जिल्ला ट्राफिक कार्यालय रसुवाले आर्थिक वर्षमा सवारी कारबाहीबाट ६२ लाख भन्दा बढी राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला का विभिन्न स्थानमा ट्राफिक नियम विपरीत चलेका सवारी कारबाहीबाट ६२ लाख ३७ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।
जिल्ला ट्राफिक कार्यालय रसुवाको इन्चार्ज उज्ज्वल कुमार घलेका अनुसार जिल्लामा एक वर्षको अवधिमा ५ हजार ८ सय २६ सवारी कारबाहीमा परेका छन् ।जिल्लामा गत साउनदेखि हाल असार मसान्तसम्ममा ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा पर्ने सवारीसाधनमा सबैभन्दा बढी ट्रक रहेको छ ।
यस्तै ट्राफिक कारबाहीमा ३४०४ ट्रक, ३७५ बस, ७३२ कार, जिप, भ्यान ११२ ट्याक्टर, ११५६ मोटरसाइकल अन्य ४७ वटा कारबाहीमा परेका छन् ।१५ वटा सवारीसाधन दुर्घटनामा परेका छन् ।उक्त दुर्घटनामा महिला २ पुरुष २ ले ज्यान गुमाएका थिए ।
ट्राफिक इन्चार्ज घलेले जनचेतनामूलक सन्देश बाँड्दै इजाजत नभएका व्यक्तिलाई सवारीसाधन चलाउन नदिएको बताए । उनले सवारीसाधनको क्षमता भन्दा बढी मानिस तथा सामग्री नराख्न अनुरोध गर्दै अनिवार्य रूपमा सिटवेल्ट र हेलमेट प्रयोग गर्न सवारीसाधन चलाउँने‚ मादक पदार्थ सेवन नगरी कम गतिमा चलाउने पूर्ण रूपमा ट्राफिक नियमको पालना गर्न अनुरोध गरिएको छ ।