एकाएक तातेको बालेन ?

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
काठमाडाैं

काठमाडौँ । पछिल्लो २४ घण्टा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह चर्चामा रहे । बलिउड फिल्म नायकका अभिनेता अनिल कपुरसँग सर्वसाधारणले शाहको तुलना गरिरहेका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पुराना भनिएका राजनीतिक दलहरू काँग्रेस, एमाले लगायतका दलका उम्मेदवारलाई भारी मत अन्तरले पराजित गर्दै बालेन मेयरमा निर्वाचित भएका थिए ।

काँग्रेस एमाले लगायतका दलहरूले जनताको अपेक्षा बमोजिम महानगरमा काम गर्न नसकिरहेको भन्दै आलोचना भइरहँदा शाहले नगरवासीको मन जितेका थिए ।

तर, निर्वाचित भएको चार महिना भइसक्दा मेयर शाहबाट उल्लेख्य कार्यसम्पादन नभएको भन्दै आलोचना भइरहेको थियो ।

केही दिन अघिसम्म काठमाडौँका चोक र सडकमा फोहरको डङ्गुर थुप्रिएको थियो जसको व्यवस्थापन गर्न नसकेको भन्दै मेयर शाहको चर्को आलोचना भइरहेको थियो ।

काठमाडौँ, धरान र धनगढीसहितका कतिपय मुख्य सहरहरूमा स्वतन्त्र उम्मेदवारहरूले चुनाव जितेको र आगामी निर्वाचनमा पनि स्वतन्त्रहरूको पल्ला भारी हुने चर्चा जारी रहँदा काठमाडौँका मेयर शाहको कार्यसम्पादन कमजोर देखिएको थियो ।
यसअघि काठमाडौँमा यति लामो समय फोहरको समस्या भोग्नु नपरेको भन्दै भन्दै नगरवासीले शाहको आलोचना गरिरहेका थिए ।

धरानवासीलाई पानी खुवाउने नारा दिएर धरान उपमहानगरमा निर्वाचित हर्क साम्पाङ भने निर्वाचन अघि भन्दा अहिले चर्चाको शिखरमा रहेका थिए । श्रमदान गरेर चर्चामा रहेका उनले शाहमाथि सामाजिक सञ्जालबाट बेलाबेला शब्दबाण प्रहार गरिरहेका थिए ।
तर, पछिल्लो २४ घण्टामा काठमाडौँका मेयर शाह यस्तो रूपमा देखा परे जसले गर्दा उनको यसअघि कमजोर जस्तो देखिएको कार्यसम्पादन बलियो देखिएको छ ।

सामाजिक सञ्जालमा उनी अहिले हटकेक बनेका छन् । चुनाव अघि जस्तै अहिले चोक, चिया पसल, सामाजिक सञ्जालमा उनकै चर्चा छ ।

शाहले बलिउड फिल्म नायकको शैलीमा भटाभट काम गरेको भन्दै यस्तै कामको अपेक्षा नगरवासीले गरेको र त्यसलाई शाहले पूरा गर्ने सङ्केत गरेको भन्दै प्रशंसा भइरहेको छ ।

सरकारी पारामा हुने गरेको कामकाबीच मेयर शाह एकाएक नायक शैलीमा छाएका हुन् ।

काठमाडौँमा पार्किङको समस्या छ । तर व्यापारिक प्रयोजनका लागि बनेका भनवहरुले भने पार्किङका लागि अनुमति पाएका स्थानमा व्यवसाय सञ्चालनका लागि भाडामा लगाइरहेका थिए । जसलाई शाहले तोडेका छन् । ३५ दिन अघि सूचना जारी गरेका उनले ३६ औँ दिनदेखि डोजर लिएर मैदानमा उत्रिए । कानुन विपरीत भएका संरचनामा उनले डोजर चलाएका छन् जसको यति बेला वाहवाही भइरहेको छ ।

बालेनमा जसरी भए पनि काम गर्नु पर्ने चुनौती थियो किनकि उनीमाथि नगरवासीले विकासको अपेक्षा गर्दै मत खन्याएका थिए । उनले आफूलाई कमजोर नदेखाउनका लागि पनि केही गरेर देखाउनु पर्ने चुनौती थियो जसलाई उनले डोजरको सहायताले केही गरेर देखाउने हुटहुटी रहेको देखाउन खोजेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका