जीवनमा बाटो धेरै हुन्छन् । बाटोले पहिल्याउने गन्तव्यहरू पनि त्यति नै । ती सबै बाटोले बनाएको गन्तव्यलाई स्पर्श गर्छ नै भन्ने पनि छैन । तर पनि मानिसहरू बाटोले बनाएको गन्तव्य पुगोस् नपुगोस् हिँड्न भने छाड्दैनन् । हिँड्दाहिँड्दै बाटाहरू छुट्टिन्छन्, टुङ्गिन्छन् र फेरि जोडिन्छन् । कतिपय बाटाहरू भने यसैयसै बिर्सिन्छन् । हो, तिनै बिर्सिएका बाटाहरूलाई सम्झनको लागि कवयित्री रचना मोक्तान तामाङ ‘यात्री’ले सघन काव्य शिविर सञ्चालनमा ल्याएकी छन् । शिविरको नाम ‘थोरबा दोखाङ ’अर्थात् ‘बिर्सिएको बाटो ’ रहेको छ । पुस्तकलाई तामाङ डाजाङले प्रकाशन गरिएको छ ।
साहित्यमा कविताले जति भारी सायदै अरू विधाले बोक्ला ? त्यसको हिसाब अहिले आवश्यक छैन किनभने कवयित्री यात्रीले एकाउन्न वटा फरक चरित्रको वजनदार कवितालाई प्रस्तुत कृतिमा बोकेकी छन् । कृतिमा शक्ति हुन्छ । त्यो शक्तिलाई भाषाले बोक्दछ । यो अर्थमा कविको भाषा कविता हो । त्यसमा पनि आमाबाबु जो सबैभन्दा ठुला भाषाविद् हुन् । उहाँहरूबाट सर्दै आएको भाषालाई कविताहरूले बोकेका छन् । यो सबैभन्दा ठुलो कुरा हो । आकाश परिवर्तनशील छ । कहिले उज्यालो, धुम्म, खुल्ला, अँध्यारो आदि आकाशका चरित्र हुन् । आकाश धरतीलाई चाहिने ऊर्जा निरन्तर प्रदान गरिरहन्छ । तर एकनास रहने धरती हुन् । त्यही धरती टेकेर हुर्कदैं सपनामा हाम फाल्छौँ । यहाँ पिता आकाश हुन भने आमा धरती । सायद यसैले पनि होला पिताहरूको तुलनामा आमासँग समर्पित कविताहरू बढी नै कोरिएका हुन्छन् । तर कवयित्री यात्रीले आपा र आमालाई छुट्टाएकी छैनन् । दुवैसँगको आत्मीय सम्बन्धलाई काव्यिक चिन्तनबाट अघि सारेर आमाबाबुप्रति कृतज्ञ व्यक्त गरेकी छन् । आपाआमाको छोरी हुनुको सम्बन्धलाई गर्विलो बनाएकी छन् ।
समाजको छाल बुझ्न समाजमा घुल्नु पर्छ । घुल्न नसक्दा घुलाउने रसायन बन्नु पर्छ । रसायन बन्न त्यति सजिलो छैन । रसायन बन्ने क्रममा आफै रसायनसँगै विलीन भएका र रसायन बन्न नसकेर उछिटिएर तितरबितर भएकाहरूको तीतो सम्झनाले कवयित्रीलाई धेरै ठाउँमा धेरै चोटि चिमोटेका छन् । नवराज ब्ला/सुर्यबाहदुरला राप/घाइते योद्धा कविता यसैको गर्भमा रचिएकी छन् । पुर्खाहरूले समय अन्तरालमा जीवन जिउने कलालाई पछ्याउँदै गए । समयलाई बेलगाम भाग्न दिएनन् । आफू बाँच्ने र बाँच्नेहरूका लागि प्रेरित गर्ने कलाहरू सिक्ने र सिकाउँदै गए । जुन संस्कृति र सभ्यताको नाममा अहिलेका पुर्खाले त्यसलाई अनुसरण गरिरहेका छन् । तिनै संस्कृतिले आज फरक मौलिकताको आधार खडा गरिएको विम्बको स्वीकारोक्तिमा तामाङ रिमठिम/डम्फु थेन चाबा ग्रान शीर्षकको कविता उभिएका छन् ।
देशका नामहरू राजनैतिक सीमाले बाँधिएका हुन्छन् । जब राजनीति दूषित हुन्छ तब जनता राता मान्छे बनेर परिवर्तनको लागि विद्रोह गर्छन् । क्रूर शासकहरू विद्रोहको भाषा बुझ्दैनन् र जनता माथि बर्बरपूर्ण दमन गर्दछ । मानवीय सङ्कटलाई निम्त्याउँछन् । कविहरू बर्बर देख्न, हेर्न र सुन्न सक्तैनन् । त्यति बेला भूगोलको सीमाले कविका संवेदना र सहानुभूतिलाई छेक्न सक्दैन । कविहरू मानवीय संवेदनाको पक्षमा सबै भन्दा अग्रपंत्तिमा वकालत गर्दछन् । यही सन्दर्भमा कविहरू प्रशासित छन् । यहाँ कवयित्री यात्रीलाई पनि भूगोलले छेकेका छैनन् रत नेपालभन्दा कोसौँ टाढा सिरियामा भइरहेको गहिरो मानवीय सङ्कटको पक्षमा वकालत गरेकी छन् ।
छार ल्हुइ याङलावा बिबा आसासे
ग्रेन ग्रेन अबिलासासे
दुइ थेन ल्हुइला
कठोर युद्ध ताबान लामा
चु मि टिभिला पर्दारि
सिरियाला मुरि निलिमादा म्राङला
मिसाइलला म्हाङ म्हाङबा
खसुसे गाप्सि टिबा
सिरिया/६१
छोरी भएर जन्मनु कुनै अभिशाप हुन सक्दैन । छोरीले कुनै दया होइन समानता र समता खोजेकी हुन् । तर विभेदपूर्ण समाजले अधिकारका विषयहरूमा नारीमाथि सदैव गम्भीर ठट्टा गरिरहेका छन् । पितृसत्तात्मक जरो काट्न ज्ञानसत्ताको आवश्यकतालाई औँल्याउँदै कवयित्रीका कविता प्राथमिकतामा परेका छन् ।
आज्याबा पेठिम
अन्यायला म्लाङ म्लाङबा खसुसे
ह्युलनोन ल्हुङ गाप्पारि छेजि
थे तासि
दारेम दोसिन रेदोजि
दारेम दोसिन छेदोजि
जामे उत्पीडन/८५
सुख, दुख, भय, संवेदना, उत्साह, प्रेम, निराशा, विक्षिप्तता, क्रोध, दुश्मनी मानवीय स्वभावका असुन्तलनहरु हुन् । त्यसलाई कवयित्रीले कविताहरूमा टिपेकी छन् । जीवन सघर्षलाई उतारेकी छन् । आफ्नो कुकर्महरूलाई अपराधका रूपमा नस्वीकार्नेहरुलाई बेस्मारी गाली गरेकी छन् । गरिबी, अन्याय, अत्याचार, भेदभाव, असमानता जस्ता प्रतिकुलतालाई सामाना गर्दै, समन गर्न मानवलाई ऊर्जा प्रदान गर्न कविताका भावहरू उद्धत देखिन्छन् । कविताहरू देशबाट परदेश परदेशबाट देश पसेका छन् । त्यस्तै गाउँबाट सहर र सहरबाट फेरि गाउँ फर्केका छन् । आफ्नो पुर्खा, धर्म र परिवेशलाई सम्झेकी छन् । कविताले जातीय, क्षेत्रीय तथा लैङ्गिक हिंसा र उत्पीडनलाई साहित्य युद्धभित्र समाहित गर्दै नाराबाजी गरेकी छन् ।
अधिकांश कविताहरू प्रगतिशील चिन्तनबाट निर्दिष्ट छन् । भाव पक्षबाट कविताहरू निकै बलिया छन् । भाषिक सौन्दर्य कविताको अर्को विशेषता हो । शब्द स्रोतहरूको मौलिक चित्रणले कवितालाई थप पठनीय बनाएको छ । कविताहरूले बाटो र पाटोलाई खोजेका छन् । कस्मेटिक भाषाको लेपबाट कविताहरू मुक्त छन् । यद्यपि कविताहरू पढ्दै गर्दा कविताभित्र प्राकृतिक स्पन्दन, कल्पना र आकाशको उडान कम अनुभव हुन्छ । विम्बको ठाउँमा नाराहरू लगाएका छन् । त्यस्तै विचारको झन्डा कविताहरूमा गाडिएकोले कविताहरू क्रस फाइरमा परेका छन् ।
अन्तमा कवयित्री पेसाले स्वयम शिक्षिका जो आफैमा उज्यालोको प्रतीक मानिन्छ, त्यस माथि यात्री । यात्री जोसँग अनुभूति र अनुभवका खातहरू हुन्छन् । यी दुवैको चेपमा बसेर प्रतिरोधबाट सौन्दर्यको अभिलाषा कविताहरूले साँचेका छन् । यस अर्थमा कविताहरू कविता भएर बाँचेका छन् । कविता सङ्ग्रह थोर्बा दोखाङले तामाङ नारीको काव्यिक चेतलाई उजागर गरेको मात्र छैन तामाङ वाङ्मयलाई उचाइ प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा विश्वस्त हुन सकिन्छ ।