भैरहवा भन्सार कार्यालयको दुई खर्ब ८९ अर्ब व्यापार घाटा, लक्ष्यमा पुग्न सकेन

मोहम्मद हबिब स‌चारकर्मी
0 Shares
भैरहवा

भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा लिएका राजश्व सङ्कलनको लक्ष्य पार गर्न सकेन । कार्यालयलाई भन्सार विभागले यस आर्थिक वर्षका लागि एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार राजस्व संक्लन लक्ष्य दिएकोमा एक खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २५ हजार रुपैयाँ अर्थात् ९० दशमलव  ९४ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ ।

भन्सार विभागले लक्ष्य पार नभए पनि चालु आर्थिक वर्षका लागि एक खर्ब ५५ अर्बको लक्ष्य कार्यालयलाई दिएको छ । बजेटको आकार बढेकोले स्रोतको सुनिश्चितताका लागि अहिलेको वर्ष लक्ष्य थपिएको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा यस कार्यालयले लक्ष्यभन्दा १२ प्रतिशत बढी राजस्व सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०७४/०७५ मा ८६ प्रतिशत, आर्थिक वर्ष २०७५/०७६ मा ८८ प्रतिशत, वर्ष २०७६/०७७ मा ६६ प्रतिशत मात्र राजश्व असुल गरे पनि  आर्थिक वर्ष २०७७/७८ मा भने लक्ष्यको ११२ प्रतिशत राजश्व सङ्कलन भएको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले मङ्सिरसम्म लक्ष्य अनुरूप सफलता हासिल गरे पनि ५ पुसबाट लागु हुने गरी नेपाल राष्ट्र बैङ्कले १८ वटा शीर्षकका विलासिताका वस्तुको आयातमा अनिवार्य प्रतितपत्र (एल.सी.) खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेसँगै आयातमा कमी हुँदै आएको हो । ‘पुस महिनायता लक्ष्य अनुरूपको सफलता हासिल भएको छैन,’ भन्सार कार्यालयका सूचना अधिकृत तीर्थराज पासवानले भने ।

यस भन्सार नाकाबाट मुख्य आयात हुने वस्तुमा केही प्रावधान आयो । जसका कारण विलासिताका बस्तुहरूको आयात घट्यो र प्रभाव वार्षिक लक्ष्यमा देखियो । अनुमानित १५ अर्ब आउने सामान रोकिएको छ ।

आर्थिक वर्ष २०७८/२०७९ बेलहिया नाकाबाट दुई खर्ब ९६ अर्ब ९७ करोड ४० लाख १९ हजार रुपैयाँका विभिन्न मालवस्तु आयात भएको छ भने सात अर्ब ८८ करोड चार लाख ३३ रुपैयाँका मालवस्तु निर्यात भएको छ । आयातको तुलनामा निर्यात न्यून भएकै कारण दुई अर्ब ८९ अर्ब नौ करोड ३५ लाख ८६ हजार रुपैयाँले व्यापार घाटा भएको छ । यो दर विगतका वर्षहरू जस्तै हो ।

कार्यालयका अनुसार यस नाकाबाट भारतबाट आएका जिप, कार र भ्यानबाट २१ अर्ब ९३ करोड ६४ लाख ३३ हजार राजस्व सङ्कलन भएको छ । यस्तै, मोटरसाइकलबाट १९ अर्ब, ९१ करोड, १५ लाख ९२ हजार, पिकअप तथा डेलिभरी भ्यानबाट पाँच अर्ब ७४ करोड ८८ लाख ६० हजार, एमएस विलेटबाट चार अर्ब ४० करोड पाँच लाख ९३ हजार पेट्रोलबाट चार अर्ब ६ करोड २५ लाख १४ हजार, ग्लेज टाइलबाट तीन अर्ब ४९ करोड आठ लाख ९४ हजार, हाइस्पिड डिजेलबाट दुई अर्ब ७८ करोड १३ लाख १९ हजार, एलपी ग्यासबाट दुई अर्ब नौ करोड ४५ लाख ७७ हजार, मार्बल स्याल्याबबाट एक अर्ब ९६ करोड ४२ लाख ८ हजार राजस्व सङ्कलन भएको छ ।

भैरहवा भन्सार कार्यालय निर्यात लक्षित भन्सार नरहेको कारण यहाँबाट न्यून रूपमा निर्यात हुने गरेको छ । एक वर्षमा कार्यालयबाट एक अर्ब ९० करोड मूल्य बराबरको सेन्थेटिक यार्न निर्यात भएको छ ।

एक अर्ब पाँच करोडको भटमासको तेल, ५५ करोडको पिना, ४७ करोडको खोटो रेजिन,  ४४ करोडको खजुरको प्रशोधित तेल, ३९ करोडको लिड सिसा, ३५ करोडको चोकर भुस, २५ करोडको काँच तथा डन्डी ट्युब २१ करोडको चाउचाउ पास्ता, र २० करोडको स्टीलका भाँडाकुँडा लगायतका बस्तु निर्यात भएको छ ।

उत्पादनमूलक वस्तुलाई प्रवर्द्धन नगरे र निर्यातजन्य वस्तु स्वदेशमा उत्पादन नभएसम्म जति कडाइ र प्रावधान लगाए पनि आयातमा कमी आउने छैन ।

मोटरसाइकल र स्मार्टफोन बन्देजमा थप व्यवस्था

१४ भदौसम्मका लागि विभिन्न १० वस्तुको आयातमा पूर्ण बन्देज लगाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल सरकारको निकासी पैठारी नियन्त्रण ऐन २०१३ के दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सोही उपदफाको खण्ड ञ् को उद्देश्य प्राप्त गर्न १३ वैशाखबाट १० वटा शीर्षकको आयातमा पूर्ण बन्देज लगाएको नेपाल राजपत्रमा उल्लेख छ ।

पूर्ण बन्देज लगाएको वस्तुमध्ये अधिकांश शीर्षकका वस्तु स्थल मार्गबाट नआई हवाई मार्गबाट आउने गरेको छ । पैठारी पूर्ण बन्देज भएको बस्तुहरू कुरकुरे, लेज लगायतका वस्तु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, तीन सय डलरभन्दा बढीका मोबाइल सेट, ३२ इन्चभन्दा ठुला रङ्गिन टिभी, जिप कार भ्यान, १५० सिसीमाथिको मोटरसाइकल, सबै प्रकारको खेलौना र तास रहेको छ ।

यसअघि असार मसान्तसम्म २५० सिसीभन्दा माथिका मोटरसाइकल र ६ सय डलरभन्दा बढी मूल्यका स्मार्टफोन आयातमा बन्देज लगाइएको थियो । मुलुकको भुक्तानी सन्तुलनको अवस्था निरन्तर बिग्रिँदै गएपछि सरकारले अति आवश्यक बाहेकका विलासी सामान आयातमा पूर्ण रोक लगाउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका