हस्तकलाबाट नाम र दाम कमाउँदै लोककुमारी

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
21 Shares
लमजुङ

मध्य नेपाल नगरपालिका-६, भोर्लेटारको सडक आडैमा छ लोककुमारी हस्तकला उद्योग । यस उद्योगकी सञ्चालक लोककुमारी गुरुङ दुरा दिनभरि यही उद्योगमा भेटिनि्छन् । उनी उद्योगमा आफै चर्खा चलाउने, धागो उत्पादन गर्ने गर्छिन् । साथै, अल्लोको भाङ्ग्रा, जुहारी कोट र ऊनको पछ्यौरी आफै बनाउँछिन् ।

उद्योगमा उनीसँगै अन्य नौ जना स्थानीय महिला पनि सीप सिक्दै छन् । उनीहरूलाई बागलुङकी प्रशिक्षक बिना पुनले हस्तकलाका सामान बनाउने सिप सिकाउँदै छिन् । सिप सिकेर उनीहरू पनि व्यावसायिक रूपमा विभिन्न हस्तकलाका सामान उत्पादनमा लाग्ने लोककुमारीकाे भनाइ छ ।

‘पहिले त हातमा सीप चाहियो । अहिले सिप सिक्दै छौँ,’ उनले भनिन्, ‘सिप सिकेपछि विभिन्न सामान बनाएर बेच्ने र यसैबाट आम्दानी गर्ने लक्ष्य छ ।’ फुर्सदको समय उपयोग गर्दै हस्तकलाका सामान बनाएर बिक्री गर्न सके मनग्य कमाउन सकिने उनी बताउँछिन् । उनले भनिन्, ‘त्यसैले मसँगै अन्य नौ जना दिदीबहिनी पनि सिप सिक्दै छन् । साथमा भाङ्ग्रा, जुहारी कोट र ऊनको पछ्यौरी बनाउँदै छन् ।’

पाँच लाख लगानीबाट उद्योग सुरु

१५ फागुन ०७५ मा पाँच लाख लगानीमा लोककुमारीले उद्योग सुरु गरेकी हुन् । सुरुमा एक सय केजी अल्लो, धागो उत्पादनका लागि १० वटा खुट्टे चर्खा र दुई वटा हातेचर्खा ल्याएर उद्योग अघि बढाएको उनले बताइन् ।

सुरुमा उद्योगमै प्रशिक्षक ल्याएर हस्तकलाका सामान बनाउने सिप सिकेको उनले बताइन् । सिप सिक्नका लागि उनीसँगै अन्य १४ जना स्थानीय महिला सहभागी थिए । स्थानीय महिलालाई सिप सिकाएर व्यावसायिक कर्ममा लागि आफूसँगै अन्य महिलाको आर्थिकस्तर माथि उकास्नका लागि  उद्योग सुरु गरेको उनी बताउँछिन् । ‘गहना धितो राखेर पाँच लाख लगानीमा यो उद्योग सुरु गरेकी हुँ,’ उनले भनिन्, ‘उद्योगमा अहिले झन्डै १० लाख लगानी भइसकेको छ ।’

हस्तकलाका सामानको माग र मूल्य राम्रो 

लोककुमारीका अनुसार बजारमा अल्लोको भाङ्ग्रा, जुहारी कोट र ऊनको पछ्यौरीको माग र मूल्य दुवै राम्रो छ । अबको ६ महिनाभित्रमा २-३ सय भाङ्ग्रा, जुहारी कोटका साथै झन्डै १२ सय ऊनको पछ्यौरी बनाएर बेच्ने आफ्नो लक्ष्य रहेको उनी बताउँछिन् ।

उत्पादित सामान भोर्लेटारसँगै लमजुङका विभिन्न ठाउँ, तनहुँको दमौली र पोखरामा बिक्री हुनेमा उनी बताउँछिन् । उद्योगको उत्पादन विदेशसम्म पुराउने उनको सपना छ । सिप सिक्ने, सिकाउने र आफूसँगै महिलालाई उद्यमी बनाउने काममा जुटेकी लोककुमारीलाई सासू, ससुरा, श्रीमानसँगै छोराछोरीको पनि साथ छ । ‘उद्योगलाई अघि बढाउन परिवारसँगै समुदायको पनि हौसला र साथ मिलेको छ,’ उनले भनिन्, ‘महिलालाई  सिप सिकाउनुका साथै सिप सिकेका केही महिलालाई रोजगारी दिने लक्ष्य छ ।’

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका