ताम्बा घेदुङद्वारा ‘साङसेरकेम’ भिडियो सार्वजनिक

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
154 Shares
काठमाडाैं

नेपाल तामाङ घेदुङको विभाग ताम्बा घेदुङद्वारा ताम्बा गीत साङसेरकेम सार्वजनिक गरेको छ । शनिवार घेदुङको सङ्घीय कार्यालयको सभा हलमा विश्व आदिवासी दिवसलाई मध्यनजर गर्दै एक कार्यक्रम आयोजना गरी गीत सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बागमती प्रदेशका उपसभामुख राधिका तामाङले यो गीत तामाङको खम्बा रहेको बताइन् । ‘ताम्बा गीतले पहिचान बोल्छ’, उनले भनिन्,‘ हामी जहाँ, जुन पार्टीमा रहे पनि भाषा एउटै हो, तामाङ एउटै हुनुपर्छ ।तर अहिले तीव्र रूपमा हाम्रो संस्कृति, भाषामा प्रहर गरिरहेको छ ।’

उपसभामुख तामाङले यो गीतलाई प्रचारप्रसार व्यापक गर्नुपर्ने बताइन् ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि नेपाल तामाङ घेदुङका सङ्घका अध्यक्ष मोहन गोले तामाङले आदिवासी समुदायमाथि चौतर्फी हमला भइरहेको बताए । उनले एकातिर ब्रह्माणवादी राज्यसत्ताको प्रहार, अर्कोतर्फ पश्चिमा उत्पादनको व्यापारीकरण र धार्मिक अतिक्रमणले तामाङ जीवन दर्शन सङ्कटमा परेको उल्लेख गरे ।

गीतमा कलाकारहरू पासाङ मोक्तान, वीरबहादुर घिसिङ, टेक घिसिङ, महावीर लामा ङार्देन, सोमबहादुर मोक्तान, सुरेशकुमार मोक्तान, धनकुमारी घिसिङ, मिलन देवी डुम्जन, सङमाला ग्याबा, विष्णुकुमारी मोक्तान, टंकबहादुर घिसिङ, मुना मोक्तान, सोना मोक्तान, सुनिता मोक्तान, बसुन मोक्तान, जोसिका मोक्तान, कृतिका मोक्तानले अभिनय गरेका छन् ।

त्यस्तै गीतको शब्द, स्वर र सङ्गीत पासाङ मोक्तान, टेक घिसिङ, सोमबहादुर मोक्तान र सङ्गीत संयोजन जोगलाल लामाले गरेका छन् ।

कार्यक्रममा वरिष्ठ लोक गायक चन्द्रकुमार मोक्तान, अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, घेदुङका पूर्व महासचिव बाबु घिसिङ, तामाङ कलाकार सङ्घका अध्यक्ष विश्व दोङ, संस्कृति घेदुङका अध्यक्ष छेवाङ तेन्जिङ लामा, युवा घेदुङका अध्यक्ष विलाम मोक्तान र सञ्चारकर्मी तीर्थ बलले समेत आफ्नो तर्फबाट भनाई राखेका थिए । उनीहरुले तामाङ संस्कृतिलाई दस्तावेजीकरण गर्न अहिलेको डिजिटल युगमा घेदुङले युट्युब च्यानल सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रम नेपाल तामाङ ताम्बा घेदुङको अध्यक्ष पासाङ मोक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव टेक घिसिङ र स्वागत मन्तव्य संस्थाको उपाध्यक्ष धनकुमारी तामाङले गरिएको थियो । सो कार्यक्रममा साङसेरकेम भिडियो बनाउन सहयोग गर्नुहुने सहयोगदाता महानुभावहरूलाई खादा र प्रमाणपत्रद्वारा सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका