आगामी मंसिर महिनामा तामाङ सेलो तथा खाना महोत्सव आयोजना गर्दैछौं- संजीव वाइबा

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

(संजीव वाइबा नेपाल तामाङ कलाकार संघको हालै काठमाडौंमा सम्पन्न छैटौं अधिवेशनबाट दोस्रो कार्यकालको लागि अध्यक्षमा पुनः निर्वाचित हुनु भएको छ । वहाँसँग सैलुङअनलाइनले तामाङ कलाकार संघ, तामाङ कला र संगीतको मौलिकता र तामाङ कलाकारहरुको अवस्थाबारेमा कुराकानी गरेका छौं । प्रस्तुत छ, वहाँसँग गरिएको कुराकानीको सम्पादित अंश)

तपाईं नेपाल तामाङ कलाकार संघको छैटौं अधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचीत हुनु भएको छ । सर्वप्रथम, सैलुङअनलाइनको तर्फबाट बधाइ अनि कार्यकाल सफलताको शुभकामना !

धन्यवाद ।

तामाङ कलाकार संघबारे छोटकरीमा बताइदिनुहोस् न ?

तामाङ कलाकार संघ बारे जानकारी दिनु पूर्व म संघ स्थापनाको संघ स्थापनाको सोच कसरी आयो भन्नेतर्फ थोरै जान चाहन्छु ।

तामाङ कलाकार संघको स्थापना हुनु भन्दा पहिले पनि डम्फु कला केन्द्र र तामाङ संस्कृति तथा कला केन्द्रको नाममा तामाङ कलाकारहरु क्रियाशील थिए । तर, यी संस्थाहरुले सबै तामाङ कलाकारहरुलाई संगठित गरेर अघि बढ्न सकिरहेको थिएन । पछि ती संस्थाहरु निरन्तर पनि हुन सकेन ।

त्यतिबेलासम्म आइपुग्दा व्यक्तिगत रुपमा तामाङ गीत, संगीत, नृत्य र अभिनय क्षेत्रमा थुप्रै तामाङहरु आइसकेका थिए । तामाङ कलाकारहरुलाई हाम्रो समुदायले कार्यक्रमहरुमा व्यक्तिगत रुपमा बोलाउँथे । कलाकारहरु पनि व्यक्तिगत रुपमै जान्थे । तामाङ कलाकारहरु संगठित हुने प्रयास देखिए पनि व्यवसायीक हुन पनि सकिरहेको थिएन । यद्यपी उनीहरु यस क्षेत्रमा थिए । तामाङ कलाकारहरु स्वदेशी कार्यक्रमहरुमा मात्र होइन विदेशमा पनि सांगीतिक कार्यक्रमहरुमा जान थालिसकेका थिए । तर, कतिपय कार्यक्रममा आयोजकहरुले उनीहरुको पारिश्रमिक नदिने समस्या पनि आयो । यसपछि भने तामाङ कला तथा कलाकारलाई व्यवसायीक बनाउँदै लानुपर्छ भन्ने कुराहरु उठे । यो कुरामा तामाङ कलाकारहरु एकमत भए ।

२०६१ सालतिर तामाङ कलाकारले सम्पूर्ण तामाङ कलाकारहरुलाई गोलबन्ध गरेर अघि बढ्ने एउटा संघको आवश्यकता महशुस गर्यो र छलफल प्रारम्भ गर्यो । २०६२ सालसम्म आइपुग्दा छलफलले घनिभूत रुप लिँदै गयो र यसैको फलस्वरुप २०६३ सालमा संघको स्थापना भयो ।

त्यतिबेलाको परिस्थिति भनौं, उपलब्ध कलाकारहरु जति थिए गीत संगीत क्षेत्रका थिए । १७/१८ जना अग्रहहरु लगायत हामी बसेर नेपाल तामाङ कलाकार संघ गठन गर्यौं । संघको स्थापना गीत संगीत क्षेत्रकै कलाकारहरुलाई समेटेर गर्यौं । त्यतिबेला पनि नृत्य र अभिनय क्षेत्रमा तामाङ कलाकारहरु नभएको चाँही होइन, थुप्रै थिए । पछि सबैलाई संघमा समेट्दै आयौं ।

