत आर्थिक वर्षको मूल्याङ्कन, स्थानीय सरकार अन्तर्गत गाउँपालिकाले गरेको सिफारिस, गत आर्थिक वर्षमा सेवाग्राहीबिच भएको लेनदेन कारोबार, अन्तर्राष्ट्रिय सिमाना एवं निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना तथा सम्भावित बजारीकरणको सम्भावनालाई समेत दृष्टिगत गरी १० प्रतिशतसम्म मूल्य निर्धारण गरिएका हुन् ।

यस्तै मालपोत कार्यालय रसुवाले गत आर्थिक वर्षमा एक हजार एक सय पच्चीस लिखत पारित गरी एक करोड २७ लाख ६१ हजार ८७१ रुपैयाँ राजश्व असुल भएको थियो।

पारित लिखतमध्ये ६ सय ६४ थान राजीनामा र ४ सय ६१ वटा बैङ्क तथा वित्तीय संस्थाले ऋण धितोको सुरक्षणका लागि दृष्ट्रिबन्धक गराएका थिए। गत आर्थिक वर्षमा जग्गाधनीको मृत्युपश्चात् ९५ वटा जग्गाधनी प्रमाण पुर्जाबाट हकवालाको नाममा जग्गा नामसारी गरिएको छ।

अघिल्लो वर्षको तुलनामा ३८ लाख भन्दा बढी राजश्व वृद्धि भएको हो । राजश्व वृद्धि हुनुको कारण सेवाग्राहीले कारोबारको थैली अङ्क बढाउने गरेको र सयकडा दुईको राजश्वलाई सरकारले तीन प्रतिशतमा वृद्धि गरेका कारण असुली प्रगति बढ्दै गएको बताइएको छ।

१० लाख भन्दामाथि कारोबार थैली अङ्कमा लाभकर लाग्ने प्रावधान अनुरूप गत वर्ष ३४ लाख ९६ हजार ८३३ लाभकर बापतको राजश्व जम्मा भएको कारोबारका अभिलेख राख्ने कर्मचारी छेक्याल तामाङले जानकारी दिए ।

लाभकर वृद्धि

यसै गरी चालू आर्थिक वर्षदेखि लागु हुने गरी लाभकरमा वृद्धि भएको छ ।

१० लाखभन्दा माथिको मूल्यमा खरिद गरेको जग्गा पाँच वर्ष नपुग्दै बिक्री गरेमा साढे सात एवं पाँच वर्ष पूरा भएपछि विक्री गर्दा पाँच प्रतिशत लाभकर बापतको राजश्व लाग्ने बताइएको छ ।

यसभन्दा अगाडि पैतृक सम्पत्तिको हकमा साढे दुई प्रतिशत र खरिद गरेको तर पाँच वर्ष खरिद अवधि नपुगेका जग्गाहरूको हकमा पाँच प्रतिशत मात्र असुली हुँदै आएको थियो ।

तपाईको प्रतिक्रिया