फरेनिया बजार जान रोक लगाएसँगै नेपाली व्यवसायी उत्साहित

मोहम्मद हबिब स‌चारकर्मी
84 Shares
भैरहवा

भारतीय सीमा क्षेत्रमा लाग्ने झण्डीबजार (फरेनिया) जान रोक लगाएसँगै नेपालतर्फको बजारमा चहलपहल बढ्न थालेको छ । हरेक शनिवार र बुधबार लाग्दै आएको बजारमा नेपालीलाई जान स्थानीय प्रशासनले रोक लगाएसँगै यसको प्रभाव नेपाली बजारमा देखिन थालेको हो ।

बढ्दै गएको कोभिड सङ्क्रमण, सुरक्षा चुनौती र भिडभाडलाई नियन्त्रण गर्न जिल्ला स्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्र डिसिसीएमसीको प्रस्तावमा प्रशासनले बजार जान रोक लगाएको हो । रोक लगाएसँगै बजार जाने मुख्य बाटो मेउडिहवा र नौडिहवामा सुरक्षाकर्मीले बजार भर्न जानेलाई फर्काउने गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली बजार क्षेत्रमा जाने सवैसाधरणलाई सम्झाई बुझाई फर्काउने गरेको छ । एक महिनादेखि फर्काउन लागेकोले अहिले बजार जानेको सङ्ख्या न्यून रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सुरक्षाकर्मीले मेउडिहवा चोकबाट नै बजार गर्न मुख्य बाटो प्रयोग गर्न नदिएपछि नेपालीहरू भित्री बाटो हुँदै खेतखेतबाट पनि छिटपुट बजार पुग्ने गरेका छन् । भारतीय भूमिमा लाग्ने यो बजार कोरोना जोखिमका कारण केही समय मात्रै बन्द थियो, खुला सीमाका कारण बजारमा अहिले नेपालीहरू जोखिम मोलेर खेत खेतकै बाटो भएर पनि जाने गरेका छन् ।

तीन दशकभन्दा बढीदेखि लाग्दै आएको बजार खुला सिमाना र प्रहरीको निगरानी कम भएकाले नुनदेखि सुन पाउने थलोको रूपमा रहेको छ । यहाँ बजार भर्न रुपन्देही मात्रै होइन, कपिलवस्तु र नवलपरासी पाल्पासम्मका नेपाली उपभोक्ता आउने गर्थे । सस्तोको नाममा गुणस्तरहीन वस्तु लिएर जान थालेपछि यो बजारको आलोचना हुने गरेको छ । नेपाली उद्योगी व्यवसायीले पनि बजार जान बन्द गर्नु पर्ने माग गर्दै आएका थिए ।

‘सीमा क्षेत्रका उद्योगी व्यवसायीलाई नराम्री प्रभावित पारेको यो बजार बन्द हुनुपर्छ भन्ने हामीले वर्षौँदेखि आवाज उठाइरहेका थियौँ । यस हाम्रो समर्थन छ, यसले हाम्रो बजार बिस्तारै प्रवर्द्धन हुँदै गएको छ ।’ उद्योग व्यापार सङ्गठनका अध्यक्ष अनिल ज्ञवालीले भने, ‘उपभोक्ताहरू सस्तोको नाममा गुणस्तरहीन वस्तु उपभोग गरिरहेका थिए, यसले स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन समस्या निम्त्याउँछ ।’

बजार जाने मेउडिहवा, रानीगाँउ र पूर्व नौडिहवाको चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भए पनि अन्य भित्री, छेउछाउका नाका र खेतबाट नेपालीहरू बजार भर्न गइरहेका छन् । कोरोनाभन्दा पनि सस्तोमा सामान पाइने भएकोले खेत खेतको बाटो भएर किनमेल गर्न जाने गरेको एक उपभोक्ताले बताए ।

साग, सब्जी, घरायसी वस्तु र लत्ताकपडाका अलावा यहाँ माछा मासु पनि निकै सस्तो पाइने उपभोक्ताको भनाइ छ । डम्पिङ साइड नजिकै र खुला आकाशमुनि लाग्ने बजारमा पाइने माछा मासु निकै फोहोर देखिन्छन् । तर, नेपाली बजारमा भन्दा सस्तोमा पाइने भन्दै सर्वसाधारण पुग्ने गरेका थिए ।

सीमावर्ती क्षेत्रमा लाग्ने यस्ता बजारले वार्षिक करोडौँ नेपाली मुद्रा बाहिरिने गरेको छ । करको दायरामा आएका र प्रक्रियागत रूपमा व्यवसाय सञ्चालन गरेका उद्योगी व्यवसायीलाई यो बजारले प्रत्यक्ष मार पार्ने गरेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपाने बताए । खुला र विना भन्सार सामान आउँदा नेपाली बजारलाई प्रतिस्पर्धा गर्न पनि गाह्रो हुने गरेको छ ।

सस्तो हुन्छ भन्ने मानसिकताले भारतीय बजारले प्रशय पाएको थियो । भैरहवामै गुणस्तरीय र सस्तो सामान पाइन्छ भन्ने थाहा हुँदा पनि भारत जाने गरेको छन् । यस्ता खालका बजारलाई निरुत्साहित गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्च सिद्धार्थनगरका अध्यक्ष नरेन्द्र राज भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका