नागरिकता विधेयक : विधायन समितिमा गठबन्धनलाई बहुमत

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
210 Shares
काठमाडौं

राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समिति पठाएको छ ।

आइतबार बसेको राष्ट्रिय सभा दोस्रो बैठकले उक्त विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको सभाध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ विधेयकका केही विषयमा सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि सङ्घीय संसद्मै फिर्ता पठाएकी छन् । तर, प्रतिनिधिसभाले जस्ताको तस्तै उक्त विधेयक दोस्रो पटक पारित गरेको छ । आफूले पारित गरेको उक्त विधेयक प्रतिनिधिसभाले राष्ट्रियसभामा पठाएको हो ।

तर, राष्ट्रियसभाले उक्त विधेयक पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । नागरिकता विधेयकमा समेटिएको वैवाहिक अङ्गीकृतको व्यवस्थामा प्रमुख प्रतिपक्षी दल एमालेको फरक मत रहेको छ । उक्त विधेयकमा वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न समय सीमाको व्यवस्था गरिएको छैन । एमालेले विवाह गरेको सात वर्षपछि मात्र वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरिनुपर्ने अडान राख्दै आएको छ ।

प्रतिनिधिसभाले विषयगत समितिमा नपठाई दोस्रो पटक पारित गरेको उक्त विधेयकलाई राष्ट्रिय सभाले भने विधायन समितिमा पठाएको हो । तर, विधायन समितिमा एमाले अल्पमतमा देखिन्छ भने सत्तारुढ गठबन्धन बहुमतमा छ । १५ सदस्यीय समितिमा गठबन्धनका ११ जना सांसद छन् भने एमालेका चार जना छन् ।

समितिमा गठबन्धनमा आबद्ध काङ्ग्रेसबाट जितेन्द्र नारायण देव, नारायण दत्त मित्र र प्रकाश पन्थ, माओवादी केन्द्रबाट गङ्गाकुमारी बेल्वासे, तारामान स्वार, राधेश्याम पासवान र सुरेशकुमार आले मगर, एकीकृत समाजवादीबाट उदयबहादुर बोहरा र डा. बेदुराम भुसाल र जनता समाजवादीबाट प्रमिला कुमारी छन् । स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटा पनि गठबन्धन पक्षधर हुन् ।

समिति सदस्यमा एमालेबाट देवेन्द्र दाहाल, भगवती न्यौपाने र भैरव सुन्दर श्रेष्ठ छन् । मनोनीतबाट राष्ट्रिय सभा सदस्य तथा विधायन समिति सदस्य डा विमला राई पौडेल एमाले समर्थक हुन् ।

विधायन समितिले नागरिकता विधेयकबारे सर्वसम्मतिबाट नभई बहुमत र अल्पमतलाई आधार मानेर निर्णय लिएमा गठबन्धन बलियो देखिन्छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका