आदिवासी प्रश्न

1015 Shares

चित्र : सुवास तामाङ

मेरो पुर्खाले ‘वन’ होइन ‘ह्रि’ भने
‘घर’ होइन ‘धिम’ भनेर भाषा चिने
मेरो आखेले, मेरो मामले, मेरो आपाले,
अनि मेरो आमाले
‘ह्रि’ नै भने
‘धिम’ नै भने
आज म पनि ‘ह्रि’ र ‘धिम’ नै भन्दैछु।
‘वन’ र ‘घर’ भनेर मैले तिमीलाई सुनाइरहँदा
मेरो लयले तिम्रो लय छुन नसक्ला
तिमीले आफ्नै भाषामा रटाएको
व्याकरणको ठेली र शब्दको महासागरमा मैले डुबल्की मार्न नसकुँला
वन भनिरहँदा ‘वान’ सुनिन सक्ला
घर भनिरहँदा ‘घार’ सुनिन  सक्ला
मेरो भाषा, मेरो लय ठ्याक्कै तिम्रै जस्तो पक्कै नहोला
के म बोल्दै नबोलुँ ?

मेरो आखेले तिमी चढ्ने मोटर बोके,
मोटर गुड्ने राजमार्ग बनाए,
तिमीले पढ्ने स्कुल ठडाए,
अनि तिमीले नै छुनलाई निषेध लगायौ
तिमीले घोक्दै गरेको बाह्रखरी
निषेधाज्ञामा नै
मेरो आखेले क लाई ‘का’ भन्न सिके
ख लाई ‘खा’ भन्न सिके
अनि मेरो आपा
मेरो आमाले त्यसैगरी ‘का’, ‘खा’ भन्दै आए
मैले ‘का’, र ‘खा’ कै लय समातेँ
आज तिमीले जानेको ज्ञान, विज्ञान र संसार
केही त मैले पनि जानेकी छु
ती तमामलाई सम्बोधन गर्न मेरो लय तिम्रै जस्तो नहोला
के म बोल्दै नबोलुँ ?

तिमीले माटो आफ्नो भन्यौ छोडि दियौं,
बाटो मेरै भन्यौ त्यो पनि त्यागि दियौं,
पसिना, रगत सबै सबै
तिम्रै खातिर बगाइ दियौं ।
धर्म तिम्रै भो, कानुन तिम्रै भो, सत्ता तिम्रै भो ।
तिमीबाट जोगाउँदै जोगाउँदै आएको
मेरो पुर्खाको भाषा र लवजमाथि
तिमीले चरित्र र औकातको धावा बोलिरहन्छौ भने
आज पनि
के म बोल्दै नबोलुँ ?

तिम्रो दरवारका खोपीहरुमा थुनिएका कुमारी चिच्चावट
तिम्रो निर्जीव शरीर बोक्ने ढाड र काँधहरु
अब तिमीलाई नै प्रश्न गर्न छिर्दैछ सिंहदरवार र संसद भवन
तिमीलाई आज म मेरै भाषाले बुझाउँछु
तिम्रो मात्र होइन यो मुलुक
तिम्रै मात्र सिर्जनाले सिँगारिएको होइन यो मुलुक
आज तिमीलाई सुनाउँछु
पेङदोर्जे आखेको आदिम डम्फूको धुन
युगौँदेखिको मेरो वीर गाथालाई बुझाउन
अझै म तिम्रै भाषालाई सापटी मागिरहुँ ?

तिम्रो संविधानले
तिम्रो ऐन कानुनले
तिम्रो समाजवाद
बहुलवादले स्वीकारेको मेरो भाषालाई
फेरि बनाइन्छ भने अभाषा
दिइन्छ भने अमर्यादित दर्जा
च्यातिनेछ्न् तिम्रा संविधानका पानाहरु
के च्यातिनबाट रोक्न सक्छौ तिमी
देशको नक्सा ?

तपाईको प्रतिक्रिया

पत्रपत्रिका