सुगरका मुख्य औषधीमा प्याटेन्ट अधिकार अन्त्य: मुल्य एक तिहाइले घट्नुपर्ने

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
42 Shares
काठमाडाैं

यो महिनादेखि औषधीको प्याटेन्ट अधिकार समाप्त गरिएकाले मधुमेहविरुद्धको औषधी सिटीग्लिप्टीन सस्तो हुने देखिएको छ। यो औषधी अब  हालको मूल्यको एक तिहाइमा भारतमा उपलब्ध हुनेछ किनकि धेरै भारतीय फर्मास्युटिकल्सले औषधीको उत्पादन तत्काल सुरु गर्ने योजना बनाएका छन्। मधुमेहका अधिकांश औषधी भारतबाट आउने भएकाले नेपालमा पनि  त्यसको मूल्य एक तिहाइले घट्नु पर्छ।

सिटीग्लिप्टीन मधुमेह दोस्रो प्रकार- टाइप टु डायबिटिजको उपचारमा प्रयोग गरिन्छ। शरीरले इन्सुलिन उत्पादन वा सामान्य रूपमा प्रयोग नगरेपछि टाइप टु डायबिटिजमा रगतमा चिनीको मात्रा बढी हुन्छ।

मेटफर्मिन ( टाइप टु डायबिटिजको उपचारमा प्रयोग हुने औषधी ) जस्ता औषधीहरूबाट साइड इफेक्टको जोखिम रहेका वा शरीरमा राम्रो काम नगरेको अवस्थामा मानिसहरूको उपचारका लागि वैकल्पिक रूपमा सिटीग्लिप्टीन नामक लोकप्रिय औषधी दिइन्छ।

अमेरिकी फर्मास्युटिकल मर्क एन्ड कम्पनीद्वारा विकसित, सिटीग्लिप्टीनलाई अमेरिकी खाद्य तथा औषधी प्रशासन सन् २००६ मा अनुमोदन गरिएको थियो। यो डिपेप्टीडील पेप्टीडेस–४ (डीपीपी ४)  को रूपमा चिनिने औषधीको वर्गीकरणमा  अनुमोदित पहिलो मधुमेहविरुद्धको उपचार थियो जसले शरीरमा बढेको चिनीको मात्रा कम गर्न शरीरभित्रै क्षमता वृद्धि गर्दछ।

मर्कले हालसम्म भारतमा जानुमेट ब्रान्ड अन्तर्गत सिटीग्लिप्टीन र मेटफर्मिनको निश्चित मात्रा मिश्रणको मार्केटिङ गर्दै आएको थियो। मर्कसँगको इजाजत पत्र सम्झौता अन्तर्गत, सन फार्माले सिटीग्लिप्टीन र सिटीग्लिप्टीन–मेटफर्मिन संयोजन पनि बजारमा ल्याएको छ। भारतमा औषधीको खुद्रा मूल्य अहिले प्रति ट्याब्लेट ३८ देखि ४५ रुपैयाँभन्दा बढी छ।

औषधीको प्याटेन्ट समाप्त हुनुअघि राष्ट्रिय औषधी मूल्य निर्धारण प्राधिकरण (एनपीपीए) ले गत महिना सिटीग्लिपिन फर्मुलेसनको खुद्रा मूल्य प्रति ट्याब्लेट ८ देखि २१ रुपैयाँ तोकेको थियो।

रिपोर्टका अनुसार सन् २०१८ मा मधुमेह विरुद्धको औषधीको विश्वव्यापी बजार मूल्याङ्कन ४८ अर्ब ७५ करोड ३० लाख अमेरिकी डलरको थियो र सन् २०२६ को अन्त्यसम्ममा ७८ अर्ब २६ करोड १० लाख अमेरिकी डलर  पुग्ने अनुमान गरिएको छ।

सन् २०१७ को विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्रतिवेदनले भारतमा लगभग ६ करोड ९२ लाख मानिसहरू दोस्रो प्रकारको मधुमेहसँग सामना गर्दै जीवनयापन गरिरहेका छन् र र ल्यान्सेट मधुमेह र एन्डोक्राइनोलजी जर्नलमा प्रकाशित २०१९ अध्ययन अनुसार यो सङ्ख्या सन् २०३० सम्म लगभग ९ करोड ८० लाख पुग्ने अनुमान छ।

मूल्य घट्यो, पहुँच बढ्यो

ग्लेनमार्क र डा. रेड्डीज सहित धेरै भारतीय फार्मास्युटिकल्सले सिटीग्लिप्टीन सुरु गर्ने आफ्नो योजना यो साता घोषणा गरेका छन्।

“हामीले स्टिग ब्रान्ड नामबाट सिटीग्लिप्टीनको उत्पादन सुरु गर्दै छौ। ‘सुस्वास्थ्यका लागि पर्खन सकिदैंन’ भन्ने हाम्रो उद्देश्यलाई ध्यानमा राख्दै डा. रेड्डीज स्टिग मधुमेहका बिरामीहरूका लागि उपलब्ध सबैभन्दा किफायती मूल्यमा उपलब्ध विकल्पहरू मध्ये एक हुनेछ,” कम्पनीका प्रवक्ताले बताए।

यसैबिच, ग्लेनमार्कले एक विज्ञप्तिमार्फत भनेको छ- कम्पनीले दोस्रो प्रकारका मधुमेहका बिरामीहरूको पहुँच र किफायती बढाउन सिटाजिट® ब्रान्ड नाम अन्तर्गत सिटीग्लिप्टीनमा आधारित औषधीको विभिन्न आठ प्रकारका संयोजनहरू प्रस्तुत गरेको छ।

“दोस्रो प्रकारको मधुमेह जस्ता दीर्घकालीन रोगहरूमा, बिरामीहरूले लामो समयसम्म धेरै मधुमेहविरुद्धको औषधीहरू सेवन गर्न आवश्यक हुन्छ। यसबाहेक, भारतमा बिरामीहरूले औषधीको लागत आफैँ बेहोर्नुपर्छ। त्यसैले औषधीको मूल्य एक प्रमुख कारक बन्छ जसले उपचारको विश्वसनीयतालाई असर गर्छ। ग्लेनमार्कको सिटीग्लिप्टीन र यसको निश्चित मात्रा संयोजनको मूल्य भारतमा यसको नवीनतम ब्रान्डको लागतको लगभग एक तिहाइ हो,” ग्लेमार्कले एक विज्ञप्तिमार्फत भनेको छ।

ग्लेनमार्कका प्रवक्ताले बताए अनुसार यस औषधीको मूल्य  १० देखि २० भारुको बिचमा हुनेछ, जबकि मर्कले उत्पादन गरेका मिश्रणको मूल्य प्रति ट्याब्लेट  २३ देखि ४१ भारुसम्म रहेको छ।

राष्ट्रिय औषधी मूल्य निर्धारण प्राधिकरणको मूल्य नियन्त्रण आदेशले जाइडस, एबोट हेल्थकेयर, आकुम्स, टोरेन्ट, स्काइम्याप र इमक्युर लगायत अन्य धेरै औषधीहरूमा पनि आकस्मिक रूपमा प्रभावित हुनसक्ने देखिएको छ।

द प्रिन्टमा प्रकाशित मोहना बसुको रिपोर्टमा आधारित

प्रस्तुति: मनोजराज रेग्मी

-श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाईको प्रतिक्रिया