कालिका गाउँपालिका- १ नाकुरदुङ सडकखण्ड आइतबारबाट खुलेको छ ।
भदौ २५ गते पहिरोले भासिदा पासाङल्हामु मार्गको उक्त सडक अबरूद्व थियो । छिटोछरितो राजमार्ग खुलाउन डिभिजन सडक कार्यालयले व्यवस्था गरेको मजदूरसहित नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायतका सुरक्षा अङ्ग परिचालनबाट छिटोछरितो ग्याबिन पर्खाल लगाई राजमार्ग पुनः सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
डिभिजन सडक कार्यालयको अगुवाइमा भएको राजमार्ग मर्मतमा सांसद मोहन आचार्यले ढुङ्गा फुटाल्ने ब्रेकर, एक्साभेटर, टिपर एकएक थान सहयोग गरेको थियो । सुरक्षा अङ्गले ग्याबिन भर्ने कार्यमा मद्दत पुर्याउनाका साथै लहरेपौवा निवासी समाजसेवी राममणि आचार्यले स्थलगतरूपमा बसी रातको समयमा काम गर्ने वातावरणका लागि जेनेरेटरसहितको ठुलो पावरको बत्तीको व्यवस्था गर्नुभएको डिभिजन सडक कार्यालयका इन्जिनीएर सरोज कडरियाले जानकारी दिए ।
अवरुद्व राजमार्ग सञ्चालन गराउन २३ मीटर लम्बाइ र सडक सतहमा १२ मीटर उचाइको ग्याबिन पर्खाल लगाइएको प्राविधिकले बताएका छन् । राजमार्ग खुलेलगत्तै केरुङबाट सामान ल्याई रोकिएर बसेका सयौँ सवारी साधन अहिले आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको ट्राफिक प्रहरी इन्चार्ज शिवप्रसाद भट्टराईले जानकारी दिए ।
कालिकास्थान ग्राङबिचको राम्चे भीर नजिक राजमार्ग पुर्णरूपमा बन्द भएपछि रसुवादेखि काठमाडौंसम्मको सिधा सडक अवरूद्व भएको थियो ।