सदियौँदेखि सैलुङ डाँडामा लाग्ने गोने ङ्ह्य (जनै पूर्णिमा) मा यस वर्ष बुधवार सकिएको छ । समुन्द्र सतहदेखि ३१४५ मिटरको उचाइमा रहेको सैलुङमा पूर्णिमाको अघिल्लो दिन मेला यो वर्ष आज अर्थात् साउन २५ गते लागेको हो ।
मेलामा भक्तजनहरू आफ्ना दिवङ्गत पितृहरूको सम्झनामा श्रद्वार्पण (ङोवा) का लागि आइपुग्ने गर्दछन् । श्रद्वार्पणका लागि आइपुगेका सैलुङ देउरालीका कान्छा लामाले आफ्ना स्वर्गीय आमाको नाममा लामा गुरुबाट ङोवा मोलम र बत्ती बालेका छन् ।
मेला भर्नका लागि सिन्धुपाल्चोक, रामेछाप, दोलखा लगायतका स्थानबाट झाँक्री, लामाहरूसहित भक्तजनहरू आउने गर्दछन् । बोन्बो (झाँक्री) हरू पूर्णिमाको दिन सैलुङमा पुग्ने गर्छन् । उनीहरू पूर्णिमाको अवसरमा भने ज्ञान आर्जनका लागि गुफावास पनि बस्ने गर्दछन् । यो समयमा देवीदेवता लगायत सबै राम्रा शक्तिहरू गुफामा बस्ने गरेको हुन्छ ।
मेलालाई तामाङ फापरे ह्वाइ (तामाङ दोहोरी), मगर गीत तथा बोन्बोहरूको प्रस्तुतिले विशेष रमाइलो भएका थिए । त्यस्तै तामाङ फापारेको सुटिङ समेत भएका थिए ।
मेलामा स्थानीय केरा, आलु, मकै, चौँरी छुर्पी, खुर्सानी, पदमचल काँक्रो लगायत कृषि उपजहरू किनबेच भएका थिए ।