कतिपय पलहरूलाई जीवनबाट अलग गरेर हेर्दा र बुझ्दा सग्लो जीवन नै अपुरो र अधुरो हुने गर्छ । त्यस्ता पलहरू जसले जीवनको बाँच्ने लय मात्र होइन जीवनप्रतिको बुझाइ र दर्शनमा नै फरक पार्दछ । लेखक अच्युतकृष्ण खरेलले सन्त, महात्माहरूसँग सन्निकटतामा बिताएका स्वर्णिम र अविस्मरणीय पलहरूलाई उनेर स्मृति पटलमा तपस्वीहरू नामक पुस्तक प्रकाशनमा ल्याएको छ । पुस्तकलाई शब्दार्थ प्रकाशनले प्रकाशित गरिएको हो ।
पुस्तकभित्र एक्काइस वटा मूल शीर्षक रहेका छन् । मूल शीर्षकलाई फेरि उपशीर्षकमा विभाजन गरेर सटिक रूपमा सविस्तार चर्चा गरेका छन् । परापूर्व कालदेखि नेपाल ऋषि–मुनिहरू, सन्त–महात्माहरू, अध्यात्म, चिन्तकहरू, सदृगृहस्थीहरुको तपोभूमि, ज्ञानभूमि र योगभूमि रहेको कुरालाई चर्चा गर्दै आध्यात्मिकता नेपाली संस्कृति अधारस्तम्भका विविध पक्षलाई पुस्तकमा उठान गरिएको छ । सनातन हिन्दु परिवेशमा जन्मिएर त्यसैको संस्कारमा हुर्केका लेखकभित्र आध्यात्मिकताको अपार उत्सुकता, अनुभूति, आनन्दको छाल आउनु स्वाभाविक हो । त्यसमा अझ जगदम्बा पलान्चोक भगवति माताको असीम कृपावत परिवेश र मन्दिरको माथिल्लो सुनको छानो र सुनको गजुर जीर्णोद्धारसँग जोडिएको पुर्खावत गौरवमय कीर्ति परम्पराप्रति लेखक नतमस्तक हुँदै माताको चरणकमलमा श्रद्धा र भक्तिरूपी पुष्पाञ्जली अर्पण गरेका छन् ।
सुख–शान्ति, आनन्दमय जीवनको चाहना हरेक मनुष्यको हुन सक्छ, तर यी प्राप्त गर्ने उपाय फरक–फरक हुन्छन् । मानवीय मनका विकार र दुःखले मानिसलाई बाधित गरिरहेका हुन्छन् । (पेज : २३) निश्चय नै हरेक मनुष्यको साझा चाहना भनेकै सुख–शान्ति, आनन्दमय जीवन हो । यसैको लागि मानिस जीवनभर क्रियाशील रहन्छ । तर यसतर्फ चिन्तन हृदय भने कमैको गरेको हुन्छ । यो सबैलाई यसै जुर्दैन पनि । त्यसको लागि जीवन जन्म, कर्म र भाग्यसँग जोडिएको हुनु पर्छ । यसैको पृष्ठभूमिमा लेखक खरेलको चिन्तन हृदय सदैव त्यसतर्फ आकर्षित भइरहन्थ्यो । कर्म मेरो कर्तव्य हो, निष्काम कर्म मेरो लक्ष्य हो भन्ने सारगर्भित विचारसँग सहमत भइरहँदा अनन्त कठिनाइहरूका आलोकमा महान् तपस्वी, महात्माहरू– खप्तड बाबा, श्यामचेतन बाबा, चुनचुन बाबा, लट्टे बाबा र बनारसमा परमहंस बाबाहरूसँग सत्यसँग एवं सानिध्य प्राप्त भएका सुअवसरलाई पुस्तकमा लिपिबद्ध गरेका छन् ।
पुस्तकभित्र लेखकले महान् तपस्वी, महात्माहरू– खप्तड बाबा, श्यामचेतन बाबा, चुनचुन बाबाहरूसँगको सानिध्यतामा प्राप्त गरेको अनौठो आध्यात्मिक आनन्द त्यससँग जोडिएका कल्पना जतिकै चमत्कारिक लाग्ने सत्यहरूको फेहरिस्तलाई आध्यात्मिक जीवनबाट खोजेर त्यसलाई भौतिक अर्थात् लौकिक जीवनसँग जोडेका छन् । सत्य भविष्यवाणीजस्ता आधुनिक विज्ञानभन्दा विशिष्ट अलौकिक अद्भुत कुराहरूले अत्यन्त प्रभावित भएका क्षणहरूलाई पुस्तकमा कैद गरेका छन् ।
अन्ततः स्वयंभित्रको अहंभावको शत्रुसँगको निरन्तर सङ्घर्ष गर्नुलाई जीवनको महत्त्वपूर्ण उद्देश्य बनाएर निरन्तर अघि बढिरहेको देखिन्छ ।
विशेषतः परमहंस श्री १००८ स्वामी श्रीसच्चिदानन्द सरस्वती (खप्तड बाबा) सँगको साक्षात्कार त्यसको गर्तमा रहेका अविस्मरणीय पलहरू, वार्तालाप, जीवन, लोकप्रतिको जिज्ञासा र त्यसको आशीवार्दरुपी वाणीहरू, बाबाको दिव्यबाणीहरु आदिलाई विभिन्न सन्दर्भमा भएको घटना परिघटनासँग उनेर पुस्तकमा उतारिएका छन् । कतिपय घटनाहरूसँग सम्बन्धित संयोगहरू अप्रासङ्गिक लाग्छ तर प्राध्यापिकात्मक गहिरो आस्था, श्रद्धा र विश्वासमा लागेर अघि बढ्दै जाँदा ती सबै सकारात्मक अनुकूलतामा गएर विसर्जन हुने सत्यलाई लेखकले नजिकबाट अनुभव गरेका छन् । यो अर्थमा आध्यात्मिकता आत्मविश्वासको योग हो । तिनै आध्यात्मिकतातर्फ डोर्याउने तमाम गुरुजनप्रतिको गहिरो श्रद्धा र असाधारण समर्पण भावको रूपमा प्रस्तुत पुस्तकलाई लिन सकिन्छ ।
पारिवारिक पृष्ठभूमि, जीवनमा प्राप्त गरेको व्यक्तिगत मान र प्रतिष्ठा आदिले कतिपय मानिसहरू अहंकारी बन्दछ । यो स्वभाविक हो । अंहकारीको कुनै स्वरूप पनि हुँदैन नत कुनै सीमा नै । कति बेला जाइलाग्छ त्यति बेला त्यसको वास्तविक रूपमा सतहमा आउने गर्छ । कालान्तरमा त्यही अहंकार अवन्नतिका कारण बन्दछ । यदि अहंकारको विसर्जन हुन्छ भने त्यो गुरुप्रतिको गहिरो श्रद्धा, आस्था र विश्वास मात्र सम्भव छ । लेखक स्वयं पहिलो पटक खप्तड बाबाको आश्रममा दर्शन गर्ने क्रममा बाबाको पाउमा ढोगूँ कि ! नढोगूँ भन्ने मानसिक द्वन्द्वले विचलित बनाएको कुरालाई स्विकार्दै द्वन्द्वको बिचमा सुषुप्त अहङ्कार विकराल बनेको प्रसङ्गलाई पुस्तकमा अघि सारिएको छ । बिस्तारै आध्यात्मिकताभित्र खोज्दै गर्दा मानिसभित्रको सबैभन्दा ठुलो शत्रु कुषित भावना र अहंभाव नै रहेको यथार्थताको साक्षात्कार बाबाको निरन्तर सानिध्य र सत्यसङ्गपछि अनुभव भएको कुरालाई चर्चा गरेका छन् । अन्ततः स्वयंभित्रको अहंभावको शत्रुसँगको निरन्तर सङ्घर्ष गर्नुलाई जीवनको महत्त्वपूर्ण उद्देश्य बनाएर निरन्तर अघि बढिरहेको देखिन्छ ।
संसारमा जीवन त हरेकले बाँचेकै हुन्छन् । आस्थिकले पनि नास्तिकले पनि । यस विषयमा सबैका आआफ्नै तर्कहरू होलान् । ती तर्कहरूको लागि तर्क गर्न जरुरी पनि छैन किनभने हरेकले बाँच्ने जीवन नितान्त वैयक्तिक हुन् तर बाँच्ने क्रममा जीवनको शारीरिक र मानसिक पक्षमा आध्यात्मिकता थपेर बाँच्न सके जीवनलाई फराकिलो आँखाले देख्न, बुझ्न र सुन्न सकिन्छ । त्यसको अनुसरणले जीवनको पूर्णता खोज्न बल पुग्छ । यस अर्थमा आध्यात्मिक जीवन बाँच्न र अरूलाई बचाउन लागि प्रेरित गर्ने आधार पनि हो । माथि उल्लेखित पृष्ठभूमिबाट पुस्तकको समीक्षाको आधार देखिँदैन र छैन पनि । पुस्तकभित्र लेखकले आफ्नो वंश, धर्म, संस्कृतिलाई नजिकबाट बुझेका छन् । सन्त, महात्माहरूसँगको सानिध्य र सत्यसँगबाट जीवनलाई फराकिलो रूपमा बुझ्ने कोसिस गरेका छन् । सन्त, महात्माहरूको जीवन शैली र आचरणलाई नजिकबाट अनुभव गरेका छन् । आस्था, श्रद्धा र विश्वासलाई बलियो बनाउने तीर्थहरूसँग जोडिएका मनोरम प्राकृतिक छटाहरूको वर्णन गरेका छन् ।
नेपालको प्रहरीको प्रहरी महानिरीक्षक जस्तो गरिमामय उच्च पदमा रही देश र राष्ट्रको लागि महत्त्वपूर्ण जिम्मेवारी निभाउनु भइसकेका अच्युतकृष्ण खरेलले नेपाल प्रहरी सङ्गठनमा बेग्लै नाम र शान स्थापना गरेको छ । एकतिस वर्षको लामो सेवाकालमा फुटबल खेलाडी हुँदै देशको महत्त्वपूर्ण राजनीतिक घटना, शान्ति सुरक्षा जस्तो संवेदनशील पक्षसँग प्रत्यक्ष जोडिएका अनुभवहरू निकै सनसनीपूर्ण छ । यस विषयमा उहाँको आत्मकथा अच्युतकृष्ण खरेल (२०७५) मा पढ्न सकिन्छ ।
प्रकाशनको पक्षबाट उहाँको प्रस्तुत कृति दोस्रो हो । कडा अनुशासन, कर्तव्यप्रतिको निष्ठा, इमानदार तर खरो व्यक्तित्वको रूपमा दरिएको उनै अच्युतकृष्ण खरेललाई आध्यात्मिक चिन्तक एवं महात्माहरूको असल भक्तको रूपमा प्रस्तुत कृतिमा पाउन सकिन्छ । यसो भनिरहँदा यो गुण उहाँमा सेवा निवृत्त भइसकेपछि आएको भने होइन । यो त उहाँको पुर्खाको आस्था, संस्कार र विश्वासको अनन्त अटुट झर्नाको निरन्तरतासँगै व्यक्तिगत आध्यात्मिकतिरको अपार उत्कसुकता, अनुभूति र आनन्दबाट जीवनभर अघि बढेको हो । यस अर्थमा प्रस्तुत स्मृति पटलमा तपस्वीहरू कृतिले अच्युतकृष्ण खरेललाई आध्यात्मिक चिन्तक एवं धार्मिक व्यक्तित्वको पाटोबाट बुझ्न सघाउने कुरामा विश्वस्त हुन सकिन्छ । अन्तमा उनकै शब्दमा ‘कुनै पनि मानिसले आफ्नो चिन्तन र आफ्नो चेतनालाई शुद्धीकरण गर्दै विशुद्ध अवस्थामा आफूलाई पुर्याएमा उहाँहरूको चेतन्यशक्ति जस्तो छ त्यो चैतन्य स्वरुप प्रत्येक व्यक्तिले पनि त्यो अनुभूत गर्न सक्छ, त्यो स्थान प्राप्त गर्न सक्छ, यो मेरो उहाँहरूसँगको सङ्गतले प्राप्त अनुभूति हो ।’ (पेज नं.१०४)