२०६३ मा संघ गठन भयो र संस्था दार्ता ऐन २०३४ अन्र्तगत दर्ता पनि गर्र्यौं । तामाङ कलाकार संघ गठनको मुख्य उदेश्य तामाङ कलकारलाई व्यवसायीक बनाउने, प्रकाशनमा आएका तामाङ गीत संगीतको संकलन तथा अभिलेखिकरण गर्ने र तामाङ सांस्कृतिक संग्रहालय निर्माण गर्ने भन्ने थियो ।

संघ दार्ता गरेपछि शुरुमा हामी ल्होछारलाई गाउँ गाउँ पुर्याउने अभियानमा जुट्यौं । २०६३/६४ तिर तामाङले ल्होछार काठमाडौंको टुँडीखेलमा मात्र मनाउँथे । ल्होछार टुँडीखेलमा सीमित थियो । गाउँमा मानएपनि अहिले जति व्यापक थिएन । सामान्य रुपमा मात्र मनाउने चलन थियो । त्यतिबेला संघले सिन्धुपाल्चोक, काभ्रे र सिन्धुलीको नेपालथोकमा कार्यक्रम लिएर गयौं ।

२०६४ को निर्वाचन ताका संघ ताम्सालिङ अभियानमा लाग्यो । त्यसपछि २०६८ सालको जनगणनामा ‘तामाङ लेखौं अभियान’ भनेर काठमाडौं वरिपरीका तामाङ बाहुल्य ११ जिल्लामा तामाङ जागरण अभियान चलायौं । तामाङहरुले थर वा लामा लेख्ने गर्नले जनगणनामा तामाङको वास्तविक तथ्याङ्क नआउने भएपछि जनगणनामा टिपोटका लागि घरदैलोमा आउने गणकहरुले भर्ने फारममा नामको पछाडि अनिवार्य रुपमा तामाङ लेख्ने लेखाउने अभियान चलायौं । अभियानले धेरै राम्रो गर्यो । २०५८ को जनगणनामा १२ लाख देखिएको तामाङको जनसंख्या २०६८ मा आइपुग्दा १५ लाख माथि हुन आयो । दश वर्षको अन्तरालमा ३ लाख जनसंख्या वृद्धि भएको देखिएको छ । त्यसमा तामाङ कलाकार संघको अभियानको प्रभाव पनि रह्यो ।

दुई वर्ष अघिको ल्होछारमा विवाद भयो । भृकुटीमण्डप र तिनकुनेमा ल्होछार मूल समारोह आयोजना गर्ने देखिए । यो अवस्थालाई तामाङ कलाकार संघले टुलुटुलु हेरेर बस्न सकेनौं र त्यसलाई एउटै बनाउन पहल गर्नु पर्छ भन्ने लाग्यो । संघको ११ औं साधारणसभाले ल्होछार एकताको पहल गर्ने निर्णय गर्यो ।

संघले सबै तामाङ संघसंस्थाहरु बीच छलफल चलायौं र ल्होछार मूल समारोह चाँही टुँडीखेलमै आयोजना गरिनु पर्छ भनि पहल थाल्यौं । हामीले यसो किन गर्यौं भन्दा टुँडीखेलमा आयोजना गर्ने ल्होछार मूल समारोहलाई कतिपयले नाचगानको रुपमा मात्र बुझ्दै आएका थिए र छन् । वास्तवमा टुँडीखेलमा मनाउने ल्होछार भनेको तामाङको सांस्कृतिक आन्दोलन हो र तामाङ शक्ति प्रदर्शन पनि । यही कुरालाई तामाङ संघसंस्था बीच सफलता पूर्वक लाना सक्यौं । फलस्वरुप पोहोर साल एकै ठाउँमा टुँडीखेलमै ल्होछार मूल समारोह आयोजना भयो । तामाङ संघसंस्थाहरु एकै ठाउँमा आए । मलाई लाग्छ अब यसले निरन्तरता पाउनेछ ।

संघले संस्थागत रुपमा अर्थिक अभावका कारण उपचार गर्न नसकेका तामाङहरुलाई सहयोग पनि गर्दै आइरहेका छ । कलाकारहरुले व्यक्तिगत रुपमा पनि आफ्ना हैसियत अनुसार सहयोग गर्ने गरेका छन् । त्यस बाहेक नयाँ कलाकारहरुलाई प्रोत्साहन स्वरुप संघले गर्ने कायक्रमहरु निरन्तर जारी छ ।

तामाङ कलाकार संघलाई नेतृत्व दिँदाको तपाईंको गत कार्यकालको अनुभव कस्तो रह्यो ?

तामाङ कलाकार संघ स्थापना भएको १२ वर्ष पुरा भइसकेको छ । मैले २०७४ सालबाट संघको नेतृत्व सम्हालेको हुँ । अस्ति भर्खरै सम्पन्न छैटौं अधिवेशनबाट म अध्यक्षमा पुन निर्वाचित भएर आएको छु, दोस्रो कार्यकालको लागि ।
संघसंस्था भनेपछि सामुदायसँग अलग हुने कुरा रहेन । सामुदायीक(राजनीतिक मुद्दा र आन्दोलनहरु सित पनि जोडिँदो रहेछ । तामाङ कलाकार तामाङ समाजकै अभिन्न अङ्ग भएकोले सामाजिक–राजनीतिक आन्दोलनमा तामाङ कलाकारको भूमिका के रहने भन्ने पनि हुँदो रहेछ । अस्ति भरखरैको आरक्षण बचाउ आन्दोलनमा तामाङ कलाकारहरुको उपस्थिति देखिएन भन्ने कुरा पनि आएको छ । वहाँहरुले उठाएका कुरा जायज र सही छ ।

तामाङ कलाकार संघमा मेरो गत कार्यकालको नेतृत्वलाई म यसै सेरोफेरोमा रहेर हेर्नु गर्छु । मेरो गत दुई वर्षको संघको नेतृत्वकाल धेरै उपब्धिमूलक रह्यो भन्दिन तर कामहरु भने अवश्य भए । किनभने एकजना कलाकार जीउनु पनि पर्यो, परिवार पाल्नै पर्यो र अर्कोतिर डेरा बसाई छँदैछ । यी सबैलाई मिलाएर गीत संगीतलाई पनि निरन्तरता दिनु पर्ने हुँदा आर्थिक हिसाबले धेरै गाह्रो हुँदो रहेछ ।

यति हुँदा हुँदै पनि छैटौं अधिवेशनसम्म आइपुग्दा दुई सयभन्दा बढी तामाङ कलाकारहरुलाई संघका आवद्ध गर्न सकेका छौं । मुख्य उपलब्धी यही हो भन्छु म । अर्को कुरा तामाङ कलाकार संघ अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सबै तामाङ संघसंस्थामाझ एउटा विश्वासिलो संस्थाको रुपमा स्थापित छ ।

प्रवासी तामाङ संघसंस्थाहरुसँग तामाङ समाजको शिक्षा र स्वस्थ्यलगायत सामाजिक विकासका विभिन्न क्षेत्रमा के कसरी काम गर्न सकिन्छ भनेर मेरो गत कार्यकालको प्रारम्भदेखि नै म छलफल छु । तामाङ कलाकार संघ वहाँहरुसँग हातेमालो गर्दै अगाडि बढिरहेको छ ।

प्रवासी तामाङ संघसंस्थाहरुले ल्होछारलगायत कार्यक्रमहरुमा नेपालबाट तामाङ कलाकारहरु लाने गर्दछन् । यसको समन्वय पनि संघले नै गर्दै आइराखेको छ ।

यसले नव प्रवेशीहरुलाई पनि कलाकारीता क्षेत्रमा लाग्न प्रोत्साहित गरेको छ । अर्को कुरा कलाकारहरुलाई आफू अब्बल हुनका लागि साधनामा लाग्न प्रेरित गर्ने कार्य पनि भइनै राखेको छ ।

नयाँ कार्यकालमा संघलाई अगाडि बढाउने तपाईंको कार्ययोजनाहरु के के छन् ?

अहिलेसम्म हामीले जे जति गर्यौ संस्थालाई स्थापित गर्ने कार्य मात्र गर्यौं । कलाकारलाई संगठित गर्ने, संघलाई राष्ट्रिय(अन्तर्राष्ट्रिय रुपमा चिनाउने र देशविदेशमा कार्यक्रमहरु लैजाँदा व्यवस्थित गरेर लैजाने काम गर्यौं ।

संघको उद्देश्य अनुसार कार्यहरु सम्पादनका लागि मुख्य चाहिने भनेको आर्थिक नै हो । आर्थिक बिना कुनै पनि कार्य सफल नहुने कुरा प्रष्ट छ । त्यसैले आर्थिक रुपमा संघ बलियो हुनु पर्दछ भन्ने अहिलेको मेरो पहिलो र मूल एजेण्डा हो ।

सका लागि अस्ति भरखरै सम्पन्न अधिवेशनमा नै मैले तामाङको एउटा विशेष कार्यक्रम गर्ने भनेर घोषणा पनि गरेका छु । त्यो कार्यक्रम भनेको तामाङ सेलो तथा खाना महोत्सव हो । कार्यक्रमको बेग्लै र विशेष महत्व पनि छ ।

यति धेरै तामाङ कलाकारहरु सेलो गीत संगीतकै माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुगेका छन् । तर, अहिलेसम्म एउटा राष्ट्रियस्तरको सेलो महोत्सव आयोजना गर्न सकेको छैन । तामाङ कलाकार संघको उद्देश्य भनेको सेलो गीत संगीतको संरक्षण, संवद्र्धन र विकास पनि हो ।

नेपाल सरकार सन् २०२० लाई राष्ट्रिय रुपमा ‘पर्यटन वर्ष’ मनाउने तयारीमा छ । संघले पर्यटन वर्षसँगै जोडेर आगामि मंसिर २७ र २८ गते दुई दिन काठमाडौंमा ‘तामाङ सेलो तथा खाना महोत्सव’ गर्ने भनेका छौं । नवनिर्वाचित समितिको पहिलो बैठकले यसलाई निर्णय पनि गरिसकेको छ ।

कार्यक्रममा सेलोका अग्रज हस्तीहरुदेखि नव प्रवेशीसम्मले सेलोका विविध स्वद पस्कने छन् । जसमा तामाङ गाउँघरमा गाइने क्षेत्र विशेषका मौलिक भाकाहरु जस्तो सिन्धुपाल्चोकको खान्दोके सेलो, पूर्वमा गाइने ठेट सेलोदेखि आधुनिक सेलोसम्म र पश्चिमी तामाङका म्हेन्दोमायाका विविध भाकाहरुका सबै स्वादहरु एउटै मञ्चबाट सुन्न पाउनेछन् ।

त्यसैगरी तामाङ खाना महोत्सवको पनि आफ्नै महत्व छ । किनकी हामी आफैंलाई पनि तामाङ खाना बारे त्यति धेरै ज्ञान छैन । तामाङ कुन खाना कस्तो हो अनविज्ञ छौं । आ–आफ्नो ठाउँमा थाहा होला तर त्यसको संकलन र प्रचारप्रसार गर्न सकेका छैनौं । हामी आफैंलाई थाहा छैन भने हाम्रा नयाँ पुस्ताले त थाहा पाउने कुरा नै भएन । त्यसो हुँदा अहिले नै हामीले तामाङ खानाको विविधताको खोज तथा अध्ययन गरी प्रचारप्रसार गर्न सकेनौं भने विस्तारै ती सबै कुराहरु लोप भएर जानेछन् ।

अहिले हाम्रा सेलो गीतहरु पनि मौलिक स्वरुपमा छैनन् । आधुनिकतातिर बढि नै ढल्किदै गइरहेका छन् । हामीले नै यी चिजहरुलाई बचाउन सकेनौ भने पछिल्ला पुस्ताले त थाहा पउने कुरा नै भएन ।

महोत्सवको माध्यमबाट कम्तिमा तामाङ नयाँ पुस्ताले तामाङ खानाहरु के के रहेछन् थाहा पाउनेछन् र तामाङ लेसो गीत संगीतको स्वाद पनि लिनेछन् । नयाँ पुस्ताले तामाङ सेलो र खाना भनेको त यस्तो पो रहेछ भनेर बुझ्न पाउनेछन् । महोत्सवबाट संघलाई आर्थिक हिसाबले पनि लाभ हुन्छ भन्ने आशामा छौं । कार्यक्रमबाट कम्तिमा ५ लाख रुपौयाँ आर्थिक संकलन गर्ने योजना बनाएका छौं ।

साथै तामाङ संघसंस्थाहरु नेपाल तामाङ घेदुङ, आन्तर्राष्ट्रिय तामाङ परिषद्, प्रवासी तामाङ संघसंस्थालगायत स्वदेशमा क्रियाशील तामाङ संघसंस्थाहरुसँग छलफल गरेर तामाङ समुदायको शिक्षा, स्वास्थ्य, आर्थिक, रोजगार, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा के गर्न सकिन्छ योजना बनाएर अगाडि बढ्ने सोच पहिले देखिकै हो ।

संघलाई देशविदेशमा क्रियाशील तामाङ संघसंस्थाहरुसँग समन्वयात्म ढ्ङ्गबाट विशेषतः सांस्कृतिक सहकार्य गरी रुपमा अघि बढ्ने सोच बनाएका छौं । तामाङ समाजको समग्र विकासमा तामाङ कलाकारलाई जोड्ने प्रयासमा छौं । त्यसका लागि छलफल जारी छ ।

यसका लागि संघका वरिष्ठ उपाध्यक्ष विश्व दोङको संयोजकत्वमा नव निर्वाचित समितिको पहिलो बैठकबाट तीन सदस्यीय राष्ट्रिय तथा अन्तर्राष्ट्रि संघसंस्था समन्वय विभाग गठन गरिएको छ । त्यसैगरी संघका कोषाध्यष सुवास मोक्तानको संयोजकत्वमा आर्थिक विभाग, संघका सचिव रोशन फूबाको संयोजकत्वमा प्रचरप्रसार विभाग र फूलकुमार बम्जनको संयोजकत्वमा खोज-अनुसन्धान विभाग गठन भइसकेको छ ।

सेलो गीत तात्कालीन इलेक्ट्रोनिक मिडिया रेडियो नेपालबाट कहिले प्रसारण भयो थाहा छैन । त्यसको खोजि गरी संघले पहिलो पटक सेलो प्रशारण भएको दिनलाई सेलो प्रशारण दिवसको रुपमा मनाउने भनेका छौं । अर्को कुरा तामाङ गीतहरु अहिलेसम्म कति आएका छन् ? त्यसको यकिन अभिलेख छैन । यो धेरै गाह्रो काम पनि हो । पहिले पहिले एल्बम हुन्थ्यो, एल्बममा कति गीत छन् थाहा हुन्थ्यो । अहिले युट्युबको जमाना छ । युट्युब मार्फत् गीतहरु रिलिज हुन्छन् ।

त्यो खोज्नलाई पनि धेरै गाह्रो छ । व्यक्तिगत रुपमा संकलन पनि कठिन कार्य हो । तै पनि के कति सकिन्छ शुरुआत गर्दै जाने भन्ने हो । यसका लागि नै खोज–अनुसन्धान विभाग गठन गरिएको हो ।

अहिले कस्ता तामाङ गीतहरु आइराखेका छन् ? कस्ता गीत चलेका छन् बजारमा ?

बजारमा सदबहार चल्ने गीत भनेको सेलो नै हो । सेलोको प्रारम्भ डम्फुको उत्पतिसँगै जोडिएर आउँछ । डम्फुको ताक धुँइ धुँइ तालसँगै गाउँदै आएको गीत नै सेलो हो । मैले बुझेको यो हो । सेलोका अरु पनि परिभाषा होलान्, खोज्न बाँकी नै छ ।

अहिले बजारमा फापारे सेलो, खान्दोके सेलो, पूर्वेली ठेट सेलोदेखि आधुनिक सेलोसम्म आएको पाउँछौं । पश्चिमी म्हेन्दोमाया गीतहरु पनि आएका छन्, चलेका पनि छन् । यी गीतहरु कहाँबाट कहिले र कसरी शुरु भयो, खोजिको पाटो अर्को होला । त्यो पनि हामी विस्तारै गर्दै जानेछौं ।

बजारमा धेरै आइराखेको अर्को गीत भनेको लभ सङ हो । लभ सङ धेरैले मन पराउँछन् र चलेका पनि छन् । यस्तो गीतको भ्यूवर्स पनि धेरै हुन्छन् । पच्छिल्लो चरणमा तामाङ चलचित्रका कारण पनि होला, लभ सङको प्रभाव बढी देखिएको ।

त्यसैगरी बजारमा आउने अर्को खालको गीत भनेको तामाङ लोक र पप गीतहरु हुन् । समग्रमा हेर्दा गीतका सबै भेराइटिजहरु आएका छन् ।

तामाङ गीतहरु अलि बढी आधुनिकता तर्फ अघि बढेको देखिएको छ । सेलोमा पनि मौलिक भन्दा पश्चिमी बजाहरुको प्रयोग बढी देखिएको छ । हामी जति मौलिक बाजा र गीतहरुको कुरा गर्छौं, त्यसले मात्र स्रोता, दर्शको मन जित्न सक्दो रहेनछ । त्यसैले आधुनिक बाजाहरुको प्रयोग गरेर आधुनिक रुपमा सेलो गीतहरु आइराखेका छन् । दर्शक–स्रोताको रुची पनि त्यसैमा छ र खोजि पनि ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा हेर्दा पनि सेलोले सजिलै सबैको मन मस्तिष्कमा छुन सकेको देखिन्छ ।

बजारले रुचाउनु र चल्नु एउटा कुरा होला । तर, कुनै पनि चिजको आधर हुन्छ, मौलिक स्वरुप हुन्छन् । तामाङ गीत संगीतका पनि त्यही होला । तामाङ गीत संगीतको मौलिकता बचाइराख्न कस्ता कामहरु भइराखेका छन् ? त्यसका लागि संघले कस्तो भूमिका खेलिराखेको छ ?

गीत संगीत चलेन भने कलाकार बाँच्दैन । त्यसैले बजारलाई ध्यान दिनै पर्छ । अर्को कुरा तामाङ अग्रज कलाकारहरुको ध्यान चाँही बजार सँगसँगै मौलिक गीत संगीतलाई पनि जोगाएर लानु पर्छ भन्ने हो । तामाङ कलाकार संघको पनि त्यही हो ।

बजारलाई मात्र ध्यान दियौं भने हाम्रो मौलिक गीत संगीत त लोप भएर जान्छन् । मौलिक तामाङ गीत संगीत भनेको तामाङको पहिचानसँग जोडिएको विषय पनि हो । त्यसैले यसमा हामी सचेत छौं ।

मौलिक गीत संगीत भन्नाले स्थानीय लोक भाकाहरु हुन सक्छन् । त्यसलाई संस्थागत रुपमै प्रकाशन गर्दै जानु पर्छ भन्नेमा छौं । यसमा व्यक्तिगत रुपमा पनि जो जो अग्रज कलाकारहरु यस क्षेत्रमा लागि रहेका छन् वहाँहरुले पनि काम गर्दै आइरहनु भएको छ ।

अहिले आएर सेलो गीत संगीत क्षेत्रमा विकृती पनि हुँदै आएको छ । गीतमा उच्छृङ्खल शब्दहरु पनि बढ्दै गएको देखिन्छ । गीत रचना गर्दा शब्दको ख्याल नगर्ने पनि देखिएको छ । नयाँ नयाँ गीतहरुमा त्यो धेरै देखिएको छ । कतिपय त आफूले लेखेको शब्दको अर्थ आफैंलाई थाहा नहुने पनि देखियो, कतिपय अनर्थ लाग्ने शब्दहरु पनि आएका छन् । यसलाई रोक्नु पर्छ भन्ने छलफल चलेको छ । हामीसँग त्यसलाई रोक्ने कानुनी अधिकार त छैन तर अहिले तामाङ कलाकार संघमा आवद्ध कलाकारको संख्या भनेको नेपालका समग्र तामाङ कलाकारहरुको साठी प्रतिशत हो भन्ने लाग्छ मलाई । यतिलाई मात्र सचेत गर्न सक्यौं भने यो विकृतीमा कमी आउँछ भन्ने हो ।

संघले तामाङ मौलिक गती संगीतको क्षेत्रमा काम गर्ने कुनै योजना बनाउनु भएको छ ?

त्यस्तो खास योजना त छैन । तर, माथि पनि भनि सकेँ संघ यसबारे सचेत भने छ । जस्तो, मेरै आफ्नै कुरा गरौं । मानौ मैले वर्षमा तीनवटा गीत ल्याउँदैछु भने त्यसमा दुईवटा बजार लक्षित हुन सक्छन् । तर, कम्तिमा एउटा गीत भने म हाम्रो आफ्नो मौलिक चाढपर्व, संस्कृति, संस्कार, परम्परा बारे ल्याउने कोशिसमा हुन्छ । त्यसमा हाम्रा परम्परागत बाज डम्फुसँगै टुङना र बाँसुरीको प्रयोगदेखि मौलिक शब्द, लय, भाकाको ख्याल गर्ने गर्छु ।

तामाङ कलाकारहरुको अवस्था कस्तो छ ? तामाङ गीत, संगीत र कला क्षेत्रमा लागेर कलाकारहरु बाँचेका छन् कि छैनन् ?

तामाङ गीत, संगीत र कलाको बजार एकदम राम्रो छ । ल्होछारमा ४० देखि ५० जना तामाङ कलाकारहरु विदेश नै जाने गर्छन् । अझ यो बढ्ने क्रममा छ । बाँकी कलाकारहरु देशभरि आयोजना हुने कार्यक्रमहरुमा जाँदा कलाकार नपुग्ने स्थिति हुन्छ ।

ल्होछारको समयमा नेपालमा सांस्कृतिक कार्यक्रम महिनौसम्म हुने गर्छन् । स्वदेशमा हुने कार्यक्रमहरुमा आयोजकहरुले चाहेको कलाकार पाउनै सकिँदैन । यसरी हेर्दा तामाङ कलाकार गीत गाएर नै आफ्नो परिवार पाल्ने स्थितिमा छ । उदाहरणको रुपमा सेलो संगीतबाटै आएका राजु लामालाई नै हेर्नुहोस् । वहाँ लगायत वहाँका व्याण्डका सदस्यहरु त्यही क्षेत्रले बाँचेका छन् । गायक रोज मोक्तान गीत गाएर नै आफ्नो व्यवहार चलाइरहनु भएको छ । त्यसैगरी गायक तथा संगीतकार चन्द्रकुमार दोङ गीत संगीतमै हुनुहुन्छ । यस्ता थुप्रै नामहरु छन् । यस हिसाबले हेर्दा तामाङ कलाकारको धेरै राम्रो छ ।

४० देखि ५० जना तामाङ कलाकार ल्होछारमा विदेश जान्छन् भन्नु भयो । तामाङ कलाकारहरुको प्रवासी बजार बारे बताई दिनुहोस् न ।

विदेशमा जानु भएका दाजुभाइ दिदीबहिनीहरु काम सँगसँगै देश तथा आफ्नो समुदायका लागि केही गरौं भनेर लाग्नु भएको छ । धेरै देशहरुमा तामाङ संघसंस्था खुलेका छन् । मैले नामै भन्दा पनि कति देशहरुको नाम छुटाउँछु होला ।
बेलायतमा तीनवटा संस्थाले ल्होछार कार्यक्रम आयोजना गर्छन् । अमेरिकामा पनि धेरै तामाङ संघसंस्थाहरु छन् । यूरोपमा बेल्जियत, पोर्चुगत, साईप्रसलगायतमा छन् । त्यसैगरी अरबी मुलुक कतार, दुबाई, कुवेत, ओमन, बराइनमा तामाङ कलाकारहरुको राम्रो बजार हो । त्यस बाहेक जापान, कोरीया, हङकङ लगायत देशहरु छन् । यी देशहरुमा कुनैमा एउटा कुनैमा दुईवटा तामाङ संघसंस्थाहरु छन् । सबैले कार्यक्रम आयोजना गर्छन् र कलाकारहरु बोलाउँछन् । तामाङ कलाकारको प्रवासी बजार एकदम राम्रो छ ।

गीत-संगीत क्षेत्रमा नयाँ कलाकारहरुको आकर्षण कस्तो छ ? नव प्रवेशीहरु सम्बन्धीत क्षेत्रका ज्ञान लिएर तयारीकासाथ आउँछन् या के छ ?

एकदमै धेरै छ । ह्वारह्वारति देखिएको छ । स्वदेशमा मात्र होइन विदेशमा रहेर पनि यस क्षेत्रमा आउनेहरुको संख्या धेरै देखिएको छ ।

जो गीत संगीतको ज्ञान लिएर, साधना र मिहनतका साथ आएका छन् वहाँहरुले शुरुवात देखि नै राम्रो गरेका छन्, चलेका पनि छन् । अहिले त दर्शक, स्रोता पनि गीत संगीत बुझ्ने छन् । त्यसो भएपछि जो कोही आएर यस क्षेत्रमा सफल होइन्छ भन्ने सत्य होइन ।

अहिले गीत मात्र ल्याएर हुँदैन, त्यसको म्यूजिक भिडीयो पनि बनाउनु पर्छ । एउटा म्यूजिक भिडीयो बनाउँन कम्तिमा असी हजारदेखि एक लाख, दुई लाख, तीन लाख, पाँच लाख स्ट्यान्डर्ड अनुसार खर्च गर्नु पर्छ । त्यसरी खर्च हुँदा नाफा के ? भनेर हेर्दा केही देखिँदैन । गीत चल्यो भने सांगीतिक कार्यक्रममा बोलाउने हो, चलेन केही छैन ।

धेरै त बिना ज्ञान यस क्षेत्रमा हामफालेका हुन्छन्, आएका छन् । पछिल्लो प्रविधिको विकासले केही सजिलो त बनाएको छ । वहाँहरुका गीत सुन्दा राम्रो पनि छ । तर, प्रत्यक्ष गाउनु पर्यो भने वहाँहरु सक्नु हुन्न । त्यसैले गीत संगीतको ज्ञान, मिहेनत र साधनासहित आउँदा यो क्षेत्र एकदमै राम्रो छ ।

कलाकारिता क्षेत्रमा नव प्रवेशी तामाङ कलाकारहरुको क्षमता विकासका लागि संघले कुनै तालिम तथा प्रशिक्षणहरुको व्यवस्था गरेको छ ?

संघले नव प्रवेशी तामाङ कलाकारको क्षमता अभिवृद्धिका लागि प्रत्यक्ष तालिम तथा प्रशिक्षणको व्यवस्था त गरेको छैन । तर, संघले योजना भने बनाएको छ । संघ योजनालाई छिट्टै कार्यान्वयन गर्ने सोचमा रहेको छ ।

प्रत्यक्ष तालिम तथा प्रशिक्षणको कार्यक्रम नगरे पनि संघले नेपाली तारा, नेपाल आईडल र सिङगिङ स्टार लगायत सांगीतिक मञ्चहरुमा सहभागिताका लागि तामाङ भाइबहिनीहरुलाई प्रोत्साहित मात्र होइन जिताउने अभियान नै चलाएका छौं ।

नेपाली तारा २ सन्तोष लामा विजयी हुँदा संघले भोटिङ अभियान चलायौं । नेपाल आइडलमा बुद्ध लामालाई विजयी गराउन संघले चारदिनसम्म क्लोज क्याम्प गर्यौं । देश विदेशबाट आर्थिक संकलन गरेर भोटिङ गरायौं । सिङगिङ स्टारमा पोखराका रितु लामा विजयी भइन् । उनलाई पनि संघले भोटिङका लागि अभियन चलायौं ।

यसरी संघले नवप्रवेशी कलाकारहरुलाई विभिन्न सांगीतिक मञ्चहरुमा प्रतिनिधित्वका लागि प्रोत्साहन गर्ने काम गर्दै आएको छ । अब भने संघ औपचारिक रुपमै गीत संगीतका कक्षा, तालिम तथा प्रशिक्षणको व्यवस्था गर्ने योजनामा रहेको छ ।

अन्त्यमा, केही भन्नु हुन्छ ?

मैले माथि नै भनि सकेँ तामाङ कलाकार संघले आगामि मंसिर २७ र २८ गते काठमाडौंमा ‘तामाङ सेलो तथा खाना महोत्सव’ आयोजना गर्ने भनेर कार्यक्रम तय गरेका छौं । यसलाई सफल पार्न तामाङ कलाकार संघले मात्र सम्भव छैन, हुँदैन । कार्यक्रमका लागि हामी नेपालमा जति पनि क्रियाशील तामाङ संघसंस्थाहरु छन् सबैलाई समन्वय गर्छौैं । म सैलुङअनलाइन मार्फत् सबै तामाङ संघसंस्था तथा व्यक्ति व्यक्तित्वहरुलाई आर्थिक, भौतिक तथा नैतिक सहयोगका लागि अनुरोध गर्न चाहन्छु । जसरी ल्होछारमा सबै तामाङ संघसंस्था, व्यक्ति, व्यक्तित्वहरु टुँडिखेलमा भेला हुन्छौं त्यसरी नै महोत्सवमा उपस्थित भइ कार्यक्रम सफल पारिदिनु हुन्छ भन्ने अपेक्ष पनि गर्दछु ।

तपाईको प्रतिक्रिया