अमेरिकामा विगत ११ बर्षदेखि नेपाली समुदायमा क्रियासिल एभरेस्ट टाइम्स पत्रिकाले पत्रकारितासंगै अमेरिकामा किम्फ फेष्टिबल गरि नेपाल चिनाउदै र दुर्गम जिल्लाको विद्यालयलाई सहयोग गदै आएको छ ।
एभरेष्ट टाइम्सले हरेक बर्ष किम्फ गरेर विद्यालयलाई सहयोग गर्न थालेको पाँच बर्ष पूरा भएको छ । किम्फ (काठमाडौ इन्टरनेशनल माउन्टेन फिल्म फेष्टिबल) नेपालमा हिमाल एसोसियसनले लामो समयदेखिन राजधानीमा गदै आएको चर्चित कार्यक्रम हो । एसोसियसनसंग एभरेष्टटाइम्सले अमेरिकामा ५ बर्षदेखिन मिलेर गदै आएको छ ।
नेपालमा लामो समयदेखि हिमाल एसोसिएसनको आयोजनामा हुदै आएको किम्फ देश बाहिर ट्राभलिङ किम्फको रुपमा विगत पाच वर्षदेखि अमेरिकामा एभरेस्ट टाइम्सको सहआयोजनामा हुदै आएको छ । यस पटकदेखिन एभरेष्टटाइम्सकै नामबाट स्थापना गरेको एभरेष्टटाइम्स फाउण्डेसनको सहआयोजनामा भएको हो ।
६ चलचित्र प्रदर्शन
किम्फ नेपालको ग्रामीण भेगको वास्तविक कथा वस्तु समेटेर बनाइएका विभिन्न उत्कृष्ट डकुमेन्ट्रीहरु जुन महिनाको १६ तारिख आइतबार उडसाइडस्थित सिक्सटी वान स्ट्रीटको धर्म हाउसमा भएको थियो । २ बजेदेखि ७ बजेसम्म भएको फेष्टिबलमा ‘सुपर माङक, मरिसकेको मान्छे, तातिनी, माउन्टेन मदर, डोल्पा डायरी र कथा ७२’ चलचित्र प्रर्दशन गरिएको थियो । यस पटकको किम्फमा कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको साथै अन्य मुलुकको दर्शकहरु पनि आएका थिए ।
एभरेस्ट टाइम्सले हरेक वर्ष आयोजना गर्दै आएको किम्फबाट उठ्ने रकम किम्फलाई र हलभाडा दिएर बचेको रकम नेपालको ग्रामीण भेगको विद्यालयलाई सहयोग गदै आइरहेको छ । किम्फ प्रर्दशन गरेर बचेको रकम एभरेष्टटाइम्सले शुरुमा सोलुखुम्बु जिल्लाको चाँगेस्थान मावि केरुङ र सेर्गा बागम प्रावि सेर्गा सोलुलाई, त्यसपछि सिन्धुपाल्चोकको जम्बीयाङ प्राविलाई र गत बर्ष रामेछाप जिल्लाको बाल्दिङ विद्यालयलाई सहयोग प्रदान गरेको थियो । यस पटक प्रर्दशन हुने किम्फबाट उठ्ने रकम भोजपुर जिल्लाको कुनै दुर्गम विद्यालयलाई दिने योजना रहेको आयोजकले जनाएको छ ।
‘प्रवासमा ग्रामीण भेगको मन छुने राम्रो डकुमेन्ट्रीहरु देखाएर नेपालको चिनारी दिनुको साथै यस कार्यक्रमबाट संकलन रकम दुर्गम गाउँको विद्यालयलाई सहयोग गर्न पाउदा खुसी लागेको छ’, ‘एभरेस्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले भने, ‘विदेशमा नेपाल चिनाउने र विद्यालयलाई सहयोग कार्यक्रममा उपस्थित भएर सहयोग गर्नेहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।’ उनका अनुसार किम्फबाट उठ्ने रकम जिल्लालाई दिने भनेर घोषणा गरेसंगै सम्बन्धित जिल्लाका संघसंस्थाहरु तथा व्यक्तिहरुले पनि सहयोग गरिरहेका छन । ‘पाँचौ सस्करणसम्म आउदा दर्शकहरुले दिदै आएको माया र साथले हाम्रो यात्रा अझ उज्वल देखेका छौ’, एभरेष्टटाइम्सको सम्पादक ङिमा पाख्रिनले भने— ‘हामीले नेपाली समुदायहरुको साथै अन्य मुलुकका नागरिकलाइ पनि किम्फको महत्व बुझाउने सोच अनुरुप हाम्रो टिमले गरेको यो सफलता ठानेका छौ ।’
पाँचौ किम्फमा सहाभागीहरुको उपस्थितिले खुसी लागेको एभरेष्टटाइम्सको प्रबन्धक निर्देशक तेम्बा दोङबा ह्योल्मोले बताए । ‘यसपटक सोचेको भन्द पनि बढी सहभागीहरुको साथ र सहयोगले हामीलाई उत्साहीत तुल्याएको छ ।’ महोत्सवमा उपस्थित दर्शकहरुले सबै वृतचित्रहरु मन छुने र सन्देशमुलक रहेको बताए । कतिपय दर्शकहरुको आखा रसाएको थियो ।