बालेन अघि अघि, डोजर पछि पछि

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
252 Shares
काठमाडौं

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) आफैँ महानगरभित्र बनेका अनधिकृत संरचना भत्काउन खटिएका छन् । गत सोमबार नयाँबानेश्वर क्षेत्रमा बनाइएको अनधिकृत संरचना भत्काएको महानगरले बुधवार सुन्धरा र न्युरोड क्षेत्रका अनधिकृत संरचना भत्काएको छ ।

नयाँबानेश्वर क्षेत्रमा पार्किङका लागि नक्सा पास गरेर व्यवसाय सञ्चालन गरेको पाइएपछि मेयर बालेन नेतृत्वको महानगर टोलीले पसल हटाएर अनधिकृत संरचना भत्काएको हो । यसरी भत्काउनुअघि महानगरले नक्सा पास भए नभएको यकिन गर्दै नभएको खण्डमा ३५ दिन समय दिएको छ ।

नक्सा पास नगरी बनाइएका तथा नक्सा पास विपरीत बनाइएका संरचना भत्काउन मेयर बालेन आफैँ उपस्थित भएका छन् । संरचना भत्काउन जाँदा हेर्दाको दृश्यले बालेन अघि अघि र डोजर पछि पछि देखिन्छ ।

नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसल हटाएको तेस्रो दिनमै बुधवार महानगरले सुन्धरा, न्युरोड, दरबारमार्ग र बबरमहल क्षेत्रमा अनधिकृत रूपमा बनाइएका संरचना भत्काउन र सम्बन्धित पक्षको जवाफ मागेका छन् ।

बुधवार नै मेयर बालेनको उपस्थितिमा महानगरको टोलीले सुन्धरास्थित काठमाडौँ मलको अनधिकृत रूपमा बनाइएको संरचनामा डोजर लगाएर भत्काएको छ । साथै न्युरोडस्थित आर बी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काएको छ । नविल बैङ्क न्युरोड शाखाले बनाइएको अनधिकृत संरचना पनि महानगरले भत्काउने भएको छ ।

यसै गरी महानगरले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौँलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ । अदालतको अन्डरग्राउन्डबारे महानगरको चासो बढेको हो ।

बुधवार नै मेयर बालेन दरबारमार्ग पनि पुगेका छन् । दरबारमार्ग क्षेत्रमा सडकमै जथाभाबी पार्किङ गरिएपछि मेयर बालेन सो क्षेत्रमा पुगेका हुन् । मेयर बालेन बुधवार नै कोटेश्वर क्षेत्रको फुटपाथ र पार्किङको अनुगमनमा जाने तयारी गरेका छन् ।

नक्सा पास विपरीत तथा अनधिकृत रूपमा बनाइएको संरचना हटाउन मेयर बालेन महानगरको टोली र प्रहरीसहित पुग्ने गरेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया