७२ बर्षीया भानादेवीको चित्रकला, वाल पेन्टिङमा अझै सक्रिय

सीपी लोहिया स‌चारकर्मी
14 Shares
बैतडी

बैतडीको सुर्नया गाउँपालिका–२ की भानादेवी चन्द ७२ वर्षकी भइन् । उनी अझै पनि मन्दिर, सार्वजनिक स्थल तथा घरहरूमा पेन्टीङ्ग गरिरहेकी भेटिन्छिन् ।

भानादेवी भगवानका फोटो र आफूले देखेका सबै वस्तु दुरुस्तै चित्रमा उतार्न सक्छिन् । उनले अहिलेसम्म दुई हजारभन्दा बढी चित्र कोरेको सुनाइन् । बाल्यकालमै पेन्टिङको काम सुरु गरेको उनले बताइन् । उनी एक पटक देखेको कुरा नहेरेरै जस्ताको तस्तै चित्र बनाउन सक्छिन् ।

माइतीघर भारतको धार्चुलामा कक्षा ५ सम्म अध्ययन गरेकी उनले १० वर्षको उमेरदेखि चित्र बनाउन सुरु गरेकी हुन् ।

भानादेवीका चित्रकला बैतडीदेखि काठमाडौँसम्मका सार्वजनिक स्थल तथा घरमा रहेको उनका छोरा नरेन्द्रले बताए । उनले भने, ‘आमा फुर्सदको समयमा पेन्टिङ गर्नुहुन्छ । उहाँले बैतडीदेखि काठमाडौँसम्मका भित्ताहरू फोटोले रङ्गाउनुभएको छ । उहाँले कोर्न खोजेको चित्र एक पटक हेरे मात्रै पुग्छ । उहाँसँग राम्रो क्षमता छ । केही ठाउँमा पुरस्कृत समेत हुनुभएको छ । उहाँले पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको काठमाडौँस्थित घरमा पनि विभिन्न चित्र कोर्नुभएको छ ।’

भानादेवी चित्रकलाबाट स्थानीय स्तरमा परिचित भए पनि प्रतियोगिताहरूमा भने खासै सहभागी हुने अवसर पाएकी छैनन् । उनले कुनै चित्रहरूको मूल्य राख्ने गरेकी छैनन् । कसैले स्व इच्छाले दिएको रकम र रंङ खरिद गर्दाको पैसाबाहेक पारिश्रमिक नलिने गरेको चन्दको भनाइ छ ।

गाउँ ठाउँका कसैले पेन्टिङका लागि आग्रह गरेमा त्यहाँ पुगेर चित्र कोरिदिने गरेको चन्दले सुनाइन् । आफूसँग भएको सीप अरूलाई सिकाउन नपाउँदा चन्द चिन्तित देखिन्छन् । साथै, पछिल्लो समय चित्रकलाप्रति युवापुस्ताको ध्यान जान नसक्नु दुःखद भएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका