लिसंखुपाखरले स्व. शम्भुको शालिक प्रतिस्थापन गर्ने

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
322 Shares
काठमाडौं

सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामाले स्वर्गीय शम्भु लामाको स्मृतिमा शालिक प्रतिस्थापन गर्ने उद्घोष गरेका छन् । बुधवार स्व. लामाको ३५ औँ दिनको धुन्ज्यु एवं श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष लामाले स्मृति प्रतिष्ठान गठन गरेर पुस्तकालय, शालिक बनाउने बताएका हुन् ।

शालिक कहाँ बनाउने र उपयुक्त स्थान पाएपछि चाँडै बन्ने उनले प्रतिबद्धता गरे । उनका अनुसार सबैको सल्लाहमा निर्माण हुनेछ । गाउँपालिकाबाट शालिक बनाउनेमा बजेटको कुनै कमी नहुने उनले जानकारी दिए ।

‘म स्कुल पढ्दा हाजिरी जवाफमा आएको प्रश्नले स्व. शम्भु पहिचान भएको हो’‚ अध्यक्ष लामाले भने‚ ‘मेरो पहिलो भेटमा स्व. लामा मैले सोचेको भन्दा फरक पाएँ ।’

शम्भुलाई सत्ताले नै उपेक्षा गरेको हो कि भन्ने लागेको उनको भनाइ थियो ।

श्रद्धाञ्जली सभामा पूर्व गृहमन्त्री बुद्धिमान तामाङले रेडियोमा कान्छो सगरमाथा आरोही शम्भुको नाम आउँदा खुसी लागेको बताए । उनले भने‚‘ उनको बारेमा नचिने पनि एउटा तामाङका छोराले सानै उमेरमा सगरमाथा आरोहण गरेको समाचार म एसएलसी पास गर्ने बेलातिर सुन्दा अत्यन्त हर्षित भएको थियो ।’ शम्भुले सामाजिक क्षेत्रमा गरेका योगदानप्रति नमन रहेको उनले बताए ।

पूर्व मन्त्री दावा लामाले स्व. लामाको मूल्याङ्कन र सम्मान गर्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा घेदुङका सल्लाहकार परशुराम तामाङले यो संसारमा मानव प्राणी जीवित रहन सक्दैन । त्यो सत्यता हो । उहाँबाट शिक्षा लिनुपर्ने बताउँदै स्व. लामा समाजको लागि उदाहरणीय हुन् ।

सहायक रथी गुन्जमान तामाङले जनजातिको लागि योगदान दिन सधैँ लागि पर्ने बताए । स्व. शम्भु समुदायका लागि सक्रिय व्यक्ति भएको बताए ।

त्यस्तै श्रद्धाञ्जली अर्पण गर्दै योन्जन वंशावलीका संयोजक महेन्द्रजङ्ग लामाले राष्ट्रका लागि योगदान दिने व्यक्तिहरूको स्वर्गीय हुन अगावै पनि सम्मान गर्नुपर्ने बताए ।

कार्यक्रममा तामाङ रिमठिम पर्यटन समाजका अध्यक्ष अम्बर बमजनले स्व. लामाको निधनले समुदायको लागि क्षति पुगेको बताउँदै उनको ४९ औँ दिनमा स्मृति ग्रन्थ पुस्तक प्रकाशनका लागि अहिले तयार गरिरहेको जानकारी दिए ।

कार्यक्रममा उनका परिवारका तर्फबाट मञ्जु तामाङले श्रद्धा अर्पण गरेका थिइन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका