नेपाली काँग्रेसका नेता, समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको अन्त्येष्टी आजै गरिने भएको छ ।
उपचारका क्रममा गए राती नेपाल मेडिसिटी अस्पतालमा निधन भएका काँग्रेस नेता गिरीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन लागिएको हो
काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ९:०० बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा राखिनेछ भने त्यसपछि बिहान ११:३० देखि २:०० बजेसम्म नेपाली काँग्रेस केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुर राखिनेछ ।
गिरीको निधनमा राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल काँग्रेसका नेता प्रदीप गिरीको निधनमा शोक व्यक्त गरेकी छिन ।
गिरीको निधनले सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको समेत राष्ट्रपति भण्डारीले जनाएकी छिन ।
‘समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ, उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौँ,’आज बिहान ट्विट गर्दै भनेकी छिन, ‘म दिवङ्गत प्रदीप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’
उपचारको क्रममा गए राती प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको निधन भएको थियो । आजै उनको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ ।
प्रदीप गिरी सच्चा र असल नेता: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदीप गिरीको निधनमा दुःख ब्यक्त गरेका छन् । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गिरीको निधनले एक असल र सच्चा नेता गुमाएको प्रधानमन्त्री देउवाले जनाएका छन् ।
‘नेपाली काँग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु,’ देउवाले भनेका छन्, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’
प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको उपचारका क्रममा गए राती ९:३० मा मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
गिरीको निधन प्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधनमा दुःख व्यक्त गरेका छन् ।
शनिवार राती उपचारको क्रममा निधन भएका गिरी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष ओलीले परिवारजन प्रति समवेदना प्रकट गरेका छन् ।
‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु’ आइतबार बिहान ट्विट गर्दै अध्यक्ष ओलीले भनेका छन्, ‘उहाँप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
गिरीको निधन प्रति प्रचण्डद्वारा दुःख व्यक्त
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस नेता प्रदीप गिरीको निधनमा शोक व्यक्त गरेका छन् ।
उपचारको क्रममा गए राती निधन भएका गिरीको निधनले समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति भएको अध्यक्ष दाहालले जनाएका छन् ।
‘नेपाली राजनीतिका बौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ,’ प्रचण्डले सामाजिक सञ्जालमा भनेका छन्, ‘गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु ।’